प्रदेश नं ६ मा अवस्थित सुर्खेत जिल्लाको पूर्वउत्तरमा पर्ने क्षेत्र नै सिम्ताक्षेत्र हो । यसलाई सिम्तादराको रुपमा पनि चिनिन्छ । यस क्षेत्रमा रहेका घोरेटा, काफलकोट, आग्रीगाउँ, वजेडीचौर, खानीखोला, डाँडाखाली, काप्रीचौर र राकम गाउँ विकास समितिहरु मिलेर सिम्ता वनेको छ । सिम्ताको आफ्नै प्रकारको परम्परा र ऐतिहासिकता रहेको छ । त्यसवेला यस सिम्तादरामा सात सय मौजा संख्या थियो जसका कारण यस दरालाई सातसय सिम्ता भन्ने प्रचलन थियो । वहादुर शाहको पालामा सिंजा राज्यवाट छुट्टिएर वनेका विभिन्न राज्यहरु वन्ने क्रममा तामा राज्य, काँडासिम्ता राज्य, चिङ्गाडदरा, गुर्वाकोटदरा, डाँडादराको रुपमा प्रशासनिक विभाजन गरिएको थियो । यस क्षेत्रमा राणाशासन कालमा सिम्तादरामा वडाहाकिम तथा गौडा दैलेखमा थियो भने अपिल तथा न्यायलय सल्यानमा थियो । यस सिम्तादरालाई एक महत्वपूर्ण प्रशासनीक ईकाइको रुपमा लिइन्थ्यो । काँडासिम्ता राज्यको सामरिक र सुरक्षाका हिसावले असुरक्षित भएका कारण लापु हालको आग्रीगाउँ र काफलकोटको सिमानामा रहेको वडालेखको राजकाँडामा राज्य सारिएको थियो । राजकाँडा दरवारको भगनावशेष अहिले पनि देख्न सकिन्छ ।
यस सिम्तादराको नामाकरणका सम्वन्धमा खास ठोस धारणा नभए पनि विभिन्न प्रकारका धारणा र किंवदन्तीहरु रहेका छन् । जसका आधारमा यस दराको नाम सिम्ता रहेको मानिन्छ । यस क्षेत्रमा विभिन्न वनस्पतिहरु मध्य सल्लो प्रसस्त मात्रामा पाइन्छ । सल्लोको फललाई सिम्टा भनिन्छ, सिम्टाको बियाँलाई सिम्ती वा सिम्ता भन्ने प्रचलन छ । यसरी प्रसस्त मात्रामा सिम्टा र सिम्ती वा सिम्ता पाउने भएको कारण यस दराको नाम सिम्तादरा रहेको र यसै दरालाई नै सिम्ता भन्ने गरिएको हो भन्ने पौराणीक भनाई छ । त्यसैगरी यस क्षेत्रमा प्रसस्त मात्रामा तामाखानी रहेका थिए । त्यसमा पनि खानीखोलाको काँडासिम्तामा तामाखानी थियो । जहाँ सिमतामा पाइन्थ्यो । तामाखानीका अवशेषहरु अहिले पनि देख्न सकिन्छ । यिनै तामाखानीबाट सिमतामा उत्खनन गर्ने र सो सिमतामालाई भारतको बलरामपुरमा लिएर विक्री गर्ने प्रचलन थियो । यस क्षेत्रमा प्रसस्त मात्रामा सिमतामा पाउने भएको कारण यस क्षेत्रलाई सिमतामा पाइने ठाउँको नामवाट अपभ्रंस भएर सिम्ता दाराको नाम रहेको पौराणीक भनाई रहेको पाइन्छ । सिम्ताको आफ्नै प्रकारको संस्कार संस्कृति रहन सहन, रितिरिवाज रहेको छ । गर्रा तथा मयूरनाच, ख्यालीनाच, सैरेलीनाच, झ्याल्लुकाटा (तरवार नाच), सिंगारु नाच, पञ्चेवाजा आदी सिम्ता क्षेत्रका साँस्कृतिक पहिचानहरु हुन् । यस क्षेत्रको आफ्नै प्रकारको भाषिका रहेको छ ।
