सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह अन्त्य गर्ने शिक्षकहरुको प्रतिबद्धता


इन्द्रसरा खड्का । बैतडी । बैतडी जिल्लालाई अबको पाँच वर्षभित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य अन्तरगत बैतडीमा अभियान जारी छ । नेपालमा सबैभन्दा बढी बालविवाह हुने पाँचौ जिल्लामा बैतडी परेपछि अब यसलाइ शून्यमा झार्ने भन्दै जिल्लामा यो अभियान सक्रिय रुपमा अघि बढाइएको हो ।
जिल्ला रेडक्रस सोसाइटीको आयोजना, संयुक्त राष्ट्रसंघीय जनसख्या कोषको आर्थिक सहयोग र महिला ताथा बालबालीका कार्यालयको समन्वयमा बालविवाह अन्त्यका लागि जिल्लामा विभिन्न सचेतनामुलक कार्यक्रम जारी रहेका छन् ।
भखैरै स्थानीयतहका जनप्रतिनिधी, सञ्चारकर्मी, सरोकारवालाहरुले बालविवाह अन्त्यका लागि पञ्चवर्षीय रणनैतिक योजना बनाइसकेपछि बैतडीका शिक्षकहरुले पनि बालविवाह अन्त्यका लागि पहल थाल्ने बताएका छन् । बैतडीमा भएको शिक्षक सम्मेलनले बालविवाह अन्त्यका लागि ९ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।
बैतडी जिल्लालाई अबको ५ वर्षभित्र बालविवाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार बालविवाह न्यूनिकरणमा शिक्षकहरुको भूमिकाका बारेमा शिक्षक सम्मेलनमा बिस्तृत छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहिले बताए । शिक्षकहरुले अबको पाँच बर्षमा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्ने भन्दै घोषणापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
बैतडीमा पछिल्लो समय भागेर विहे गर्ने चलन बढेकाले यो अभियानमा बाधा पुग्ने गरेको छ । बालविवाह अन्त्यको लागि बिद्यालयका शिक्षकहरुको पनि उत्तिकै भूमिका रहने भएकाले आफूहरुले सक्दो सहयोग गर्ने शिक्षकहरुले बताएका छन् । जिल्लामा बालविवाह न्यूनिकरणको अभियान चलिरहेको बेला अब आफूहरुले पनि साताको १ दिन अथवा प्रत्येक महिनामा बालविवाह सम्बन्धी कक्षा सञ्चालन गर्ने, बालविवाहले पार्ने असरका बारेमा बिद्यार्थीहरुलाई सचेतिकरण गर्ने बताएका छन् ।
जिल्लामा रहेका १ सय २३ वटा बिद्यालयका शिक्षकहरुले बिद्यालयमा बालविवाह सम्बन्धी किशोर किशोरीहरुलाई बुझाउँने र आफ्नो गाउँ ठाउँमा हुन लागेको थाह पाएपनि सम्बन्धीत निकायलाइ खबर गर्न सहयोग गर्ने बताए । जिल्लाका ग्रामिण स्तरमा अझैपनि छोराछोरीको उमेर नपुग्दै बिहे गर्ने चलन कायम रहेकाले अब यसको न्यूनिकरणमा आफूहरु लाग्ने प्रतिबद्धता समेत शिक्षकहरुले गरेका छन् ।
पछिल्लो समयमा बैतडी जिल्लामा किशोर किशोरीदेखि लिएर, धामीझाक्री, सरोकारवालाहरु सक्रिय भएका छन् । अबको ५ वर्षभित्र जिल्लालाई बालविवाह मुक्त घोषणा गरेरै छाड्ने संयुक्त राष्ट्रसंघीय जनसख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । महिला हिंसाको जरो नै बालविवाह भएकाले महिला हिंसा अन्त्य गर्न पनि पहिले बालविवाह न्यूनिकरण हुनुपर्नेमा उनले जोड दिए । बालविवाहले महिलाको समग्र जीवनलाइ नै असर पारेकाले यसको अन्त्यका लागि पछिल्लो समयमा किशोरीहरु पनि अग्रसर हुँदै गएको शाहीको भनाइ छ । बैतडीमा रहेका बाल क्लब, किशोरी सञ्जाल, आमा समूह किशोरी बृत्त लगायतले यो अभियान सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०७:३५