बाँके । नेपालगन्जको सिग्नेट होटलमा शनिबार राति भएको बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले सीता एयरका क्षेत्रीय प्रबन्धकलाई पक्राउ गरेको छ । नेपालगन्जस्थित सीता एयरको कार्यालयका प्रमुख मनोज भारतीलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार राति होटलको ३०५ नम्बर कोठामा १९ वर्षीय युवतीको बलात्कार भएको थियो । बलत्कारमा संलग्न निरज गुरुङ होटलबाटै पक्राउ परिसकेका छन् । घटनामा गुरुङलाई सघाएको आरोपमा भारतीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्रप्रसाद अर्यालले बताए । दुवै जनालाई प्रहरीले जर्बजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरिसकेको छ ।
बलात्कारको क्रममा युवतीमाथि कुटपिट र हत्या प्रयाससमेत भएको थियो । बलात्कार गरिसकेपछि कसैलाई खबर गरे हत्या गरिदिने भन्दै गिलास फुटाएर काटिदिने धम्की गुरुङले दिएको युवतीको जाहेरीमा उल्लेख छ । पछि युवतीले बाथरुममा गएर प्रहरीलाई फोन गरेकी थिइन् । ‘युवतीले फोन गरेपछि बिहान २ बजे होटलमा गएर हामीले युवतीको उद्धार गरेका हौं,’ डिएसपी अर्यालले भने ।
युवतीसँग भारतीको पहिलेदेखि नै चिनजान थियो । विगतमा उनी पटक पटक भारतीलाई भेट्न होटल आउने गरेका होटलका कर्मचारीहरुले बताएका छन् । गुरुङ र भारत अंग्रेजी नयाँ वर्ष सेलिब्रेसन गर्ने भनेर उक्त होटलमा बसेका थिए । गुरुङलाई युवतीसँग राखेर भारती भने सोही होटलाको अर्काे कोठामा बसेका थिए ।
।