सुर्खेत जिल्लामा विभाजन गरिएका चारवटा गाउपालिका र पाँचवटा नगरपालिहरु मध्ये सिम्ता गाउँपालिका एक महत्वपूर्ण गाउँपालिका हो । यस गाउँपालिकाको भौगोलिक अवस्था, जनसख्या, गरिवीको स्तरिकरण, शैक्षिक अवस्था आदि जस्ता अवस्थाहरुको विश्लेषण आवश्यक छ । जसले गर्दा समग्र विकासका लागि ठोस योजना निर्माण गरी अगाडी बढ्नका लागि सहयोग सिद्ध हुनसक्छ । सिम्ता गाउँपालिकामा जनसंख्या २५ हजार ८४५ छ भने क्षेत्रफल २४१.६३ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको लागि सामथ्र्य यो एक महत्वपूर्ण पक्ष हो । प्राविधिक समिति तथा तथ्यांक कार्यालयको तथ्यांकका आधारमा गाउँपालिका र नगरपालिकाहरुको सामथ्र्यको अवस्थालाई विश्लेषण गर्दा नेपालको गरिवीको लघुक्षेत्र अनुमान २०६८ अनुसार सिम्ता गाउँपालिकाको आर्थिक अवस्था तथा गरिवीको दर ३९.१% रहेको छ । यस गाउँपालिकाको वन क्षेत्र १९७८३.९ प्रतिशत रहेको छ । यस सिम्ता गाउँपालिकाको आर्थिक वर्ष २०७०/०७१ को आन्तरिक आय १०.९ प्रतिशत रहेको देखिन्छ । सिम्ता गाउँपालिकहरुको आन्तरिक आयको व्यापक वृद्धि र विकास गर्न अति आवस्यक रहेको छ सो अनुसारका दीर्घकालीन योजना निर्माण गरेर अगाडी वढन आवस्यक छ । त्यसै गरि वन तथा वातावरणको विकास तथा संरक्षण गर्न पनि आवस्य रहेको छ । गाउँपालिकाकको गरिवको दर उच्च रहेका कारण गरिवीको दरलाई घटाउन आवश्यक छ । यसका लागि सिम्ता गाउँपालिकामा व्यवसायीकरण, उद्यमशीलता, कृषिमा आधुनिकीकरण र रोजगारीका प्रयासमा व्यापक र वृहत रुपमा योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक छ ।
राज्यको पुनः संरचनाले आम नागरिकहरुका सवै प्रकारका अधिकारहरुको संरक्षण गर्नुका साथै वास्तविक सुशासनको प्रत्याभूती हुन आवस्यक छ । राज्यको पनः संरचनाले युगौदेखि रहेको शोषण दमन उत्पीडनमा रहेका विभिन्न वर्ग जात जाती, लिंग समुदायहरुको अर्थपूर्ण सहभागिता र समावेशी विकास गराउनु हो । शासन व्यवस्थामा सुदृढीकारण गर्ने राज्यको पहुँच सामथ्र्य र नियन्त्रणको प्रत्याभूति हुने गरी सेवा प्रवाह जरुरी छ । स्थानिय स्तरमा स्वशासन र स्वायत्तताको जिउँदो प्रत्याभूति गर्ने गरी प्रभावकारी अभ्यास जरुरी छ । नेपालको संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, केन्द्रीय बैंक, मुद्रा, वित्तीय प्रणाली, रेलमार्ग, हवाई उडान, प्रमुख राष्ट्रिय मार्गहरू, केन्द्रीय विश्वविद्यालय, मौलिक हकको संरक्षण, सर्वाेच्च अदालत, भन्सार राजस्व व्यवस्थापन, ठूला विद्युत आयोजनाहरुको निर्माण र परिचालन आदि जस्ता राष्ट्रिय सरोकारका सवालहरुमा केन्द्र सरकारको अधिकारमा रहने व्यवस्था गरिएको छ । स्थानीय तहका २२ वटा अधिकारहरुको व्यवस्था गरिएको छ ।
