
कैलाली । कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीले आफू कानुन पालना गर्दै केहीदिनमै अदालतमा उपस्थित हुने बताएका छन् । अदालतको साटो संसदमा पो उपस्थित हुने कि भन्नेमा आफू कानुनी परामर्शमा रहेको उनको भनाइ छ ।
‘म कानुनको सम्मान गर्छु,’ चौधरीले भने, ‘केही दिनमै उपस्थित हुन्छु, अदालत जाने कि संसदमा भन्ने विषयमा कानुनी परामर्शमा छु ।’ आफूले कुनै अपराध नगरेको भन्दै चौधरीले आफ्नो ध्यान सामाजिक सद्भाव कायम गर्नेमा केन्द्रित रहेको जिकिर गरे । बरु राज्य नै आफूमाथि गलत आरोप लगाएर साम्प्रदायिक सद्भावमा भड्काउन उद्धत रहेको चौधरीको आरोप छ ।
‘राज्यले नै अहिले सामाजिक सद्भाव विथोल्न खोजिरहेको छ, डीआईजी पुष्कर कार्कीको अभिव्यक्ति त्यसैको उपज हो’, चौधरीले भने, ‘कैलालीमा अहिले पनि राज्यले दुवैतर्फका नागरिकलाई सद्भाव विथोल्न उचालिरहेको छ, मेरो ध्यान सामाजिक सद्भाव कायम होस् भन्नेमै केन्द्रित छ ।’
चौधरीले निर्वाचित भएको प्रमाणपत्र वारेसनामामार्फत बुझ्न पाऊँ भन्दै दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेपछि परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत् भएको फैसला सुनाएको थियो । जसले चौधरी तत्काल माननीय बन्ने बाटो छेकिएको छ ।
उनीमाथि कैलालीको टीकापुरमा साढे २ वर्षअघि नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्यामा मुख्य भूमिका खेलेको अभियोग छ । राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका चौधरीले निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी शाहलाई झण्डै २१ हजार मतान्तरले पराजित गरेका थिए ।
।