सूचनाको शक्ति - The Power Of Information

        

घरघरमै पुगेर वृद्धभत्ता बाँड्दै वडाध्यक्ष


दुर्गा विसी । सल्यान । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष विनायक केसीले घरघरमै गएर वृद्धभत्ता बाँडेका छन् । घाँजरीपिपलको रामचाउन, गैरीकटेरी, घाँजरी, पाखापानी, लेखसंग्रही, दारिम जिउला लगायतका स्थानमा घरमै पुगेर वृद्धभत्ता वितरण गर्न थालेपछि वृद्धवृद्धाहरु खुसी बनेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको १२ वटा वडामध्ये घरघरमै पुगेर वृद्धभत्ता बाँड्ने उनी पहिलो वडाध्यक्ष हुन् ।
उनको यो कामको गाउँमा सबैले खुलेर प्रशंसा गरेका छन् । हिडेर वृद्धभत्ता लिन नसक्ने, असक्त तथा अपांगता भएका स्थानीय नागरिकलाई यसले ठुलो मदत्त गरेको छ । अर्कोतर्फ आफ्ना अभिभावक तथा अग्रजको वृद्धभत्ता छोरा तथा नातीहरुले वुझेर उनीहरुका हातमा नपर्ने, बीच बाटोमै खर्च गरिदिने देखिएकोले यस्तो काम गरेको अध्यक्ष केसीको भनाई छ । वडा ७ रामचाउन निवासी ८९ वर्षिया किउरी खत्रीले वडाध्यक्षको यस्तो कामले आफुहरु निक्कै खुसी भएको बताइन् ।
यसअघि हिडेर भत्ता बुझ्न वडा कार्यालय जान नसकेकाले आफ्न्तले भत्ताको रकम बाटैमा खाइदिने गरेकोले वडाध्यक्षको यो कामले पुरै रकम आफ्न्नै हातमा परेपछि बुढेसकालको साहारा यही भत्ता भएको बताइन् । यसैबाट सबै काम चलाई खर्च टार्ने गरेको उनले बताइन् । बुढेसकालको साहारा वृद्धभत्ता वृद्धावृद्धाको हातमा नपरी घरका छोराछोरीले बुझ्ने भएकाले उक्त रकम अन्यत्रै खर्च गरिदिने गरेको पाइन्छ । यही समस्या हटाउन र वृद्धवृद्धाकका लागि यो भत्ता साहारा बनोस् भन्ने उद्देश्यका साथ घरघरमै भत्ताको रकम पुर्याइएको वडाध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : १९ पुष २०७४, बुधबार ०५:१५