यसमा उल्लेख गरिएका स्थानिय तहका अधिकार अन्तर्गत नगर प्रहरी , सहकारी संस्था स्थापना र सञ्चालन, स्थानीय सञ्चारमाध्यमहरुको स्थापना र सञ्चालन, स्थानीय कर संकलन र परिचालन स्थानीय सेवाहरुको व्यवस्थापन, तथ्यांक तथा अभिलेखहरुको संकलन, स्थानीयस्तरका विकास आयोजनाहरु तथा परियोजनाहरु सञ्चालन तथा व्यवस्थापन गर्ने, आधारभूत र माध्यामिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाईको व्यवस्था गर्ने जस्ता अधिकारहरुको व्यवस्था गरिएको छ । स्थानीय वजार व्यवस्था, वातावरण संरक्षण र जैविक विविधता, सडक, सिंचाइको सुविधाको व्यवस्था गर्ने, स्थानीयस्तरमा गाउँसभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्था गरिएको छ । स्थानीय अभिलेख व्यवस्थापन र घर जग्गाधनी पूर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थपन, पशु स्वास्थ्य र सहकारीको व्यवस्थापन र परिचालनको अधिकारको व्यवस्था गरिएको छ । स्थानीय निकायमा रहेका नागरिकहरुको रोजगारीको ग्यारेन्टी गर्ने, स्थानीय तहका ज्येष्ठ नागरिक, अपांगता भएका र असक्त नागरिकहरुको कुशल व्यवस्थापन गर्ने, कृषि प्रसारको व्यवस्थपन, संचालन र नियन्त्रण गर्नु छ । त्यसैगरी खानेपानी, साना जलविद्युत आयोजनाहरुको निर्माण तथा वैकल्पिक उर्जा र विपद व्यवस्थापन, जलाधार, वन्यजन्तु संरक्षण, खानी तथा खनिज पदार्थको संरक्षण, भाषा संस्कृति र ललितकलाको संरक्षण र विकासको अधिकार जस्ता पक्षहरुको अधिकारहरुको व्यवस्था गरिएको छ ।
पर्यटन र विकास एक अर्काका पूरक विषयहरु हुन् । नेपालको समग्र विकासको मेरुदण्ड नै पर्यटन विकास हो । सिम्ता गाउँपालिकाको समग्र विकासको लागि पनि यहाँको पर्यटन विकास महत्वपूर्ण पक्ष हो । यहाँको समग्र विकासको लागि सम्भाव्य पर्यटकीय स्थलहरुको प्रवद्र्धन आवश्यक छ । यस क्षेत्रमा रहेका कोटको थुम्को, भोटेचुली, देउली, राजकाँडा दरवार, खानीपाखा गुफा, मस्तारा गुफा, मष्टा मन्दीर आदी रहेका छन् । यी पर्यटकीय क्षेत्रहरुको योजनावद्ध विकास आजको आवश्यकता हो । वर्तमान नेपालको संवैधानिक व्यवस्था भएकोले स्थानीय तहको पुनः संरचनाका सवालहरुमा यसका सवै सरोकारवाला निकायहरुले संवेदनशिल भएर स्थानीय तहहरुको दीर्घकालीन विकासको सोचका साथ सर्वपक्षिय सहभागिताका आधारमा वनाउन आवस्यक छ ।
सिम्ता गाउँपालिका सुर्खेतमा विभाजन गरिएका स्थानीय तहहरुको तुलनात्माक अध्ययन र विश्लेषण गर्दा आर्थिक अवस्था गरिवीको अवस्थाका हिसावले कमजोर गाउँपालिकाको रुपमा रहेको छ । यहाँको भौगोलिक अवस्थिति, सुख्खा जमिन, सिंचाई सुविधा कृषि, पशुपालन, व्यवसायीक खेती र उद्यमशीलताका हिसावले अत्यन्त पछाडी परेको छ । प्राकृतिक श्रोत साधनहरुको पहिचान, संकलन र सदुपयोगको