सूचनाको शक्ति - The Power Of Information

        

एमाले–माओवादी एकीकरण : हतारमा कि फुर्सदमा ?


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हिजो सोमबार पहिलो पटक बसेको नेकपा माओवादी केन्द्रको मुख्यालय बैठकले सरकार निर्माणअघि नै पार्टी एकीकरण गर्नुपर्ने निष्कर्ष निकालेको खबर बाहिरएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नछाड्न नेताहरूले दवाव दिइरहेको खबर पनि सञ्चारमाध्यममा आएका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा अचानक वाम गठबन्धनको घोषणाले आश्चर्यचकित भएका जनताका लागि माओवादीको यो निर्णय र प्रचण्डमाथि परिरहेको दवाव भने आश्चर्यको विषय होइन । गठबन्धनका दुई प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको लक्ष्यसहित गठबन्धन गरेको पहिले नै सार्वजनिक भइसकेको हो । दुई अध्यक्षले दुई महत्वपूर्ण जिम्मेवारी लिने अनुमान र आकलन पनि नयाँ होइन । यस अर्थमा माओवादी एकताका लागि हतारिनु र प्रचण्डलाई शक्ति सन्तुलनका लागि दवाव पर्नु आश्चर्यको विषय पनि रहेन ।
तर, पार्टी एकीकरण गम्भीर विषय र जटिल प्रक्रिया हो भन्ने बुझेर पनि माओवादी केन्द्रले हतारो देखाइरहेको छ । देशको सबैभन्दा ठूलो र तेस्रो ठूलो पार्टीका बीच रातारात एकीकरण हुन सक्ने पूर्वानुमानका साथ माओवादी मुख्यालयले सरकार निर्माणसँग एकीकरणलाई जोडेको छ । माओवादी केन्द्रको यो रवैया देख्दा पार्टी एकीकरण बच्चाको खेल जस्तो लागिरहेको छ । माओवादी नेताहरू एकता प्रक्रिया विलय होइन अनि शक्ति बाँडफाँट सन्तुलित हुनुपर्छ भनिरहेका छन् । अर्का्तिर उनीहरूमा एक–दुई सातामैं पार्टी एकीकरण प्रक्रिया टुंग्याउने हतारो देखिन्छ । दुई पार्टीबीच एकीकरण यति सरल विषय हुँदै होइन । माओवादी नेताहरूको यो हतारो एकीकरणको बाटोमा तगारो पनि बन्न सक्ने खतरा छ किनभने एकीकरणका नाममा आँखा चिम्लेर पार्टी विसर्जन गर्न एमाले पंंक्ति तयार छैन ।
ऐतिहासिक आवश्यकता राजनीतिक पार्टीको जननी भएझैं राजनीतिक दलहरूबीचको एकता पनि ऐतिहासिक आवश्यकताकै प्रतिफल हुने गर्दछ । नेकपा एमाले र माओवादी केन्द्र विशिष्ट ऐतिहासिक आवश्यकताका उपज हुन् । र, तिनको एकता पनि त्यस्तै ऐतिहासिक आवश्यकताको परिणाम हुनुपर्छ । मुलुक लगातार अस्थिरताको दलदलमा फसिरहेको पृष्ठभूमिमा एमाले र माओवादी केन्द्रबीच एकीकरणको प्रस्तावना तयार भएको हो । मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्ने