बाँके । खजुरा गाउँपालिका–८, रनियापुरकी जाहिदा अली जोलाहले ७ कक्षा पढ्दापढ्दै विद्यालय छोडिन् । पढाइमा उनको लगनशीलता र मिहिनेतले कक्षामा सधैँ उनी अग्रस्थानमा हुन्थिन् । तर, उनको पढाइको बाधक बन्यो उनकै समाज । उनी नजिकैको सामुदायिक विद्यालयमा पढ्न जाँदा उनका छिमेकी र समाजले कुरा काट्न थाले । उनी विद्यालय गएको बेला उनका छिमेकी र समाजको एउटै गुनासो रहन्थ्यो, ‘छोरी मान्छे भएर पनि मुख देखाउँदै विद्यालय गएर पढ्ने ?’
यौवन भएकी महिलाले समाजका अगाडि मुख देखाएर हिँड्न हुँदैन भन्ने मान्यता अझै पनि कायमै छ । त्यसको सिकार रनियापुरकी जाहिदा अली जोलाह मात्र नभई बाँकेका सयौँ मुस्लिम समुदायका बालिका र युवतीको भविष्य चौपट भएको छ । उनले पढ्ने इच्छा हुँदाहुँदै समाजका कारण आमाबुबाले पढ्न नदिएको बताइन् । ‘पढेर आफ्ना लागि आफैँ कमाउने सोच थियो, तर सामाजिक र धार्मिक मान्यताका कारण सम्भव हुनसकेन’, उनले भनिन् । रनियापुरकी अनिशा अन्सारीले गत वर्षको एसईई परीक्षा दिइन् । एसईईको परीक्षाफल प्रकाशित भएको हल्ला परालको आगोझैँ छिनभरमै उनको गाउँमा पनि पुग्यो । तर, उनले आफ्नो परीक्षाफलसमेत हेर्न पाइनन् ।
परीक्षाफल हेरेपछि ११ कक्षामा पढ्ने डरका कारण उनका आमाबुबाले परीक्षाफल हेर्न नदिएको उनले गुनासो गरिन् । उनले आफ्नो साथीको भिनाजुबाट एसईई उत्तीर्ण भएको जानकारी पाएको बताइन् । धेरै शिक्षा दिएर छोरीलाई ठूली मान्छे बनाउने उनका बाबुआमालाई नलागेको होइन, तर परम्परागत सामाजिक र धार्मिक मान्यता नै उनका बाबुआमाको इच्छामा छेकबार बने । ‘छोरीलाई पढाउनुपर्छ, छोरी मान्छे नपढेकै कारण हिंसामा पर्ने गरेका छन् भन्ने हामीलाई पनि थाहा छ, तर पनि समाजका अगाडि कुनै सीप चलेन’, अनिशाका बाबु जाहिद अली अन्सारीले भने, ‘छोरीलाई विद्यालय पठाउने हो भने समाजबाट अनेकौँ किसिमका कुरा सुन्नुपर्छ । समाजको कुरा थेग्न नसकेर नपढाउने निर्णयमा पुग्यौँ ।’
छोरी पढाउन नपाएकामा उनलाई पश्चाताप लागेको छ । आर्थिक अवस्था राम्रो हुँदाहुँदै पनि छोरीको पढाइ बीचमै रोकिएकामा उनलाई नमज्जा लागेको छ । आफूलाई मात्र नमज्जा लागेर के गर्ने ? समाजको अगाडि राम्रो बन्नै पर्दोरहेछ’, उनले भने, ‘समाजबाट जोगिन जस्तो समाज छ, त्यहीअनुसार चल्नै पर्यो ।’ अन्य मान्यता तोड्न सकिए पनि सामाजिक र धार्मिक मान्यता तोड्न निकै कठिन हुने उनले बताए । ‘कमाएको रकम गुमाउन सकिन्छ, तर समाजमा भएको मान्यता र प्राप्त गरेको प्रतिष्ठा जोगाउन सजिलो हुँदोरहेनछ’, उनले भने । रनियापुर गाउँको छेवैमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय छ । उक्त गाउँमा मात्र करिव एक हजार बालबालिका छन् । तर, उक्त विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाको संख्या एकदमै न्यून छ ।
भर्ना भए पनि नियमित रूपमा विद्यालय आउने विद्यार्थीको संख्या नगण्य रहेको विद्यालयकी शिक्षिका मञ्जु केसीले बताइन् । उनका अनुसार कक्षा एकमा ३० जना विद्यार्थी भर्ना भएकामा नियमित रूपमा १०–११ जना मात्र विद्यालय आउने गरेका छन् । उनले एक दिन विद्यालय आएपछि तीन दिन नआउने गरेको बताइन् । ‘नियमित आउने विद्यार्थी ६–७ जना मात्र छन्, आज आएको विद्यार्थी भोलि आउँदैन, दुई–तीन दिन बिराएर आउँछन्’, उनले भनिन् । कक्षा एकमा अध्ययनरत अप्सना खाँले आफू तीन दिनपछि विद्यालय आएको बताइन् । उनले घरको काम गर्नुपर्ने भएकाले दिन बिराएर विद्यालय आउने गरेको बताइन् । उनले घरमा बस्दा बाख्रा चराउने, भाइबहिनीको रेखदेख गर्ने र गुइँठा संकलन गर्ने गरेको बताइन् । ‘बाबुआमाले बाख्रा चराउन काम देखाइदिनुहुन्छ’, उनले भनिन् ।
अप्सनासँगै कक्षा एकमा अध्ययनरत असलम खाँले पनि आफू तीन दिनपछि विद्यालय आएको बताए । उनले बाबुआमाले पढ्नेभन्दा काममा ज्यादा बल गर्ने गरेको बताए । ‘पढ्न नआए पनि केही भन्नुहुन्न, पढ्न आएको भन्दा घरमै बसेको राम्रो मान्नुहुन्छ’, उनले भने । मुस्लिम समुदायले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भन्दा मदरसामा पठाउन बढी बल गरेको देखिन्छ । मदरसामा धार्मिक संस्कार र उर्दू भाषाको समेत पढाइ हुने भएकाले मुस्लिम समुदायका अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई अध्ययनका लागि मदरसामा पढाउने गरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक नीरबहादुर थापाले बताए । उनले मदरसामा धार्मिक र उर्दू भाषाको पढाइ भए पनि बालबालिका त्यहीँ सीमित हुने बताए । ‘मदरसामा पढेका बालबालिका सामुदायिक विद्यालयमा आउन मान्दैनन्’, उनले भने, ‘मदरसामा सरकारले निर्धारण गरेको शैक्षिक पाठ्यक्रमभन्दा धार्मिक शिक्षामा जोड दिइन्छ ।’ उनले शिक्षामा अभिभावकको चासो बढ्न नसकेको पनि बताए ।
।