सूचनाको शक्ति - The Power Of Information

        

जागिर खुस्केपछि ब्याननको दिमाग पनि खुस्केछ : ट्रम्प


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार ह्वाइट हाउसका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननको ‘दिमाग खुस्किएको’ आरोप लगाएका छन् । एक नयाँ पुस्तकमा ब्याननले ट्रम्पका छोराका विषयमा नकारात्मक टिप्पणी गरेपछि ट्रम्प आक्रोशित भएका हुन् । गत अगस्ट महिनामा ब्याननलाई जागिरबाट बर्खास्त गरेपछि पनि ट्रम्पले उनीसँग गोप्य वार्ता गर्ने गरेका थिए । तर अहिले ब्याननको बयान आएपछि उनले ब्याननसँग सम्बन्ध विच्छेद गरेको बुझिएको छ ।
‘स्टिभ ब्याननलाई म वा मेरो राष्ट्रपतित्वप्रति कुनै मतलब छैन । जागिर खुस्केपछि उनको दिमाग पनि खुस्केछ,’ ट्रम्पले भने । ट्रम्पले राष्ट्रपतीय निर्वाचन जित्नका लागि ब्याननको भरपूर सहयोग प्राप्त गरेका थिए । दक्षिणपन्थी ब्राइटबार्ट न्युज वेबसाइटका प्रमुखका रूपमा ब्याननले ट्रम्पलाई निर्वाचनमा विजय दिलाउन सहयोग गरेका थिए । ब्याननले नै ट्रम्पलाई लोकरञ्जनवादी तथा संस्थापनविरोधी सन्देश प्रवाह गर्न लगाएका थिए अनि ट्रम्पको कन्जर्भेटिभ समर्थन आधारसँग सम्पर्कसूत्रका रूपमा पनि काम गरेका थिए ।
ट्रम्पसँग सम्बन्ध विच्छेद भएपछि ब्याननले रिपब्लिकन संस्थापन पक्षविरुद्ध थप आक्रामक अभियान चलाउनेछन् कि उनले ट्रम्पलाई पनि आक्रमणको तारो बनाउनेछन् कि कमजोर हुनेछन् भनी प्रस्ट हुन सकेको छैन । माइकल वुल्फको किताब फायर एन्ड फ्युरी स् इन्साइड द ट्रम्प ह्वाइट हाउसका केही अंश मंगलवार प्रकाशित भएका थिए जसमा ब्याननले सन् २०१६ को जुन महिनामा न्युयोर्क्स्थित ट्रम्प टावरमा राष्ट्रपतिका छोराले रुसीहरूसँग बैठक डाकेको अनि ट्रम्पको निर्वाचन अभियानका शीर्ष अधिकारीहरूले रुसीहरूलाई भेटेको आरोप लगाएका छन् ।
ट्रम्पले विगतमा ब्याननसँगको मित्रताको प्रशंसा गरेको भएपनि बुधवार जारी वक्तव्यमा उनले आफ्नो निर्वाचन विजयमा ब्याननको निकै कम हात रहेको बताए । आफूले रिपब्लिकन पार्टीको उम्मेदवारी हात पारिसकेपछि ब्यानन ‘एउटा कर्मचारीका रूपमा मसँग काम गरेको’ ट्रम्पले बताए । गत डिसेम्बर महिनामा रिपब्लिकन पार्टीका रोय मूरले अलाबामाको सिनेट सीट हार्नुमा ब्याननको दोष रहेको ट्रम्पको आरोप छ । मूरको निर्वाचन अभियानमा उनले किशोरीहरूसँग यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो र डेमोक्रेटिक उम्मेदवार डउग जोन्सले मूरलाई हराएका थिए । निर्वाचन अभियानमा ट्रम्पले ब्याननसँग मिलेर मूरको समर्थन गरेका थिए । –रोयटर्सबाट

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०६:४५