सूचनाको शक्ति - The Power Of Information

        

चिसो बढेपछि नेपालगन्जका चोकचोकमा आगो ताप्ने व्यवस्था


बाँके । अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले चिसोबाट नगरवासीलाई जोगाउन विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एक सातादेखि शीतलहर र बाक्लो कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि त्रिभुवन चोक, धम्बोझी चोक, बागेश्वरी मन्दिर लगायतका ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।
सर्वसाधारणको ओहोरदोहोर धेरै हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाइएको हो । उपमहानगरपालिकाले जिल्ला वन पैदावार आपूर्ति समितिबाट दाउरा खरिद गरी आगो ताप्ने व्यवस्था मिलाएको हो । नेपालकै अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा तीन दिनदेखि राम्रोसँग घाम समेत लागेको छैन । बुधबार नेपालगन्जको तापक्रम घटेर ७.८ सेल्सियस पुगेको थियो । शीतलहर र बाक्लो कुहिरोसँगै चिसो हावा चल्न सुरु गरे पछि जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोका कारण विद्यालयहरुले जाडो बिदा दिन थालेका छन् भने बजारमा चहलपहलसमेत घट्न थालेको छ । जाडोबाट गरिब तथा विपन्न परिवारका मानिसहरु बढी प्रभावित भएका छन् । वृद्धवृद्धा र बालबालिकाहरु बढी समस्या परेका छन् । यसैबीच नेपाल रेडक्रस सोसाइटी बाँकेले बागेश्वरी मन्दिर परिसरका गरिब तथा विपन्न वृद्धवृद्धाहरुलाई कम्बल तथा न्यानो कपडा वितरण गरेको छ ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०८:०६