बाँके । स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि केन्द्रिकृत शासन व्यवस्था परिवर्तन भई ‘गाउँगाउँमा सिंहदरबार’ पुग्ने परिकल्पना गरिए पनि बाँकेवासीलाई पाउनेभन्दा गुमाउने चिन्ता गर्न थालेका छन् । बाँकेको सदरमुकाम नेपालगंजमा भएका सरकारी र प्रशासनिक कार्यालयहरू रातारात क्षेत्रीय सदरमुकाम सुर्खेतमा सरेजस्तै यहाँ भएका क्षेत्रीय र अञ्चल कार्यालयहरू रातारात प्रदेश राजधानी भएको ठाउँमा सर्ने चिन्ताले पिरोलेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
नेपालगन्ज र कोहलपुरमा प्रशस्त भौतिक संरचना तथा सरकारी जमिन भएको र प्रदेश नं. ५, ६ र ७ को प्रदेशद्वार पनि भएकाले प्रदेश राजधानी बाँकेलाई बनाउन उपयुक्त भए पनि राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण अन्यत्र लैजाने प्रयास भइरहेको उनको भनाइ छ । ‘राजनीतिक दलहरूले बाँकेलाई प्रदेश राजधानी त नदिने नै भए, यहाँ भएका क्षेत्रीय, अंचल कार्यालय पनि प्रदेश राजधानी भएकै ठाउँमा लैजालान् भन्ने डर हुन थाल्यो’, उनले भने ।
कोहलपुर नगर विकास समितिका अध्यक्ष नवराज खड्काले पनि कोहलपुर र नेपालगन्जमा भएका क्षेत्रीय र अंचलस्तरीय कार्यालय सुर्खेत, दाङ र बुटवलमा सरेर जाने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले केन्द्रिकृत शासन विकेन्द्रीकरण हुनुपर्नेमा भएका सरकारी कार्यालय पनि अन्यत्र बसाइँ सराइ गरेर जाने चिन्ता सिर्जना भएको बताए । ‘थप कार्यालय र सेवा, सुविधा स्थानीयस्तरमा पाउनेको त कुरै छोडौँ, भएका कार्यालय पनि अन्यत्रै जाने चिन्ता थपिएको छ’, उनले भने ।
अन्योलमा क्षेत्रीय कार्यालय
भौतिक संरचना निर्माण गरेर क्षेत्रीयस्तरका सरकारी कार्यालयहरू नेपालगंज र कोहलपुरमा बस्दै आएका छन् । देश संघीय संरचनामा गएपछि यी कार्यालयहरू कहाँ जाने भन्ने अन्योलमा छन् । कोहलपुरमा कार्यालय रहेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुर्खेत जाने कि कहाँ जाने भन्ने अन्योल छ । संघीय संरचनाअनुसार सुर्खेत, दाङ वा बुटवल जानुपर्ने अवस्था रहेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।
माथिल्लो निकायबाट अहिलेसम्म निर्देशन नआएको बताउँदै यहाँबाट बसाइँ सराइ गरेर जान नपर्ला भन्न नसकिने उनको भनाइ थियो । ‘दाङमा राजधानी भए जानुपर्दैन होला, बुटवल भए जानुपर्छ’, उनले भने, ‘केन्द्रले बुटवलको कार्यालयलाई दाङ र कोहलपुरको कार्यालयलाई सुर्खेत पठाउन पनि सक्छ ।’ प्रदेश नं. ५ मा नेपालगन्ज र बुटवलमा नेपाल प्रहरीका क्षेत्रीय तालिम केन्द्र छन् । नेपालगन्जमा रहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र पनि प्रदेश राजधानी भएको ठाउँमा जाने निश्चितप्रायः छ ।
