सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा चारतारे होटल ‘सोल्टी’ सञ्चालनमा


बाँके । नेपालको पुरानो पाँच तारे होटल सोल्टीको ब्रान्डमा पहिलोपटक काठमाडौं बाहिर चारतारे होटल सञ्चालनमा आएको छ । काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा चारतारे होटल सञ्चालनमा आएको हो ।
‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को नामबाट सञ्चालित उक्त होटलको स्वामित्व सोल्टी इन्टरप्राइजेज र एनई ग्रुपको संयुक्त कम्पनी सिवक्रिम होटल एन्ड रिसोर्ट प्रालिमा हुनेछ । सन् २०१४ देखि निर्माण सुरु भएको उक्त होटल निर्माणको काम सबै सम्पन्न भएको र सन् २०१८ को जनवरी १ देखि ग्राहकलाई स्वागत गरिने सिवक्रिम होटल एन्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत साम्बा शाहले जानकारी दिए ।
नेपाली कम्पनी हिमालयन बिल्डर्सले होटलको भौतिक निर्माणको काम गरेको र विभिन्न प्रकोपका बीच पनि २६ महिनामै पुरा गरेको होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए । नयाँ वर्षमा बलिउड कलाकारहरुको सहभागितामा कन्सर्ट आयोजना गरिएको र उक्त कार्यक्रमपछि होटल औपचारिक रूपमा सञ्चालन हुने शाहले जानकारी दिए ।
‘होटल सञ्चालनमा त आइसक्यो २० डिसेम्बरदेखि बुकिङ लिन सुरु गरिसकेका छौं, तर गेष्टहरु भने नयाँ वर्षपछि मात्र आउँछन्’, शाहले भने, ‘नयाँ वर्षमा बम्बईबाट गायक र दिल्लीबाट डान्सर बोलाएका छौं त्यसपछि गेष्ट आउँछन् ।’ उक्त पार्टीमा इन्डियन आइडलसहितका भारतीय कलाकारसमेत नेपालगन्ज आउने उनले बताए । सोल्टी होटल लिमिटेडमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि लगानी रहेको छ ।


२० डिसेम्बरदेखि बुकिङ खुल्ला गरेको होटलले अहिले भने ५० कोठामात्र बिक्रीमा राखेको छ । ८४ कोठा भएकोमा स्वीट रूमलाई घटाउँदा ८१ व्यवसायिक कोठा भएको होटलले बाँकी कोठा भने सन् २०१८ को मार्चबाट सुरु गर्ने प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । वातावरणीय अनुकुल हुनेगरी निर्माण गरिएको र क्लासिक डिजाइको साजसज्जासहित नेपाली ब्रान्ड र सोल्टीको आफ्नै व्यवस्थापनमा सञ्चालन हुनेछ । यसमा सोल्टी क्राउन प्लाजाको कुनै पनि सहभागिता हुनेछैन ।
तर गुणस्तरमा भने सोल्टीले कुनै सम्झौता नगर्ने खड्काको भनाइ छ । ‘नेपालगन्जको सोल्टीमा हाम्रो आफ्नै व्यवस्थापन हो, तर सोल्टीको लामो समयदेखिको अनुभव तथा प्रविधिको कारणले सबै गुणस्तर पुरा हुन्छ सोल्टीकै अर्को कम्पनी सिवक्रिम भएकोले सक्षम व्यस्थापन यसमा प्रयोग हुन्छ’, उनले भने । खड्काका अनुसार होटलका कोठामा एसीको ठाउँमा रेडियन्ड प्रविधि प्रयोग गरिएको छ । जसमा सिलिङमा मसिना पाइप टासिएको हुन्छ जुन एउटा प्रणालीमा आबद्ध हुन्छ । जाडो महिनामा उक्त पाइपको सञ्जालबाट तातो पानी प्रवाह हुन्छ भने गर्मीमा चिसो पानी ।
होटल सञ्चालनको सुरूमै १५० जना बढीले रोजगारी पाउने खड्काले जानकारी दिए । अन्तर्राष्ट्रिय होटल चेन ओवरायको ६.१८ प्रतिशत सेयर किन्दै एनई ग्रुप सोल्टीमा प्रवेश गरेको थियो । सिवक्रिम ल्यान्डएन्ड इन्ड्रष्ट्रियल प्रालिको नामबाट सोल्टीको सेयर लिएपछि नयाँ कम्पनी बनाएर देशव्यापी सोल्टीकै नामबाट होटल निर्माण गर्ने लक्ष्य लिएको छ । सोल्टीको ४६ र सिवक्रिमको ३० प्रतिशत शेयर रहने सिवक्रिम होटल एन्ड रिसोर्ट प्रालिले पोखरामा जग्गा लिइसकेको र यही आर्थिक वर्षभित्र निर्माणको काम सुरु हुने सिइओ शाहले जानकारी दिए । वि.स. २०२२ मा तत्कालिन युवराज हिमालय शाहले सोल्टी होटल स्थापना गरेका थिए ।

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार ०७:३३