वर्तमान अवस्थालाई हेर्ने हो भने लागुपदार्थको प्रयोग बढ्दै गएको देखिन्छ । समाजमा लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले यसको न्यूनीकरणमा काम गर्दै आएपनि यसको प्रयोग झन् बढ्दो क्रममा रहेको छ ।
लागुपदार्थ के हो ?
मानिसको मस्तिकलाई प्रभावित पार्ने वा हाम्रो सोच्ने र सम्झने शक्तिलाई बिकृत तुल्याई बानी र ब्यवहारमा परिवर्तन ल्याइदिने कुनै पनि पदार्थलाई लागुपदार्थ भनिन्छ । माथिको परिभाषालाई हेर्ने हो भने कुनै यस्तो पदार्थ जसले हाम्रो मस्तिस्कलाई नै परिवर्तन गरिदिन्छ । सामान्य मान्छेले यो प्रयोग गर्दा असामान्य बन्छ । उसको सोच्ने तरिका र गर्ने व्यवहार असामान्य हुन्छ ।
लागुपदार्थको प्रयोग के हो ?
कुनै पनि आमाको कोखबाट जन्मदेखि लागुपदार्थको प्रयोग गर्छु भनेर यो संसारमा आएको हँुदैन । मानिसको उमेरसँगै उसको शारीरिक र मानसिक र भावनात्मक परिवर्तन भइरहेको हुन्छ । उमेर अनुसारको कौतुहलता र उत्सुकताको कारणले धेरै युवाहरु लागुपदार्थको दलदलमा फसेको पाइन्छ । कुनै उद्देश्य प्राप्तिको बाहानामा मान्छे लागुपदार्थको प्रयोगमा फसेको छ । तनाव, चिन्ता, असफलता, बिभिन्न समस्याहरु एवं यस्ता समस्याहरुबाट आफुलाई शारीरिक र मानसिकरुपमा मुक्त हुनका लागि गरिने नशाजन्य पदार्थको प्रयोग नै लागुपदार्थको प्रयोग हो । कुनै पनि व्यक्तिले दुव्र्यसनी बन्छु भनेर लागुपदार्थको प्रयोग गरेको हुँदैन । तर लागुपदार्थलाई निरन्तरता दिँदै जाँदा शारीरिक र मानसिकरुपमा उ लागुपदार्थमै निर्भर हुन पुग्छ ।
निर्भरता के हो ?
लागुपदार्थलाई निरन्तर प्रयोग गर्दै जाँदा शरिरमा एक प्रकारको सहने क्षमताको विकास हँुदै जान्छ । अर्थात् आज २ ग्राम लागुपदार्थमा लठिने मानिस तिन महिनापछि उसलाई त्यो मात्राले पुग्दैन । उसको शरीरले लागुपदार्थलाई पचाउन र सहन गर्न थालेको हुन्छ । यो अवस्थामा उ शारीरिक र मानसिकरुपमा लागुपदार्थमै निर्भर रहन्छ । जसको परिणामस्वरुप लागुपदार्थ विना उसको दैनिक जीवन सामान्य अवस्थामा व्यतित गर्न नसक्ने हुन्छ । यो अवस्था नै निर्भरताको अवस्था हो ।
लागुपदार्थ प्रयोगका कारण
लागुपदार्थ सेवन गर्नुको पछाडी सिमित कारण मात्र नभई धेरै कारणहरु हुन्छन् । अनुसन्धानले देखाए अनुसार ति कारणहरु निम्नानुसार छन् ।
(क) दौतरी दवाव : अधिकांश युवाहरु साथीको संगतका कारण लागुपदार्थमा फसेको देखिन्छ । साथीले गरेको आग्रहलाई नकार्न नसक्नु नकारात्मक कुराहरुप्रति पेरित हुनु र आफुलाई अरुभन्दा भिन्न देखाउन खोज्दा लागुपदार्थमा युवाहरु फसेको पाइन्छ ।
