सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा घरेलु हिंसा बढ्दै, ८० प्रतिशत घरभित्रबाटै


सुर्खेत । सुर्खेतमा वर्षेनी लैंगिक तथा घरेलु हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा हुने कूल हिंसामध्ये ८० प्रतिशतभन्दा बढी घरभित्रबाटै हुने गरेको त्यस क्षेत्रमा कार्यरत संघसंस्थाले जनाएका छन् । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत आवाज संस्थाले सन् २०१७ मा कूल २६४ हिंसा जिल्लामा भएको तथ्यांक सार्वजनिक गरेको छ ।
जसमध्ये ८० प्रशितभन्दा बढी (२ सय बढी) घटना घरभित्रै भएको जनाइएको छ । संस्थाका अध्यक्ष इरादा गौतम पराजुलीले कूल २६४ हिंसाका घटनामध्ये २ सय बढी घरभित्रकै भएको बताइन् । यसवर्ष बलात्कार ७, यौनजन्य व्यवहार ४, बेचविखन १, शारीरिक दुव्र्यवहार ६३, मनोबैज्ञानिक दुव्र्यवहार ११८, बहुविवाह २६, सम्वन्धविच्छेद २१, बालविवाह ७, बोक्सीको आरोप २ र बालबालिका हराउने ३ वटा घटना भएको संस्थाले उल्लेख गरेको छ ।
बलात्कार, यौनजन्य व्यवहार, बेचबिखन, शारीरिक दुव्र्यवहार, मनोबैज्ञानिक दुव्र्यवहार, बहुविवाह, सम्वन्ध विच्छेदजस्ता घटनाहरु घरभित्र नै भएको पाइएको अध्यक्ष गौतमले बताइन् । यौनजन्य हिंसा घरभित्र नै भइरहेको भन्दै उनले महिला तथा बालबालिकाहरु घरभित्रै असुरक्षित भएको उल्लेख गरिन् । उनले भनिन्, ‘लैंगिक तथा घरेलु हिंसाको घटनाको तथ्यांकले घरबाहिर भन्दा घरभित्र नै बढी हुने गरेको र महिला तथा बालबालिकाहरु घरभित्र पनि असुरक्षित भएको देखाउँछ ।
यसैगरी पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइलजस्ता घटनाले पनि हिंसा बढाइरहेको छ । मोबाइल तथा सामाजिक सञ्जालमा विशेषगरी शिक्षित र पढेलेखेकाबाट हिंसा बढी हुने गरेको पाइएको संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले बताइन् । अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा पनि लैगिक तथा घरेलु हिंसाको घटना यही अनुपातमा थियो । गतवर्ष कूल २४९ वटा हिंसाका घटना भएका थिए ।
गतवर्ष बलात्कार ८, यौनजन्य दुव्र्यवहार ३, शारीरिक दुव्र्यवहार ५६, मनोबैज्ञानिक दुव्र्यवहार ११२, बहुविवाह २२, सम्वन्धविच्छेद २०, बोक्सीको आरोपमा यातना ३ वटा घटना भएका थिए । आवाजले यसवर्ष ७१६ जनालाई सेवा पनि दिएको छ । जसमा सामान्य सोधपुछमा ३ हजार ४२१, मनोविमर्श सेवामा १६४, मुद्दा दर्तामा १५, आपतकालीन आवासमा १०८ जना, पुनस्र्थापना ७५ जनालाई सेवा दिइएको अध्यक्ष गौतमले जानकारी दिइन् । समाजमा शान्ति छाओस्, समुन्नत घर समाज बनाउन आफूहरुको सक्रियता जारी रहने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार ०७:३०