सूचनाको शक्ति - The Power Of Information

        

सम्झनाका केही शब्द तिमीलाई…

जिन्दगी साँच्चै एउटा यात्रा रहेछ ।
जहाँ हजारौं साथी भेटिन्छन् ।।
तर, कोही यतिधेरै मनमा बस्छन् ।।
जसलाई भुल्न गाह्रो हुन्छ ।

माया कसैले गर भनेर हुने र नगर भनेर नहुने पनि त होइन । मानिसहरु मलाई कति कठोर भन्ने गर्छन्, तर म जहाँ कठोर बन्नुपर्छ मलाइ पगाल्न कुनै शब्दको भण्डार नै चाहिदैन्थ्यो मौनता नै काफी थियो, उसको हँसिलो मुहार र लजालु हेराई नै काफी थियो, सुनौलो यात्रा अनि तिनका ति नयन ओठको मुस्कान र मायालु हेराई बिर्सन सकेको छैन मैले । लाग्छ, सायद तिमी म सँगै छौं, मलाई हेरेर मुस्कुराइरहेकै छौं । जिन्दगीमा कयौँ यात्राहरु हुन्छन्, भनिन्छ यात्रा नै जिन्दगी हो । तर, कुनै यात्रा यस्तो हुन्छ जसलाई चाहेर पनि भुलाउन सकिँदैन, कुरा केहिदिन अगाडीको हो । यात्रा पोखराबाट काठमाडौंको थियो, हामी दुइंजना, दिदी र म बिहान ६ बजेको माइक्रो बसमा चढयौं, मभन्दा अगाडीको सिटमा मेरो नजर ठोक्किन पुग्यो, उसको निर्दोष नयनले मलाइ नियालिरहेको हुन्छ, उसको त्यो रहरलाग्दो मुस्कान र झिम्किरहने परेलीले मलाइ एकहोरो हेरिरहेको हुन्छ, कुन्नी के थियो ? उसको त्यो मुहारमा मलाई पनि हेरुँहेरुँ लाग्छ, मेरो नजर पनि उसको हँसिलो मुस्कानबाट हटेको थिएन, मलाई एकहोरो हेर्ने त्यो नजरको भाषा सायद उसका अभिभावकले बुझेको हुनुपर्छ ।
घरीघरी अभिभावकले उसलाई आफ्नो साइड फर्काउने खोज्थे उ मान्दैन्थ्यो । ति निर्दोष नयन, रहरलाग्दा ओठमा खुलेको मुस्कान र झिम्किरहने परेलीहरु एकहोरो मलाई हेरिरहन्थे । पटकपटक मेरो नजर उसँग ठोक्किरहेको थियो । अरु मानिसले वा उसको अभिभावकले के भन्लान् भन्ने लाग्थ्यो र म आफ्नो आँखा बाहिरतिर डुलाउँथे काठमाडौंको यात्रा बाहिर नियाल्दा बाहिरको मनमोहक दृष्य, घामका किरणहरु धानको पहेलिएर लहलह भएको धान काट्न सुरु भैसकेको हुन्छ । केहिसमय बाहिरको दृष्यबाट आँखा हटाएर भित्र नजर पर्छ । फेरि नि उसले मलाई नै हेरिरहेको हुन्छ । म पनि उसलाइ हेरेर हाँसिदिन्थे परेली पनि नझिम्काइकन हेर्ने त्यो नजरले मलाई पनि उप्रति माया लागेको महसुस हुन्थ्यो, कतिबेला दिदी र म आफ्नै गफमा गफिएका हुन्थ्यौं, दिदीले पनि उसले मलाई एकहोरो हेरेको चाल पाएर होला ? के हो तिमीलाई त निकै हेरेको छ त ? दिदीको त्यो प्रश्नमा मैले भने हो है ? मलाई हेर्ने उसको त्यो नजरको म बानी परिसकेको थिए ।
माया पनि असाध्यै लागेर होला मैले आँखाको इशाराले बोलाउथे, जव म बोलाउथे लाजले भुतुक्कै भएर अभिभावकतिर मुख फेर्ने गर्दथ्यो । यसैगरी उ मसँग र म उसँग रमाएका थियौं । सायद उसलाई निद्राले भुतुक्कै पारेर होला अभिभावकको आडमा निदाउन पुग्छ, मलाई पनि आँखालाई बिश्राम दिन मन लाग्यो, गाडी आफ्नै गतिमा दौडिरहेको थियो । कतिबेला म पनि झकाउन पुगेछु, एक्कासी चर्को आवाजले झस्कायो आँखा खुल्यो, गाडीमा सवार एकजना यात्रु र गाडीको कन्टेक्टर कराउँदै थिए कुरा के रहेछ ? हामीले बुझ्ने कोशिस गर्यौ, आखिर