सूचनाको शक्ति - The Power Of Information

        

पूर्वसभाषद पहाडीलाई मानव मर्यादा पुरस्कार


काठमाडौं । दलित मुक्ति आन्दोलनमा योगदान पुर्याएको भन्दै पूर्वसभाषद एंव दलित अधिकारकर्मी विनोद पहाडी सम्मानित भएका छन् । २०४४ सालदेखि निरन्तर जातीय विभेद छुवाछुत र सामाजिक रुपान्तरणमा योगदान पुर्याएवापत पहाडीलाई टीकाराम पार्की मानव मर्यादा पुरस्कार २०७४ बाट सम्मान गरिएको हो ।
राष्ट्रिय दलित नेटवर्कले बुधबार काठमाडौंमा आयोजना गरेको दलित संसद कार्यक्रमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पहाडीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पहाडीले २०४४ सालदेखि बुटवलबाट विद्यमान जातीय छुवाछुत र सामाजिक न्यायका निम्ति पत्रकारिता, नागरिक अगुवा हुँदै संसदबाट समेत संघर्ष गरेका थिए ।
सम्मान कार्यक्रमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले जीवनको उर्जा्शिल समय समानता, मानव अधिकार र विभेदविरुद्धको अभियानमा बिताएको व्यक्तिलाई सम्मान गर्न पाएकोमा गर्व लागेको बताए । सम्मानपछि बोल्दै पूर्व सभाषद एंव दलित अगुवा पहाडीले विभेद विरुद्धको लडाईँ जारी रहेकाले अब यसको समुल अन्त्यका लागि सबैको हातेमालो जरुरी रहेको बताए ।
उनले सम्मानले थप जिम्मेवारी सुम्पेको समेत बताए । रेडियो जागरण बुटवलका अध्यक्ष, तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष पहाडीले बुटवलबाटै सामाजिक रुपान्तरण र विभेद विरुद्धको संघर्षमा होमिएका व्यक्ति हुन् । २०६० सालदेखि मानव अधिकार, सामाजिक न्यायका क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई सम्मान गरिने नेटवर्कका अध्यक्ष गणेश विकेले बताए ।

प्रकाशित मिति : १३ पुष २०७४, बिहीबार १०:५२