सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित क्षेत्र खोज्दै दाहाल

काठमाडौं । चितवन क्षेत्र नं ३ बाट संघीय संसदको आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल उक्त क्षेत्रमा चुनाव जित्नेमा आश्वस्त हुन नसकेपछि अर्काे सुरक्षित क्षेत्रको खोजीमा लागेका छन् । भरतपुर महानगरपालिका कार्यपालिकाको चुनावमा एमालेले बहुमत प्राप्त गरेपछि दाहाल सो क्षेत्रमा कांग्रेससँग गठबन्धन गर्दा पनि जित हासिल गर्न सकिनेमा आश्वस्त हुन सकेका छैनन् । कांग्रेससँग गठबन्धन गरी मतपत्र च्यातेर चुनाव दोहोर्याउँदै दाहालले पुत्री रेणुलाई भरतपुरको मेयर बनाउन सफल भएका थिए । आफू प्रधानमन्त्री भएका बेला सत्ता र राज्यका अंगहरुको दुरुपयोगमार्फत छोरीलाई मेयर बनाउन सफल भए पनि भरतपुर महानगरमा माओवादीले ३ वडाअध्यक्ष र ५ वडा सदस्य मात्रै जितेको छ ।
कार्यपालिकाको चुनावमा कांग्रेसबाट निर्वांचित प्रतिनिधिहरुले माओवादीलाई भरतपुर सुम्पिएको प्रति मौन विद्रोह गरेपछि दाहाल त्यहाँबाट चुनाव उठ्ने घोषणाबाट पछि हट्ने सम्भावना देखिएको हो । यसअघि ५ निर्वाचन क्षेत्र रहेको चितवनमा हाल ३ वटा मात्रै निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले चुनाव जितेको क्षेत्र नं ४ भरतपुर महानगरपालिकामा पर्छ । सोही ठाउँबाट आफू चुनाव लड्न दाहालले भरतपुरको मेयरमा कांग्रेससँग गठबन्धन गरी छोरीलाई मेयर बनाएका थिए । तर, चितवनमा पछिल्लो पटक कायम भएका ३ क्षेत्रमध्ये कांग्रेसले सुरक्षित मानेको क्षेत्र नं ३ मै दाहाललाई समर्थन गर्नुपर्ने भएपछि त्यसप्रति कांग्रेस कार्यकर्ता विद्रोहमा उत्रेका छन् ।
कोइरालाले छोडेपछि भएको चितवन ४ को उपनिर्वाचनमा कांग्रेसका रामकृष्ण घिमिरेले सो क्षेत्रबाट चुनाव जितेका थिए । स्थानीय निर्वाचनमा एकपटक हंसिया हथौडामा भोट हाल्नु परे पनि फेरि अर्काे चुनावमा दाहाललाई समर्थन गरी चितवनमा कांग्रेसको साख गिराउने पक्षमा घिमिरे छैनन् । उनले पटक पटक माओवादीलाई भोट हाल्न नसकिने वताउँदै आएका छन् । भरतपुर महानगरपालिकाको कार्यपालिका चुनावमा एमालेले ६ र कांग्रेसले २ सिट जितेको छ । माओवादीले एक सिट पनि जित्न सकेन । तीन वटा वडाअध्यक्ष र ५ वडा सदस्य जितेको ठाउँमा संघीय सदंसदको सदस्यका लागि चुनाव लड्दा दाहालले माओवादीको मतले मात्रै जित्न सक्ने अवस्था छैन । त्यसैले उनले आगामी चुनावमा आफू जसरी पनि संसदमा पुग्न कांग्रेसको सहायता लिन खोजेका हुन् । तर, चितवन ३ मा दाहाललाई समर्थन गरे जिल्लाभर आफूले एक सिट पनि नजित्ने आँकलनपछि कांग्रेसका जिल्ला तहका नेताले दाहाललाई समर्थन गर्न नसकिने वताइरहेका छन् । त्यसैले दाहालले चितवनमा आफ्नो उम्मेदवारीका विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । ‘भरतपुर कार्यपालिकाको चुनावको नतिजा किन एमालेको पक्षमा आयो ?’ दाहालले देउवासँग प्रश्न गरे, ‘भोलिको चुनावमा पनि यस्तै भयो भने त चितवनबाट मेरो उम्मेदवारीका विषयमा पनि सोच्नु पर्ने हुन्छ ।’ देउवाले चितवनमा पार्टीका कार्यकर्ताहरुसँग बुझेर भरतपुर कार्यपालिकाको परिणामबारे वताउने आश्वासन दाहाललाई दिएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७४, बिहीबार ०४:३०