सूचनाको शक्ति - The Power Of Information

        

दरबन्दी अभाव भएका दाङका विद्यालयले शिक्षक पाउने


दाङ । दाङमा शिक्षक दरबन्दी मिलान प्रक्रिया टुंगिएको छ । अब दरबन्दी अभाव भएका धेरै विद्यालयले दरबन्दीका शिक्षक पाउने भएका छन् । जिल्ला समन्वय समितिको पहलमा स्थानीय तहका प्रतिनिधिको सहभागिताको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल गरेर शिक्षक दरबन्दी मिलानको टुंगो लगाउँदै कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मा लगाएको शिक्षक पेशागत महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले बताए ।
दरबन्दी मिलानमा सहमति हुन नसक्दा लामो समयदेखि यो प्रक्रिया रोकिएको थियो । पछिल्लो चरणमा विद्यालयबाट शिक्षक अभावको व्यापक गुनासो आएपछि कार्यदल बनेको थियो । कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा शिक्षक दरबन्दी मिलान कार्य भएको हो । पुस १७ गते स्थानीय तहका प्रमुख, शिक्षा अधिकारी र शिक्षकका पेशागत संघ सगठनका प्रतिनिधिले दरबन्दी मिलानमा समन्वय र पहल गर्न जिल्ला समन्वय समितिलाई जिम्मा दिएको थियो । बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले दरबन्दी मिलान टुङ्ग्याएको हो ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०५:२२