सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ को पिरलो : नाममा एकमत, राजधानीबारे मतभेद


विनोद शाही । सुर्खेत । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा प्रदेश नम्बर ६ मा प्रदेशको नाम र राजधानीको विषयमा बहस सुरु भएको छ । प्रदेशको नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा यहाँका विभिन्न जिल्लामा छलफल हुन थालेका छन् । प्रदेशको नामबारे एकमत देखिए पनि राजधानी कहाँ बनाउने भन्ने विषयमा भने फरक–फरक धारणा आएका छन् ।
प्रदेशको नाम कर्णाली राख्ने विषयमा हालसम्म विवाद देखिएको छैन । विभिन्न जिल्लाहरुमा भइरहेका छलफलमा पनि कर्णाली प्रदेश नाम राख्न एकमत देखिएको छ । तर, राजधानीका विषयमा सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक मत देखिएको छ । जुम्लाका नागरिकले प्रदेशको राजधानी जुम्ला हुनुपर्ने माग गर्दै आएका छन् । कालिकोटसहित कर्णालीका अन्य जिल्लाका राजनीतिक दलका कतिपय नेतादेखि नागरिकसम्मले पनि जुम्लालाई राजधानी बनाउन माग गरेका छन् ।
तर, जुम्लालाई राजधानी बनाउने विषयमा भने कर्णालीमै पनि एकमत छैन । सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक–फरक धारणा आइरहेका छन् । जुम्लामा सर्वपक्षीय छलफल गरी जुम्लालाई राजधानी नबनाइए आन्दोलन गर्ने चेतावनी दिइएको छ । त्यहाँका नागरिक अगुवाहरुको पहलमा जुम्लालाई प्रदेशको राजधानी बनाउन माग भइरहेको छ । जुम्लाबाट प्रदेशसभामा निर्वाचित सांसद नरेश भण्डारी कर्णालीको सन्तुलित विकासका लागि जुम्लालाई राजधानी बनाउनुपर्ने बताउँछन् ।
उनले विशेषगरी जुम्लालाई मौसमी राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । यो प्रदेशको भौगोलिक अवस्था अनुसार ग्रीष्मकालीन र शीतकालीन राजधानी बेग्लाबेग्लै बनाउनुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘जुम्लालाई ग्रीष्मकालीन र सुर्खेतलाई शीतकालीन राजधानी बनाउनु जरुरी छ ।’ कालिकोटमा भएको सर्वपक्षीय छलफलका सहभागीहरुबीच प्रदेशको नामबारे एकमत भए पनि राजधानीका विषयमा मतभेद देखिएको छ ।
समुन्नत समाजका लागि सामूहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वा्चित सांसद कुर्मराज शाहीले प्रदेश नम्बर ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामाथ्र्यका आधारमा सुर्खेत हुनुपर्ने बताए । शाहीले आफूले र आफ्नो पार्टी नेकपा एमालेले निर्वाचनअघि घोषणापत्रमार्फत पनि यही एजेन्डा उठाएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको दाबी गरे ।
उनले नाम र राजधानीका विषयमा थप विवाद गर्नुनपर्ने भन्दै यो प्रदेशको ठूलो भूभाग ओगटेको कर्णाली क्षेत्रको पहिचान अनुसार प्रदेशको नाम पनि कर्णाली नै राखिनुपर्ने जनाए । तर, राजधानीका लागि भने सुर्खेत नै उपयुक्त रहेको उनको भनाइ थियो । जिल्ला बार इकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर विष्टले प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश हुनुपर्ने तर राजधानी भने मौसमी हुनुपर्ने धारणा राखे ।
उनले स्थायी राजधानी सुर्खेत भए पनि कर्णालीलाई सम्बोधनका लागि मौसमी राजधानी भने कर्णालीमा राख्न सकिनेमा जोड दिए । नेपाली कांग्रेसका पार्टी सभापति हर्षबहादुर बमले राजधानी बनाउँदा प्राविधिक पक्षहरु पनि हेरिनुपर्ने भन्दै सुर्खेत नै उपयुक्त भएको बताए । नाम भने कर्णाली नै हुनुपर्ने उनको तर्क थियो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष रमेश शाहीले राजधानीका आवश्यक पूर्वाधारहरु सुर्खेतमा बनिसकेको र कर्णालीका लागि पनि सुर्खेत नै राजधानीका लागि उपयुक्त हुने धारणा राखे ।
तर, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नामसँगै राजधानी पनि कर्णालीमा नै हुनुपर्नेमा जोड दिए । उनले कर्णाली बाहेक अन्यत्र राजधानी बनाए कर्णालीको विकास हुन नसक्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लालबहादुर शाहीले कर्णालीको समृद्धिका लागि राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखे । यस्तै, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले प्रदेश नम्बर ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने बताए । –नेपाल लाइभबाट

प्रकाशित मिति : १९ पुष २०७४, बुधबार १०:४१