सूचनाको शक्ति - The Power Of Information

        

एमाले नेताहरु हिलो छ्याप्नमा व्यस्त, के गर्दैछन् ओली ?


काठमाडौं । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को विषयले नेकपा एमालेका युवा नेताहरु हिलो छ्यापाछ्यापमा व्यस्त छन् । सामाजिक सञ्जाल बहसको केन्द्र बनिरहेको छ । कम्युनिस्ट परम्पराभन्दा फरक शैलीमा नेता तथा कार्यकर्ताहरु जबज र वाम गठबन्धनको विषयमा बहसमा उत्रिएका छन ।
निर्वाचनमा बहुमत ल्याए पनि वाम गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिने विषय पनि नयाँ होइन । तर, पार्टी एकताको विषयले पनि राजनीतिमा जुन रफ्तार लिनुपर्ने थियो, लिएको छैन । चुनावपछि तातेको राजनीतिक घटनाक्रम यतिखेर सुस्त छ । यी सबैका वावजुद राजनीतिको केन्द्रमा छन्, केपी शर्मा ओली । सबैभन्दा ठूलो दल र सबैभन्दा शक्तिशाली नेताका रुपमा उदयमान ओलीको राजनीतिक सक्रियता फेरि ह्वात्तै घटेको छ । किन त ?

के गर्दैछन् ओली ?
देशभर नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको बहस जारी रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने यतिखेर आराम गरिरहेका छन् । वाम एकता मात्र होइन सरकार निर्माणको विषयमा पनि पछिल्ला दिनमा उनको मौनता कायम छ । पछिल्ला दुई दिनदेखि अध्यक्ष ओली घरबाट बाहिर निस्किएका छैनन् ।
उनी घरमा नै के गर्दै छन् त ? धेरैको लागि चासोको बिषय बनेको छ । यसअघि केही पूर्वनिधारित कार्यक्रममा समेत सहभागी भएनन् ओली । घरमै आराम गरिरहेकाले हुनुपर्छ ओली निवासमा भेट्घाटका कार्यक्रम समेत पातलिएको छ । विरामी त भएका होइनन् ओली ? अध्यक्ष ओली विरामी भएर घरमै आराम गरिरहेको हल्लाले बजार पिटेको भए पनि उनी आराममात्र गरिरहेको ओली निकटका नेता कृष्णगोपाल श्रेष्ठले बताए ।
‘अध्यक्षज्यू विरामी भएको भन्ने हल्लामात्र हो । उहाँ स्वस्थ हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘केही दिनको लागि आराम मात्र गर्नुभएको हो ।’ अध्यक्ष ओलीले घरमै आराम गरिरहँदा पार्टीका नेताहरु भने एकता र सैद्धान्तिक विचलनमाथि बहस गरिरहेका छन् । यद्यपि एकीकरणको विषयलाई लिएर बाहिर बहसमा नउत्रिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका अध्यक्षहरुले निर्देशन दिइसकेका छन् ।
अध्यक्ष ओली सम्भवत बिहीवारबाट मात्र नियमित राजनीतिक गतिविधिमा देखिने छन्। नेता श्रेष्ठले भने, ‘बिहीवारबाट मात्र उहाँले भेट्घाट र नियमित काममा फर्कनु हुन्छ । बुधवार पनि कसैलाई भेट्ने कार्यक्रम छैन ।’ ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेट यतिखेर धेरैको चासोक विषय समेत हो । त्यसैले दाहालको चितवन यात्रादेखि ओलीको घरमै आरमको विषयले धेरैखाले संदेशहरु एकैपटक पैदा गर्ने गरेको छ । बिहीवार कम्तिमा यी दुई नेता भेट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ पुष २०७४, बुधबार ११:०५