सूचनाको शक्ति - The Power Of Information

        

१६ वर्षमा ६१९ महिलाको उद्धार, अझै चार हजार भेटिएनन्

बाँके । नेपालगन्जस्थित माइती नेपाल क्षेत्रीय कार्यालयमा चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्नाले चेलीबेटी बेचबिखनका विषयलाई न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले चेलीबेटी खोजी दिन संस्थामा निवेदन दिएका छन् । यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ ।
निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात छ । संस्थाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार, हराएकामध्ये अधिकांशको उद्धार भारतका विभिन्न शहरबाट गरिएको छ । नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ । नेपालका विभिन्न शहरबाट दलालले राम्रो रोजगार दिने भनेर नेपाली चेलीलाई भारत र खाडी मुलुक पुर्याउने गरेका छन् ।
चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको जनाइएको छ । माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, १६ वर्षको अवधिमा उद्धार गरिएकामध्ये १७२ जनालाई सीपमूलक तालीम दिएर रोजगारमा संलग्न गराइएको छ । ‘चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले वर्षेनी विकराल रुप लिँदै गएको छ,’ संयोजक कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार ०६:४५