सूचनाको शक्ति - The Power Of Information

        

कोल्ड स्टोर निर्माणपछि बाँकेका किसानलाई राहत


बाँके । बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालगन्जका व्यवसायीहरु टंकप्रसाद शर्मासहितको समूहले करिब २० करोडको लागतमा शीतभण्डार निर्माण सुरु गरेको हो ।
१० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुन महिनाबाट सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको संचालक शर्माले जानकारी दिए । नेपालगन्जबाट झण्डै ५ किलोमिटर पश्चिम खजुरा नजिकै २ बिघा जग्गामा नेपालगन्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण कार्य हाल धमाधम भइरहेको छ ।
जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ देखि भए पनि गत वैशाखदेखि निर्माण कार्य सुरु भएको हो । नेपाल जडिबुटी व्यवसायी सङ्घका केन्द्रीय महासचिव समेत रहनुभएका शर्माले शीतभण्डारमा जडिबुटी भण्डारण गरिने बताए ।
यसैगरी कर्णालीको स्याउ, तरकारी र आलु पनि भण्डारण गर्ने लक्ष्य पनि छ । मध्य र सुदूरपश्चिमका किसानहरुको उत्पादनलाई भण्डारण गर्ने लक्ष्य राखिएको छ । शीतभण्डारको अभावमा यसक्षेत्रको जडिबुटी भण्डारणका लागि भारतको लखनउ लगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको शर्माले बताए ।

प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार ०९:४९