त्यो प्रस्तावना तवसम्म प्रस्तावना नै रहन्छ जबसम्म दुबै पार्टीका सबै कार्यकर्ता भावनात्मक रुपमा समेत एक हुँदैनन् । स्थिरताको ऐतिहासिक आवश्यकता बुझेर अध्यक्षद्वय केपी ओली र प्रचण्डले दुई पार्टी एकीकरणको आवश्यकताबोध गर्नुभएको होला । उहाँहरूको यो ठम्याईप्रति दुबै पार्टीको कार्यकर्ता पंक्ति सहमत छ तर एकाकार भइसकेको छैन ।
एमाले र माओवादी केन्द्रको एकीकरण भएमा देशलाई नै फाइदा पुग्छ । सबै खालका राजनीतिक क्रान्ति समापन भएर सम्वृद्धिको क्रान्ति आवश्यक भएको स्वयं माओवादी केन्द्रको निष्कर्ष छ । विकास र सम्वृद्धिका लागि राजनीतिक स्थिरता आधारभूत शर्त हो । त्यो शर्त पूरा गर्न पनि एकीकरण अपरिहार्य छ । तर, यसको अर्थ दशकौंको मिहिनेत र हजारौं सहीदको रगतले रंगिएका फरक पृष्ठभूमिका दुई पार्टी एक–दुई जनाको आकांक्षाकै भरमा एकैछिन्मा एक हुन सक्छन् र त्यो एकता दीर्घजीवि हुन्छ भन्ने ठान्नु गलत हो ।
एकीकरण गम्भीर र जटिल प्रक्रिया हो । एमाले र माओवादी केन्द्रको जन्म फरक–फरक वस्तुगत अवस्थाको परिणाम थियो, ती दलको विकास पनि भिन्न अवस्थाकै फल हो र अहिले तिनले ओगटेको धरातल पनि भिन्न–भिन्न कारकको परिणाम हो । विशिष्ट ऐतिहासिक परिस्थितिमा जन्मेका र हुर्केका ती दुई दलको एकीकरण प्रक्रिया पीडादायी नै हुनेछ किनभने एकाकार हुँदा पनि इतिहासले कुर्बानी माग्छ । दुई पार्टीलाई एक बनाउने त्यो कठीन प्रक्रियाको उठान र समापनलाई कृत्रिम बनाएर होइन, स्वाभाविक हुन दिए मात्रै एकीकृत पार्टी साँचो अर्थमा पार्टी बन्ने तथ्यलाई हेक्का राख्नु आवश्यक छ ।
एकीकृत हुनु भनेको दुबै पार्टीका मौलिकता र विशेषतालाई मिल्काएर नयाँ गुणधर्मयुक्त पार्टी बनाउने भनेको होइन होला । दुबै पार्टीका राम्रा पक्ष स्वीकार गर्ने र नराम्रा पक्ष मिल्काउने गरी एकीकरण गरिने होला । यस्तो गर्न पनि समय चाहिन्छ होला । अर्कोतर्फ, एकीकृत पार्टी उँटजस्तो नहोस भन्ने पनि त सोच्नुपर्ने होला । यदि हो भने, नयाँ सरकार बनाउनु पर्ने छोटो अवधिमा कसरी यी सबै काम पूरा गरी पार्टी एकता गर्न सकिन्छ ?
पार्टी एकता संयुक्त चुनावी घोषणापत्र लेखेजस्तो सजिलो हुँदैन । विकासका मुद्दाभन्दा दृष्टिकोण, सोच र संस्कारका मुद्दा जटिल हुन्छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच रहेका सैद्धान्तिक–वैचारिक र कार्यशैलीगत भिन्नताको पहिचान नै नगरी कसरी एकता प्रक्रिया सुरु गर्न सकिन्छ ?
