सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ को राजधानी दाङ बनाउने चर्चापछि बुटबलमा आन्दोलन घोषणा


रुपन्देही । सरकारले प्रदेश नं ५को राजधानी दाङलाई बनाउने चर्चा चलेसंगै बुटबलमा आन्दोलनको कार्यक्रम सुरु भएको छ । बुधबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको वताएका छन् ।
कांग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए । ‘पार्टीको निर्णय के हुन्छ भन्ने भन्दा हामी बुटवलका नागरिकका हैसियतले प्रदेशको राजधानी माग गरिरहेका छौँ, उनले भने । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने वताए ।
कांग्रेसले आन्दोलनको सांकेतिक स्वरूप बिहीबार बिहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ । यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बेरिबाट भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले चेताबनी दिइएका छन ।
यसैगरी नेकपा एमालेले पनि दबाब मूलक कार्यक्रमको घोषणा गरेको छ । स्थानीय संघस्रंस्थाहरुलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाव याली निकालिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए । उता एमाले निकट अनेरास्ववियु आन्दोलनको सुरु गरेको छ । अनेरास्ववियुले बुटवलमा बुधबार मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो ।
प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्लेकार्ड र ब्यानरसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए । ‘अखण्ड पाँच नम्बर प्रदेश निर्माणको आन्दोलनको केन्द्रबिन्दुलाई अबमूल्यन भए हामी कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ पाण्डेले भने ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०६:३९