सूचनाको शक्ति - The Power Of Information

        

चीनले बनायो विश्वकै ठूलो उभयचर विमान

अग्नि नियन्त्रण, सामुद्रिक उद्धार र सैन्य कार्यका लागि उपयोगी एजी ६०० विमान

अग्नि नियन्त्रण, सामुद्रिक उद्धार र सैन्य कार्यका लागि उपयोगी एजी ६०० विमान


सिन्ह्वा । बेइजिङ्ग । चीनमा जमिन र पानी दुवै स्थानबाट उडान भर्नसक्ने ठूलो उभयचर विमानको पहिलो परीक्षण उडान सफल भएको छ । कुनलोङ नाम दिइएको यो एजी ६०० विमान चीन आफैँले बनाएको हो । दक्षिणी प्रान्त गुवाङडोङको जुहाइ सहरबाट आइतबार बिहान ९ः३९ बजे पहिलो पटक उडेको सो विमान करिब एक घण्टाको उडानपछि अवतरण गरेको थियो ।
परीक्षण उडानको सरकारी सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । विमान अवतरण गर्दै गर्दा सैन्य धुनका साथ झण्डा हल्लाएर स्वागत गरिएको थियो । झण्डै बोइङ ७३७ जत्रै आकारको यो विमानमा चार टर्बोप्रप इन्जिन राखिएको छ । ३९.६ मिटर लामो यो विमानको दुवै पखेटाको लम्बाइ भने ३८.८ मिटर छ । सरकारी स्वामित्वको एभियसन इन्डस्ट्री कर्पोरेसन अफ चाइनाले निर्माण गरेको यो विमान करिब १२ घण्टासम्म लगातार उड्न सक्छ ।


यो विमानले ५० जना मानिस बोक्न सक्छ भने ५३.५ टन तौल उठाउन सक्छ । तत्कालका लागि यो विमानलाई अग्निनियन्त्रण तथा सामुद्रिक उद्दारमा प्रयोग गरिने जनाइएको छ । तर यसको सैन्य उपयोगिता पनि निकै फराकिलो छ । खासगरी दक्षिण चीन सागरमा यो विमान चीनका लागि निकै उपयोगी हुने अनुमान गरिएको छ । यो विमान दक्षिण दिशामा चीनले दाबी गरेको जुनसुकै स्थानमा पनि पुग्न सक्छ ।


त्यसबाहेक अत्यन्त कमजोर धावनमार्ग भएको जमिनमा पनि यसलाई अवतरण गर्न सकिन्छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले यसलाई ‘समुद्र, टापु र चट्टानको रक्षक’ भनेको छ । यसले तीव्र गतिमा आधुनिकीकरण भइरहेको चिनियाँ जनमुक्ति सेनाको शक्ति अझ बढाउने विश्वास गरिएको छ । यससँगै ठूला उभयचर विमान बनाउन सक्ने केही देशहरुको सूचीमा चीन पनि परेको छ । यो विमान बनाउन करिब ८ वर्ष लागेको थियो ।


अहिलेसम्म यस्ता १७ ओटा विमानका लागि चीनभित्रैबाट माग आइसकेको छ । यद्यपि यो विमान अमेरिकी अर्बपति हावर्ड ह्युजको विमानभन्दा आकारमा सानो हो । उनको स्प्रस गुज नाम दिइएको एच–४ हर्कुलस विमानको पखेटाको लम्बाइ ९७.४५ मिटर थियो । तर त्यो विमानले सन् १९४७ मा मात्र एक पटकका लागि करिब २६ सेकेण्डको उडान भरेको थियो । त्यसपछि कहिल्यै नउडेको सो विमानलाई हाल आरेगनस्थित संग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।


त्यस्तै दोस्रो विश्वयुद्धमा अमेरिकी नौसेनाले प्रयोग गरेको समुद्री विमानको पखेटाको लम्बाइ पनि ६१ मिटर थियो । ग्लेन एल मार्टिन कम्पनीले बनाएको सो विमानले विश्वयुद्धमा सामान ओसारेको थियो । तीमध्ये केहीलाई पछि क्यानडामा आगो निभाउन प्रयोग गरिएको थियो । उता रुसले बनाएको अर्को उभयचर विमान बेरियभ ए–४० को पनि ४१.६२ मिटर लामो पखेटा थियो । तर यो मोडलको विमान दुई ओटा मात्रै बनाइएको थियो । पहिलो उडान १९८६ मा भरेको सो विमानको उत्पादन नै बन्द गरिएको थियो । त्यसैले उत्पादन र प्रयोगमा रहेकामध्ये यो सबैभन्दा ठूलो उभयचर विमान बन्न पुगेको छ । एजेन्सी

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०८:४४