निर्वाचनका क्रममा एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ताबीच बढेको सामिप्यले एकअर्कालाई बुझ्ने र घुलमिल हुने आधार मात्र प्रदान गरेको छ । दुई धारका कार्यकर्ताबीच स्वभाव, आचरण र आकांक्षामा अझै पनि ठूलो खाडल रहेको देखिन्छ । त्यो खाडल छ भन्ने स्वीकार गर्दै त्यसलाई पुर्ने विधि र संकल्प नभएसम्म एकीकरण थाल्नु पनि घातक हुने सत्यलाई उपेक्षा गरेर अहिले नै एकीकरण प्रक्रिया पूरा गरिहाल्ने अड्डी विशुद्ध मनोगत आग्रह हो । कदाचित यस्तो आग्रहकै भरमा छिटो पद पाउने लालसाले एकीकरण प्रक्रिया सम्पादन गर्न खोजियो भने त्योभन्दा ठूलो भूल अरु हुने छैन ।
एकीकृत पार्टी साँचो अर्थमा एकीकृत हुनुपर्छ । हचुवाका भरमा गुट र फुटबाट आक्रान्त पार्टीहरूको एकीकरण भएको घोषण भयो भने नयाँ पार्टी उँटबाहेक अरु सावित हुने छैन । पार्टी संस्था हो र यसको सञ्चालन लोकतान्त्रिक विधिबाट मात्रै सम्भव हुन्छ । सैद्धान्तिक–वैचारिक रुपमा प्रष्ट, रणनीतिक–कार्यनीतिक रुपमा निर्दिष्ट र सांस्कृतिक–चारित्रिक रुपमा निष्कलंक पार्टी नबनाउने हो भने एकीकरणको कुनै प्रयोजन छैन । बनाउने हो भने प्रक्रिया लामो हुने निश्चित छ । स्वाभाविक प्रक्रियालाई छोट्याएर रातारात लाखौं सदस्यलाई बलजफ्ती मिल्न उर्दी जारी गर्दाका दुष्परिणामको पूर्वानुमान गर्न सके बुद्धिमानी हुने छ ।
नयाँ पार्टी विधिमा चल्नुपर्छ । लोकतान्त्रिक विधिबाहेकका अरु उपायले अब पार्टी चलाउन सम्भव छैन । भागबण्डा र हतकण्डाले चल्ने पार्टी जनताको त छोडौं, कार्यकर्ताकै पनि आफ्नो हुन सक्दैन । आधारभूत सैद्धान्तिक सवालहरूको निरुपण एकीकरण अगाडि नै हुनुपर्छ । विगतमा भएका त्रुटीको विश्लेषण गरी निष्कर्षमा अहिले नै पुग्नुपर्र्छ । एकीकरणपछि ६०–४० हुने छैन, कार्यकर्ता सार्वभौम हुनेछन् र आवधिक रुपमा नेताहरूले आफूलाई अनुमोदन गराउने विधि नै पार्टी सञ्चालनको विधि हुनेछ भन्नेमा सहमति हुनुपर्छ । त्यति मात्रै होइन, सदस्यताको संख्या र क्रियाशीलताको भावी विवादलाई पनि दृष्टिगत गरी अहिले नै प्रष्ट मापदण्ड बनाइनुपर्छ ।
एकीकरणलाई सरकार निर्माणसँग जोडेर लैजाने माओवादी केन्द्रको प्रयासले अविश्वास मात्रै बढाउने काम गरेको छ । अब धेरैमा ४ साताभित्र सरकार बनिसक्नुपर्छ । चार सातामैं एकीकरण गर्न सकिन्छ भन्ने सोच पाल्नु पनि अचम्मको कुरा हो । एकीकरणको अर्थ वडा कमिटीहरूसम्म एकाकार हुनु हो । टाउको मात्रै मिलेर तल–तलसम्म भावनात्मक एकता हुन्छ भन्ने मनोगत ठम्याईले भएको पनि गुमाउने अवस्था सिर्जना हुने छ । महिनौं लाग्ने प्रक्रियालाई केही सातामा खुम्च्याउँदा माओवादी केन्द्रलाई फाइदा हुन सक्छ तर एमाले पूरै घाटामा रहने निश्चित छ । एमालेको कार्यकर्ता पंक्ति विधि र प्रक्रियामा विश्वास मात्रै राख्दैन अभ्यस्त पनि छ ।
आफ्नो पुरानो हैसियतका बलमा एकीकृत पार्टीमा स्थान खोज्ने मनोवृत्ति र पूर्वशर्त हो भने एकीकरण प्रक्रिया तत्काल रद्द भएको घोषणा गर्नु नै ठीक हुन्छ । जनताले एकीकरणको प्रस्ताव अनुमोदन गरेका भनिंदैछ । जनताले एकीकरणका लागि नभई ५ वर्ष सँगै मिलेर काम गर्न आदेश गरेका हुन् । एकछिनलाई जनताले दुई पार्टीको एकीकरणकै आदेश दिएका हुन् भन्ने मानौं । त्यसको अर्थ हतारको खिचडी पकाउनु होइन । न एमाले रहने, न माओवादी केन्द्र नै रहने र न त नयाँ पार्टी नै बन्ने भूल गर्न जनादेश होइन । जनादेश गठबन्धनले ५ वर्ष स्थिर सरकार दिनुपर्छ भन्ने हो । –चक्रपथबाट

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०६:०७