काठमाडौँ । प्रदेश राजधानी छनोटलाई लिएर विभिन्न विवाद र अड्कलबाजी भइरहेको बेला मुलुकका विभिन्न भागमा आआफ्ना दाबीसाथ दबाब र आन्दोलनका संकेतहरु देखापरेका छन् । धनकुटाबाट सर्वदलीय शीष्ट मण्डल काठमाडौँ आई प्रधानमन्त्री शेरबहादुर देउवासँग धनकुटालाई नै एक नम्बर प्रदेशको राजधानी तोक्नुपर्ने माग गरेका छन् ।
पूर्वाधार, सामर्थ्य र सुन्दरताले भरिपूर्ण धनकुटाभन्दा प्रदेश राजधानीका लागि अर्को विकल्प नरहेको दाबीका साथ टोलीले प्रधानमन्त्रीको हस्तक्षेप माग गरेको थियो । धनकुटा जिल्ला कांग्रेस सचिव विजय सन्तोषी राईका अनुसार प्रधानमन्त्री उनीहरुका मागप्रति सकारात्मक थिए तर उता धनकुटामा दबाब स्वरुप आन्दोलन र त्यहाँ तीनवटा गाडीहरु तोडफोड भएको स्थानीयले बताए ।
उक्त प्रतिनिधि मण्डलले पछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आफ्ना माग दोर्होयाएको थियो । त्यस्तै प्रदेश नम्बर ७ मा दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने माग राख्दै डोटी क्षेत्र उद्वेलित बनेको छ । भिमदत्त नगरपालिका क्षेत्रमा दबाबस्वरुप स्थानीयबासीले सडक बन्द गर्दै केन्द्रलाई तत्काल यो मागलाई गम्भीरतासाथ लिन आग्रह गरेको छ ।
।