लागि योजनावद्ध विकास आवश्यक छ । भौतिक पूर्वाधार विकास बाटोघाटो पुलपुलेसा, सडकको विकासमा पछाडी परेको छ । हालको जिल्ला सदरमुकामवाट दूरदरारमा रहेको कारण जिल्ला सरकारको आजसम्म खासै ध्यान जान सकेको छैन । यसलाई जिल्लाको छुट्टै प्रान्तको रुपमा व्यवहार गरिएको छ । स्थानीय तथा केन्द्र सरकारको तर्फवाट आजसम्म ध्यान जान सकेको छैन । सिम्ता क्षेत्र वर्तमानको जुन कहाली लाग्दो अवस्थामा रहेको छ, त्यसलाई मध्यनजर गर्दै आर्थिक समृद्धिका व्यापक योजना निर्माण गरी अगाडी बढ्न आवश्यक छ । सिम्ताको घोरेटादेखि राकमसम्म नागवेलीरुपमा अनवरतरुपमा भेरीको पानी बगिरहेको छ । यसलाई लिफ्ट सिंचाईको माध्यमवाट जमिनहरु सिंचित गर्न सकिने सम्भावना रहेको छ । राकम, आली र जुगै वगरका उर्भर जमिनमा व्यवसायीक खेतीको प्रारम्भ गरी आयआर्जनमा वृद्धि गर्न सकिने सम्भावना छ । सिम्ता गाउँपालिकाका सवै बडाहरुका पहाडी भूभागहरुमा तरकारी र फलफूलका पकेट क्षेत्र घोषणा गरेर अगाडी बढ्न सकिने प्रशस्तै सम्भावनाहरु छन् । यो क्षेत्र पशुपालनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र हो ।
यहाँ व्यवसायीक पशुपालन गरी नागरिकहरुको जिवनस्तर उकास्न सकिने देखिन्छ । त्यस्तै यस गाउँपालिकामा जडिबुटीको पनि प्रसस्त सम्भावना रहेको छ । यहाँ टिमुर, अलमोन्ड, अलैची, अदुवा, वेसार, सुन्तला, कागति वदाम, सखरखण्ड आदी खेतीबाट पनि प्रशस्त आम्दानी लिन सकिने सम्भावना रहेको छ । यस गाउँपालिकामा तामा, फलाम, फलाम र खरीखानीका प्रशस्त खानीहरु रहेका छन् । यी खानीहरुको अवस्था विश्लेषण गरी स्थानीय तहवाट नै संस्थागत योजना निर्माण गरेर अगाडी बढ्न सकेमा यहाँको आर्थिक अवस्थामा आमूल परिवर्तन गर्न सकिने देखिन्छ । भौगालिक विकटतावाट यहाका नगरिकहरुको दैनिक जनजीवन सञ्चालनमा अप्ठ्यारो भएको अवस्था छ । यस गाउँपालिकाको काफलकोट, आग्रीगाउँ र खानीखोलाका सविकका गाउँविकास समितिमा अहिले पनि सहजरुपमा सडक सञ्जालको पहँुचमा विकास हुन सकिरहेको छैन । गाउँपालिकाका सवै वडा र टोलहरुमा सहज सडक सञ्जालको यथासिघ्र विकास गर्नुपर्नेछ । अर्को कुरा गाउँपालिका लागि आवश्यक पर्ने सवै प्रकारका कार्यालयहरुको लागि न त जमिनको पर्याप्तता छ न त पूर्वाधार नै रहेको छ । यसका लागि तदारुकताका साथ संस्थागत योजना निर्माण गरी अगाडी बढ्नुपर्ने छ । यहाँका शैक्षिक अवस्थाको सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका स्तरीय योजना निर्माण गर्नुपर्नेछ ।