(ख) उत्सुकता र परिक्षण : उमेर अनुसार मानिसको व्यवहार र सोचाइमा परिवर्तन आउछ । उमेर अनुसार नयाँ कुराहरु परिक्षण गर्न मन लाग्नु । यो चिज कस्तो हुन्छ होला भनेर जिज्ञासा राख्ने र प्रयोग गर्ने आत्मविश्वास बढ्छ कि, रमाइलो हुन्छ कि, समस्या र पिडाबाट मुक्त भइन्छ कि भन्ने जस्ता सोच अनि कौतुहताको कारण युवाहरु लागुपदार्थमा फसेको पाइन्छ ।
(ग) पारिवारिक वातावरण : केही युवाहरु पारिवारिक वातावरणले पनि लागुपदार्थमा फसेको पाइन्छ । जस्तो परिवारमा असमझदारी, कलहको वातावरण, परिवारबाट एक्लो हुनु तथा परिवारका अन्य सदस्यले पनि लागुपदार्थको सेवन गर्नुजस्ता कारणहरुबाट पनि यसको दलदलमा फसेको पाईन्छ ।
वर्तमान अवस्था र समाधान
लागुपदार्थको वर्तमान स्थितिलाई हेर्ने हो भने विशेषगरी १४ देखि २४ बर्षको उमेर समुह नै लागू पदार्थको दलदलमा फसेको देखिन्छ । कास्की जिल्लाको २०६९ सालमा केन्द्रिय तथ्याङ्क विभागले सार्वजनीक गरेको डाटाअनुसार ६ हजार ९१७ रहेको देखाउँछ । जसमध्ये ५०३ जना महिला लागुपदार्थ प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । लागुपदार्थ न्यूनीकरण गर्नका लागी राज्यले मात्र सम्भव छैन । यसको लागि हेरक समुदाय संघसंस्था र हरेक ब्यक्ति आफै लाग्नुपर्छ । अनि मात्र हामी लागुपदार्थरहित सभ्य समाजको परिकल्पना गर्न सक्छौ । वर्तमान महत्वपूर्ण आवश्यकता भनेको लागुपदार्थको उत्पादन, ओसारप्रसार र यसको मागलाई घटाउनु हो । यसका लागि राज्य पक्षबाट विभिन्न खालका कार्यक्रमहरु ल्याउन जरुरी छ ।
राज्य पक्षबाट लागुपदार्थ उपचार केन्द्रको स्थापना गरिनुपर्छ । सँगसँगै लागुपदार्थ दुव्र्यसनीबाट मुक्त भएकाहरुलाई सम्मानपूर्वक समाजमा स्वागत गर्नुपर्छ । प्रयोगकर्ताले लागुपदार्थ छोडिसकेपछि उसले आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने भनेर उसँग कुनै आधारहरु हँुदैनन् । उनीहरुको लागि सीपमूलक तालिम ज्ञान रोजगारीको वातावरण सिर्जना गर्नु पनि आवश्यक छ । ज्ञान, सीप र रोजगारीको अभावमा लागुपदार्थ प्रयोग गर्न छोडेका युवाहरु पुनः लागुपदार्थमै फर्किएको नमिठो वास्तविकता हाम्रीसामु छ । जोखिममा रहेका समुदायलाई लागुपदार्थको प्रयोगसम्म पुग्न नदिनु लागुपदार्थको लतमा फसेको ब्यक्तिलाई उपचारको पहुँचसम्म पुर्याउनु र उसलाई ज्ञान, सीप र क्षमतासहित समाजमा पुनस्थापित गर्नु, राष्ट्र निर्माणमा अग्रसर गराउनु र लागू पदार्थको उत्पादन ओसारपसार तथा सञ्चय गर्नेलाई कानूनी दायरासम्म ल्याई कारबाही गर्नु अहिलेका प्रमूख आवश्यकताहरु हुन् ।
।