प्रदेश नं. ५ मा दुईवटा तालिम केन्द्र भएकाले नेपालगन्जमा भएको तालिम केन्द्र ६ नम्बर प्रदेशको राजधानी भएको स्थानमा जाने सम्भावना बढेको छ । तर, तालिम केन्द्र सार्ने, नसार्ने विषयमा केन्द्रबाट निर्देशन आइनसकेको मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताए । उनले यस विषयमा अहिलेसम्म कुनै जानकारी नआएको उल्लेख गर्दै प्रदेश संरचनाअनुसार व्यवस्थापन हुनुपर्ने बताए ।
‘अहिलेसम्म त कुनै जानकारी र परिपत्र आएको छैन, तर प्रदेशको संरचनाअनुसार यहाँ भएका कार्यालय सर्छन् होला’, उनले भने । कोहलपुरमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पश्चिम सेक्टर कार्यालय पनि अन्योलमा छ । मध्य र सुदूरपश्चिम क्षेत्र हेर्दै आएको उक्त कार्यालय कता सर्ने भन्ने अन्योलमा रहेको प्रमुख यादव सुवेदीले बताए । उनले पनि सार्ने नसार्ने विषयमा आधिकारिक परिपत्र कार्यालयमा नआएको बताए । ‘प्रदेश संरचनाअनुसार कार्यालय त सर्ने नै होला, तर कहाँ सर्ने वा यहीँ रहने भन्ने यकिन भइसकेको छैन’, उनले भने ।
रातारात कार्यालय सर्नेमा बाँकेवासी सशंकित
तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनकालमा नेपालगंजमा भएका क्षेत्रीय कार्यालयहरू सुर्खेत सार्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि यहाँका कार्यालय रातारात सुर्खेत पुगेका थिए । त्यतिबेला सरकारी कार्यालय सरेको सर्वसाधारणलाई पत्तै भएन । ‘भएका क्षेत्रीय कार्यालय सुर्खेत पुगेपछि मात्र जानकारीमा आएको थियो’, नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने, ‘अहिले पनि त्यस्तै नहोला भन्न सकिन्न ।’
त्यतिबेला नेपालगन्जबाट क्षेत्रीय प्रहरी कार्यालय, क्षेत्रीय प्रशासन, क्षेत्रीय कृषि, पशु, सशस्त्र प्रहरी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, क्षेत्रीय हुलाक कार्यालय लगायतका सरकारी कार्यालय सुर्खेत सरेका थिए । संघीय प्रदेशको राजधानी तोकिनासाथ क्षेत्रीयस्तरका बाँकी कार्यालय पनि अन्यत्र सर्ने सम्भावना बढेपछि यहाँ रहेका कार्यालय सार्न नहुने बाँकेवासीको माग छ । ‘संघीय संरचना लागू भएपछि घर नजिक सेवा, सुविधा पाइएला भनेको त पाउँदै आएको पनि कटौती होला भन्ने चिन्ता थपिएको छ, यो भन्दा ठूलो दुर्भाग्य अरू के हुनसक्छ’, कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र शर्माले भने ।
कोहलपुर र नेपालगन्जमा एक दर्जन क्षेत्रीय कार्यालय
कोहलपुरमा क्षेत्रीयस्तरको परीक्षा बोर्ड, राजश्व अनुसन्धान कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी, सीटीईभीटीको पश्चिम सेक्टरलगायतका कार्यालय संचालनमा छन् । नेपालगन्जमा मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, क्षेत्रीय पशु सेवा तालिम केन्द्र, यान्त्रिक कार्यालय, सिँचाइ, विद्युत, सडक लगायतका क्षेत्रीय कार्यालयले सेवा दिँदै आएका छन् । त्यसैगरी मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल, क्षेत्रीय खेलकुद विकास समिति, क्षेत्रीय बिउ बिजन प्रयोगशाला, क्षेत्रीय कृषि तालिम केन्द्र, क्षेत्रीय माटो प्रयोगशाला, क्षेत्रीय कृषि अनुसन्धान परिषद् पनि बाँकेमै छन् ।
।