बाँके । पूर्वराजा ज्ञानेन्द्र बुधबार धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी उत्तर रामेश्वर धाममा पुजापाठका लागि पुगे । साथमा पत्नी कोमलसहित शाही परिवारका अन्य सदस्य पनि थिए । पूर्वराजा जहाँ जहाँ पुग्छन्, उनीसँगै नेपालगन्ज पुगेका बुहारी हिमानीसहित परिवारका अन्य सदस्यहरु पनि पुग्ने गरेका छन् । तर बुधबार पूर्वराजाका साथमा बुहारी हिमानी थिइनन् ।
मध्य तथा सुदूरपश्चिम भ्रमणका लागि नेपालगन्ज आएकी हिमानी बुधबार काठमाडौं फर्केकी छन् । अब उनी अर्काे हप्तामात्र नेपालगन्ज फर्कनेछिन् । उनी काठमाडौं फर्कनुको कारण चाहिँ जेठी छोरी पूर्णिकालाई बैङ्कक पुर्याउनका लागि हो । छोरीलाई लिएर उनी शुक्रबार त्यसतर्फ उड्दैछिन् । ब्याङ्ककमा विज्ञान विषय पढिरहेकी पूर्णिकाको जाडो विदा सुरु भएपछि १ पुषमा हिमानीले नै लिएर काठमाडौं आएकी थिइन् ।
‘तीन हप्ते जाडो विदा सकिएकाले बैङ्कक पुर्याउन उहाँ नेपालगन्जबाट फर्कनु भएको हो’ स्रोतले भन्यो, ‘उताबाट फर्केपछि अर्काे हप्ता फेरि नेपालगन्ज आउने कार्यक्रम छ ।’ छोरीलाई शुक्रबार बैङ्कक पुर्याएपछि हिमानी सोमबारमात्र काठमाडौं फर्कनेछिन् । पूर्व राजपरिवार नेपालगन्जलाई मुकाम बनाएर मध्य तथा सुदूरपश्चिमको भ्रमण गर्ने गरी १३ पुषमा नेपालगन्ज आएको थियो । पूर्व राजपरिवार नेपालगन्जमा आफ्नै लगानीमा खोलिएको सोल्टी होटलमा बसिरहेको छ ।
।