एक ईलाका र केही स्वास्थ्य चौकीवाट स्वास्थ्य सेवा प्रवाह गरिएको छ । जुन पर्याप्त औषधी र आवश्यक संख्यामा कर्मचारी र योग्यतम डाक्टरहरुको सुविधा हुन सकिरहेको छैन । सुविधा सम्पन्न अस्पतालको स्थापना गरी उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने वाध्यतामा रहेका सिम्ताली जनताहरुको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिनुपर्नेछ । यहा भर्खरै मात्र स्थापना गरिएको सिम्ता वहुमुखी क्याम्पसलाई प्राविधिक शिक्षा प्रदान गर्ने सुविधा सम्पन्न क्याम्पसको रुपमा विकास गर्नुपर्नेछ । गाउँपालिकाका सम्भावनाहरुको सहज प्राप्तिका लागि आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हामी सवै जनप्रतिनिधिहरुले व्यक्तिगत स्वार्थभन्दा सामाजिक स्वार्थका आधारमा अगाडी बढ्नुपर्ने छ । जसका कारण समृद्ध सिम्ता र सुखी सिम्तालीको परिकल्पना सफल वनाउन सकिने देखिन्छ । यसका लागि सबै जनप्रतिनिधिहरुलाई त्याग र समर्पण भावका साथ जनताको सेवामा समर्पित भएर जनताको सेवक तथा नोकरको रुपमा आफूलाई प्रस्तुत गर्नैपर्ने छ । सुर्खेत जिल्लाको गरिव गाउँपालिकाको रुपमा रहेको सिम्ता गाउँपालिकालाई आगामी १० वर्षपछि सबैभन्दा सम्पन्न गाउँपालिकाको रुपमा रुपान्तरण गर्न सबै जनप्रतिनिधिहरु र सिम्तामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु योजनावद्ध विकासको अभियानमा सहकार्य, सहमति र हातेमालो गरी अगाडी बढ्नका लागि एकजुट हुनुपर्छ ।
सिम्ता गाउँपालिकाका आमजनताहरु अहिले पनि अध्यारोमा जिवन विताउनु पर्ने बाध्यता कायमै छ । यहाँका जनताहरु दियालो, टुक्कीको भरमा जिवन गुजारिरहेका छन् । सुख, शान्ति र अमनचयनका साथ जीवन जिउन पाउनु सवैको नैसर्गिक अधिकार हो । सिम्ताली जनताहरुलाई सहजरुपमा जीवन जिउनका लागि आगामी ५ वर्षभित्र सिम्ता गाउँपालिकामा सिम्ता उज्यालो कार्यक्रममार्फत सवै वडाहरुमा विद्युतीकरण गरिनेछ । त्यसैगरी यातायात मानव विकास र सामाजिक समृद्धिको एक महत्वपूर्ण पक्ष हो । सिम्ता गाउँपालिकाका कतिपय वडाहरुका केन्द्रमा अहिले पनि सहज यातायातको सुविधा पुगेको छैन । तसर्थ यहाँका नागरिकहरुलाई जिवनयापन गर्न, आवतजावत गर्न र सामाजिक समृद्धिको बाटोमा अगाडी बढ्न अझै थुप्रै समस्याहरु विद्यमान छन् । समृद्ध सिम्ता र सुखी सिम्तालीका सपना सफलीभूत बनाउनका लागि यस अवधिमा सिम्ता गाउँपालिकाका सवै वडाहरुमा सुविधा सम्पन्न सडकहरुको विस्तार गरिनेछ । त्यसैगरी सिम्ता गाउँपालिकाको समृद्धिका लागि यहाँको अर्थिक विकास, सामाजिक तथा साँस्कृतिक विकास, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र संस्थागत विकासका लागि तदारुक्ताका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता हो । (लेखक सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका अध्यक्ष हुन् ।)
Design : Aarush Creation
।