कुरा के हुनु उही त होनी, यात्रु र स्टापबीच गाडी भाडाको कुरा, उसले बढी भाडा मागेको आरोप लगाउँदै एकजना यात्रु दाई कराउँदै थिए । एकैछिन दुइ जनाको कुरा सुन्यौ, दुवै जनाको सारै चर्काचर्की भएपछि मैले भने, ए भाइ भाडादर कति हो ? त्यति नै लेउन, बढि किन माग्छौ ? उसले यहि नै हो भाडा रेट भन्दै थियो, यतिकैमा एक जना दिदीले हाम्रो पनि बढि लिएको छ भन्दै पोखरादेखि काठमाडौंको भाडा रेट बताउनु भो । हामीसँग पनि बढि भाडा असुलेको प्रष्ट भएपछि हामी पनि जति हो त्यति लिन भन्दै अरु फिर्ता गर्न भन्यौ, तर उ दिने पक्षमा छैन ।
हामीलाई अलिकति कडारुपमा प्रस्तुत हुन बाध्य बनायो, हामीले भन्यौ हेर भाई, बढि लिएको भाडा फिर्ता दिने भए देउ, होइन भने हामी ट्राफिक प्रहरी र पृथ्वीराज मार्ग बस सञ्चालक समितिमा भर्खरै फोन गर्छौ । त्यो गाडी पृथ्वीकै थियो भन्ने थाहा थियो, यति भनिसकेपछि सायद डराएर होला उसले भाडा फिर्ता दियो, दिदीले मतिर फर्केर हाँस्दै भन्नुभयो, यतिबेलासम्म हामी अरुको वकालत गर्दै थियौं, आफु पनि त ठगिएका रहेछौं त ? दिदी र म एक अर्कालाइ हेरेर हास्यौं, मैले भने होतनी है ? गर्व पनि लाग्यो आफु लगायत अन्य यात्रुको बढि तिरेको भाडा फिर्ता गराउन पाउँदा, एकैछिन दुई जनाको निकै हाँसो चल्यो, यतिकैमा मेरा आँखा उसको आँखासँग ठोकिन पुग्छ मलाइ नै हेरिरहेको हुन्छ ।
सायद हाम्रो चर्कोचर्को बोलिले ब्युझाएको हुनुपर्छ, म पनि उसलाई हेरेर मुसुक्कै हाँस्न बाध्य हुन्छु, केहि समय यसरी नै हेराहेरमा बित्छ । एकैछिनमा हामी थानकोटमा पुग्छौं, थानकोटदेखि कलंकीसम्मको जाम उसले मलाई र मैले उसलाई नै नियालेका हुन्छौ । मेरो त्यो यात्रा उसलाई हेर्नु र सिसाबाट बाहिर देखिने काठमाडौंको धुलो र जामलाई छिचोल्दै अब ओर्लने बेला आउँछ । मलाई उसको अभिभावकसँग उसको बारेमा सोध्न मन लाग्छ, अनि उसको उमेर र नाम सोध्न पुग्छु । आउ भनेर इशारा गर्छु, तर उ हाँसेर अर्को साइड फर्किन्छ । उसका अभिभावकले पनि मसँग बोलोस् भन्ने चाहन्छन, उ मान्दैन् केवल हेरेर मात्रै हाँसी मात्रै रहन्छ ।
गाडीबाट झरेर हामी आआफ्नो गन्तब्यतिर लाग्छौं, तिन दिनमा काम सकेर हामी फक्र्यौ । डेढ वर्षिय त्यो बालक आज पनि मेरो यादमा छ, म उसलाई सम्झिरहन्छु, जिन्दगीमा थुप्रै यात्राहरु गरियो, त्यो बालक मेरो मनमा यसरी बस्यो कि, जब कुनै बालक देख्छु, त्यो यात्रा अनि फुल जस्तो बालक प्राञ्जलको याद आउँछ । उसले यात्रामा देखाएका नटखट ब्यवहार तोते बोलीको याद आउँछ । एउटा आमाले आफुले जन्माएको बच्चाको कति माया हुन्छ, त्यस्तै अनुभव गरायो उसले मलाई । यस्तो लाग्यो कि पूर्वजन्मको कुनै नाता छ, उसको र मेरो सायद उसले मलाई आमा भनेर बोलाउन चाहान्छ । उसको लजालु आँखा मलाई हेरेर मुस्कुराउने ओठ यादमा सिमित भए । केवल सम्झना मात्रै रह्यो । त्यो जहाँ छ सकुसल रहोस् उसको हरेक पाइलाले सफलता चुम्न सफल होस् भविष्यमा असल मान्छे बनोस् मेरो शुभकामना छ ।

प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार ०५:५६