लखन चौधरी । धनगढी । कैलालीको भादा गाउँ आदिवासी थारु समुदायको कला, संस्कृति, खानपान, भेषभुषाको केन्द्र बन्ने तर्फ उन्मुख भएको छ । धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँ थारु समुदायको बसोबास संगै थारु कल्चरको केन्द्र बन्दैछ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नारायण चौधरीले थारु समुदायका हरेक वस्तुस्थिति, चालचलनको संरक्षण तथा प्रवद्र्धनको प्रयासमा जुटेको बताए । ‘हामी यस्तो पहिचानको खोजीमा जुटेका छौ, हामी कहाँ थारुका कुन अवशेष छैन ? भन्ने तर्फ चासो बढाएका छौं’, उनले भने ।
वि.स. २०६८ सालमा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति विधिवत दर्ता गरी स्थानीयहरु रैथाने कला, संस्कृति, भेषभुषा र खानपानको संरक्षण तथा सम्वद्र्धनमा जुटेका हुन् । भादाका स्थानीय सांस्कृतिक समूहहरु गाउँमा मात्रै सीमित नभई हाल हरेक सभा समारोहको आकर्षण समेत बनेका छन् । पूर्वराजाको सवारीदेखि दलका नेता तथा कार्यकर्ताको स्वागतमा उनीहरु नै अग्रपंक्तिमा देखिन्छन् ।
जसले गर्दा एकातर्फ कला, संस्कृतिको संरक्षण भएको छ भने अर्को्तिर संस्कृतिको पुस्ता हस्तान्तरण र व्यवसायकरण भएको बताउँछिन् भादा दक्षिण टोलस्थित सखिया नाच टोलीकी सदस्य श्यामसुन्दरी चौधरी । पहिले पहिले आफुहरु गाउँमा मात्रै सीमित भएको बताउँदै उनले आजभोलि केही पारिश्रमिक लिएर मुलुकको विभिन्न ठाउँमा समेत कला प्रदर्शन गर्दै आएको जानकारी दिइन् ।
स्थानीयहरु विभिन्न टोली बनाएर, सखिया नाच, झुम्रा नाच, मघौटा नाच, लाठी नाच प्रदर्शन संगै मागर, ढमार, बर्कीमारलगायत लोक लयको भाका समेत प्रस्तुत गर्दै आएका छन् । आफुहरुको अभियानमा थप बल मिलोस भन्ने उदेश्यका साथ स्थानीयहरु हरेक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव पनि आयोजना गर्दै आएका छन् । पुस १९ देखि २३ गतेसम्म तय गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१६ का वडा अध्यक्ष समेत रहेका समितिका संयोजक चौधरीले महोत्सवको सबै तयारी पूरा भएको बताउँदै निर्धा्रित समयमा महोत्सव सुरु हुने जनाए । महोत्सवको विशेषतावारे जानकारी गराउदै संयोजक चौधरीले भने, ‘हरेक दिन रैथाने सांस्कृतिक झाँकीको रुपमा सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुङग्रहुवा, गुरुवा, सजना, मैना, ढमार, बर्कीमार, लग्नी, कठमैया, विरहनी गीतको प्रस्तुती रहनेछ । साथै आधुनिक थारु नाचगान, राना थारु, कठरिया थारुको नाचगान र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहन्छ’, उनले भने ।
त्यस्तै, परम्परागत तथा जैविक खानपानको रुपमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिद्रा, महुँवाको रक्सी, निघारलगायत रहने आयोजकले जनाएको छ । पछिल्लो समय उक्त भादा होमस्टेले अन्तरिक तथा वाहृय पर्यटक भित्र्याउन पनि सफल भएको छ ।
होमस्टे अवलोकनको लागि वार्षिक करिब पाँच हजार आन्तरिक पर्यटक संगै जर्मनी, अमेरिका, जापान, थाइलेण्ड, नर्बे, क्रिगिक्रिस्तान लगायत मुलुकका पर्यटक आउने गरेको समितिका कोषाध्यक्ष पदम चौधरीले जानकारी दिए । पर्यटकहरुलाई लक्षित गरी १९ घरमा होमस्टेको व्यवस्था गरेको बताउदै उनले होमस्टेमा चाहे अनुसारको खानपान, बसोबास, मनोरञ्जनको व्यवस्था रहेको बताए । भादा गाउँ धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको छ ।
।