टिना र बेन्जामिन एम्मासँग।
दी एटलान्टिक । ‘भ्रुण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो । मानव जातिमा भ्रुणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ । र, सामान्यतया ९ महिनापछि त्यही भ्रुण बच्चाको रूपमा जन्मिन्छ । अमेरिकामा भने एउटा भ्रुणले २५ वर्षपछि बल्ल बच्चीका रूपमा जन्म लिएको छ । सन् १९९२ अक्टोबरमा विकसित भ्रुणबाट डेढ महिनाअघि एक बच्चीको जन्म भएको हो । त्यो बच्चीको नाउँ हो, एम्मा ह्रेन गिब्सन ।
उक्त भ्रुण २५ वर्ष ‘फ्रिज’ गरेर राखिएको थियो । टेनेसी विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार इतिहासमै यो सबभन्दा लामो समय फ्रिजमा राखिएको भ्रुण हो, जसले बच्चाको स्वरूप पाएको छ । एम्मालाई जन्म दिने आमाको नाम टिना गिब्सन हो । उमेर हेर्ने हो भने टिना एम्माभन्दा एक वर्ष मात्र जेठी छिन् । ‘हामी सँगै जन्मिएका भए साथी हुने थियौं,’ २६ वर्षे टिनाले भनेकी छन् । टिनाका श्रीमान बेन्जामिनबाट बच्चा नहुने भएपछि उनीहरूले फ्रिज गरिएको भ्रुण अपनाएका थिए । यो भ्रुण पुरुषको वीर्य र महिलाको डिम्ब संकलन गर्ने प्रयोगशालाबाट लिइएको हो । २५ वर्षसम्म यसलाई कसैले अपनाएका थिएनन् ।
‘मलाई कुनै हालतमा बच्चा चाहिएको थियो,’ टिनाले भनेकी छन्, ‘रेकर्ड राख्छु भन्ने त मतलबै थिएन ।’ ‘एम्मा यतिका वर्ष फ्रिज भएर बसेकी भए पनि साह्रै राम्री छन् । स्वस्थ पनि,’ ३३ वर्षीय बेन्जामिनले भनेका छन् । एम्माको तौल २ किलो ९ सय ग्राम छ भने २० इन्च अग्ली छिन् । ‘एम्मा हामीलाई ईश्वरले दिएका वरदान हुन् । हामी एकदमै खुसी छौं । भलै उनले हाम्रो जिन र डिनएनए नबोक्लिन्, उनीसँग हाम्रो अथाह प्रेम छ । उनी हाम्री छोरी हुन्,’ टिना र बेन्जामिनले भनेका छन् । गतवर्ष मार्चमा ‘नेसनल इम्ब्रो डोनेसन सेन्टर’ले टिनाको गर्भाशयमा यो भ्रुण प्रत्यारोपण गरेको थियो ।
टिना र एम्मा ।
लामो समय फ्रिज गरेर राखिएकाले यसलाई डाक्टरहरूले ‘हिउँ बच्चा’ नाम दिएका थिए । वर्षौंदेखि फ्रिज गरेर राखिएका तीन सयभन्दा बढी भ्रुणबाट गिब्सन दम्पतीले एउटा छानेका थिए । अचेल फ्रिज गरिएका भ्रुणबाट बच्चा जन्माउनु सामान्य भइसकेको छ । प्राकृतिक गर्भाधान नभई भ्रुण प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई ‘इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ)’ भनिन्छ । ‘आइभिएफ’ विधिबाट सबभन्दा पहिले सन् १९७८ मा लुइस ब्राउनको जन्म भएको थियो । धेरै देशमा यस्तो प्रक्रियाको आलोचना भए पनि विज्ञहरू भ्रुणबाट जन्मने बच्चामा कुनै समस्या नहुने बताउँछन् ।
अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सन् १९७४ मै विज्ञहरूको भनाइ उद्धृत गर्दै लेखेको थियो, ‘भविष्यमा प्रविधि विकाससँगै यसरी जन्मिने बच्चामा वंशाणुगत रोग नहुने, लिंग र आँखाको रङ छान्न सकिने, मानसिक क्षमता बढाउन सकिने ग्यारेन्टी हुनेछ ।’ आइभिएफ विधिमा पहिले नयाँ भ्रुण सोझै गर्भाशयमा प्रत्यारोपण गरिन्थ्यो । फ्रिजमा राख्ने र निकालेर बच्चाको स्वरूप दिने विधि विकास गर्न भने चिकित्सकहरूलाई ६ वर्षभन्दा बढी लाग्यो ।
फ्रिज गरिएको भ्रुणबाट पहिलो बच्चा सन् १९८४ मा अस्ट्रेलियामा जन्मिएको थियो । दुई महिना फ्रिजमा राखिएको भ्रुणबाट जन्मिएका बच्चा जो लेल्यान्ड हुन् । लेल्यान्डको जन्मपछि अमेरिका, बेलायत, इजरायल, नेदरल्यान्ड्स र पश्चिमी जर्मनीमा यसको व्यापक प्रयोग भयो । दुई वर्षमै दुई दर्जनभन्दा बढी बच्चा जन्मे । यो विधिले बच्चा जन्माउने समय केही हदसम्म भए पनि नियन्त्रण गर्न मद्दत गर्यो । त्यसअघि भ्रुण तत्काल राख्नु वा फाल्नुको विकल्प थिएन । भ्रुण जोगाएर राखिरहन सकिने यो विधिले जुम्ल्याहा वा तिम्ल्याहाको सम्भावना कम गर्ने चिकित्सकको भनाइ छ ।
एम्मा।
कुनै महिला शारीरिक र मानसिक रूपमा तयार भएपछि मात्र भ्रुण प्रत्यारोपण गरिन्छ । यसलाई धेरैले ‘बच्चा डिजाइन’ गर्ने विधि पनि मानेका छन् । संसारभर लाखौं भ्रुण फ्रिज गरेर राखिएका छन् । तिनलाई तरल नाइट्रोजनको स–साना ट्यांकीमा राखिन्छ । कतिपय दम्पतीले पछि पाउने भनेर आफ्नै वीर्य र डिम्बको भ्रुण राख्ने गर्छन् । त्यस्ता दम्पतीको मृत्यु भए पनि भ्रुण सकुशल रहन्छ । भ्रुण कति समय रहन सक्छ भन्ने पनि कसैलाई यकिन हुँदैन । सबैभन्दा पुरानो भ्रुणबाट जन्मिने बच्चाको रेकर्ड एम्माभन्दा अघि न्यूयोर्कको एक बालकको थियो ।
त्यो भ्रुण २० वर्ष फ्रिज गरिएको थियो । त्यस्तै, न्यूयोर्ककी एक महिलाले १९ वर्ष फ्रिज गरिएको भ्रुणलाई जन्म दिएकी थिइन् । प्रजनन् विज्ञ ब्यारी बेरले ‘साइन्टिफिक अमेरिकन’लाई दिएको अन्तर्वार्तामा सैद्धान्तिक हिसाबले फ्रिज गरिएका भ्रुण सयदेखि दुई सय वर्ष रहन सक्ने बताएका थिए । पछिल्ला २५ वर्षमा फ्रिज गरिएका भ्रुणबाट बच्चा जन्माउने विधिमा निकै बदलाव आइसकेको छ । प्रविधि विकाससँगै वैज्ञानिक र चिकित्सकले यसमा अझै सुधारको आशा गरेका छन् ।
।