सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ : प्रदेशसभामा कर्णाली क्षेत्रकै प्रतिनिधित्व कमजोर

विनोद शाही । सुर्खेत । डोल्पाकी बदमी बोहोरा नेकपा एमालेले प्रदेश ६ को प्रदेशसभाका लागि समानुपातिकतर्फ सिफारिस गरेका ६ जनामध्ये कर्णालीबाट प्रतिनिधित्व गर्ने एक्ली सांसद हुन् । सुर्खेत जिल्लाबाट दुई जना सांसद सिफारिसमा पर्दा कर्णालीका पाँच जिल्लाबाट भने एक जनाको मात्र प्रतिनिधित्व एमालेले गराएको छ ।
त्यस्तै, नेपाली कांग्रेसले सिफारिस गरेका ५ मध्ये २ जना कर्णाली क्षेत्रबाट परे भने माओवादी केन्द्रका ४ जनाभित्र कर्णालीका उम्मेदवार छनौटमै परेनन् । जबकि माओवादीले पनि एमालेले जस्तै सुर्खेतबाट मात्रै दुई जना सांसद सिफारिस गरेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलले कर्णाली प्रदेश भनेर चिनिने प्रदेश ६ मा प्राथमिकता नदिँदा समानुपातिकमा कर्णालीको प्रतिनिधित्व कमजोर भएको हो ।
दलहरुले कर्णालीलाई फेरि पनि उपेक्षा गरेको गुनासो कर्णालीका प्रतिनिधिहरुले गर्न थालेका छन् । एमालेबाट समानुपातिकमा परेकी डोल्पाकी बदमी बोहोराले प्रदेश ६ को ठूलो भूभाग नै कर्णालीले ओगटेको भए पनि समानुपातिकमा सांसद सिफारिस गर्दा कर्णाली नै पछाडि पर्नु दुखद् भएको बताइन् । सधैं पछाडि पार्ने गरिएको कर्णालीलाई अहिले पनि प्रमुख दलहरुले उपेक्षा गरेको उनको आरोप छ ।
प्रदेश ६ का १० मध्ये ५ जिल्ला कर्णालीका छन् । एमालेले प्रदेशसभामा समानुपातिकतर्फ कर्णालीबाट डोल्पाकी बोहोरालाई सांसद बनाएको छ भने कांग्रेसले जुम्लाका दीनबन्धु श्रेष्ठ र मुगुकी झोवा विकलाई सिफारिस गरेको छ । एमाले र माओवादीले जस्तै कांग्रेसले पनि सुर्खेतबाट मात्रै दुई जनालाई समानुपातिक कोटाबाटै सांसद बनाएको छ । कर्णाली क्षेत्रलाई आफ्नो आधार क्षेत्रको दाबी गर्दै आएको माओवादी केन्द्रले भने प्रदेशसभामा समानुपातिकबाट एक जना पनि सांसद बनाएन ।
माओवादीले पाएको ४ सिटमा सुर्खेतका सीता नेपाली, पुष्पा घर्ती (विष्ट) सहित पश्चिम रुकुमका विमला केसी र जाजरकोटका कृष्णा शाहलाई सांसद सिफारिस गरेको छ । प्रदेशसभामा १ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कालीकोटकी शोसिला शाहीलाई सांसद बनाएको छ । समानुपातिकका १६ सांसदमध्ये कर्णालीबाट ४ जनाको मात्रै प्रतिनिधित्व भएको छ । बाँकी १२ जना भने कर्णालीबाहेकका जिल्लाका छन् ।

प्रत्यक्षमा पनि कम
समानुपातिकमा मात्र होइन प्रत्यक्षतर्फबाट पनि प्रदेशसभामा कर्णालीको उपस्थिति केही कम छ । कर्णालीमा पर्ने पाँच जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा प्रदेशसभाका लागि २र२ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो । जसले गर्दा पाँच जिल्लाबाट १० जना सांसद प्रत्यक्षतर्फबाट प्रदेशसभामा निर्वाचित भएका छन् ।
यो प्रदेशमा पर्ने कर्णालीबाहेकका पाँच जिल्लामध्ये सुर्खेत र दैलेखमा भने प्रदेशसभाका लागि ४/४ वटा निर्वाचन क्षेत्र र अन्य जाजरकोट, पश्चिम रुकुम र सल्यानमा २/२ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जसबाट १४ जना सांसद निर्वाचित भएका छन् । ४० सदस्यीय प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकबाट गरी कर्णालीका १४ जना सांसदको मात्रै प्रतिनिधित्व हुने भएको छ ।

यी हुन् समानुपातिकमा परेका सांसदहरु
एमालेका सांसद : मीनासिंह रखाल (दैलेख), कौशिला खत्री (जाजरकोट), बदमी बोहोरा (डोल्पा), पद्मा खड्का (सुर्खेत), देवी ओली (पश्चिम रुकुम) र राजु नेपाली (सुर्खेत)
कांग्रेसका सांसद : दीनबन्धु श्रेष्ठ (जुम्ला), हिमबहादुर शाही (दैलेख), यज्ञबहादुर बिसी (सुर्खेत), अमृता शाही (सुर्खेत) र झोवा विक (मुगु)
माओवादी केन्द्रका सांसद : पुष्पा घर्ती विष्ट (सुर्खेत), सीताकुमारी नेपाली (सुर्खेत), विमला केसी (पश्चिम रुकुम) र कृष्णा शाह (जाजरकोट)
राप्रपाका सांसद : सोशिलाकुमारी शाही (कालीकोट)

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार ०४:४२