सूचनाको शक्ति - The Power Of Information

        

आठौं खेलकुद प्रतियोगितालाई उत्कृष्ट बनाउन आह्वान


बाँके । नेपालगन्जमा आगामी २०७५ साल मंसिरमा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई उत्कृष्ट बनाउन विभिन्न खेल विधाका प्रमुखहरुले आव्हान गरेका छन् । बाँके र दाङमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल संचालन हुने भएकाले पूर्वाधार निर्माण लगायतका तयारीसमेत अगाडि बढेको उनीहरुले बताएका छन् ।
बाँके जिल्ला फुटवल संघको जिल्ला अधिवेशनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले २०७४ मा संचालन हुने सबै खेल प्रतियोगिता राष्ट्रिय प्रतियोगिता तयारीका रुपमा अगाडि बढ्ने बताए । उनले सबै खेल क्षेत्रका प्रमुख, खेलाडी, खेलप्रेमीहरु प्रतियोगितालाई सम्पन्न गर्ने दिशामा अगाडि बढ्नु पर्ने बताउँदै खेल क्षेत्रको चिन्ता चासो र विकास खेलाडी र खेलाडीका अगुवाले गर्नुपर्ने जोड दिए ।
उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि खेल विधाका प्रमुख तथा पदाधिकारीलाई ठूलो जिम्मेवारी हुने औल्याए । उनले खेलकुदलाई अब व्यवसायिकतातर्फ उन्मुख गराउनु पर्ने उल्लेख गर्दै खेल गतिविधिसंगै खेलका पूर्वाधार पनि तयार हुँदै जाने बताए । एन्फाका केन्द्रीय सदस्य गणेश चन्दले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा विशेष प्याकेज ल्याएको बताए ।
कार्यक्रममा मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष गोर्वधन सिंह सम्झना, केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, पत्रकार निरज गौतम, जयनारायण शाहलगायतले खेलकुद विकासमा स्थानीय सहयोग र उत्साह आवश्यक रहेको बताए । अधिवेशनले पुनः भोजराज शाहीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । अधिवेशनले पुनः भोजराज शाहीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार १०:५७