सूचनाको शक्ति - The Power Of Information

        

पढाउँदै गरेका शिक्षकको गुप्ताङ्गमा लात्तीले हानेपछि…


दैलेख । कक्षामा पढाइरहेको बेला दैलेखको नौमूले गाउँपालिका–६, दफेनाउलीको शिवशक्ति माविका सहायक शिक्षक नमराज नेपालीमाथि आइतबार कुटपिट भएको छ । नेपालीले आफूलाई नेपाल तरुण दलका जिल्ला सभापति लालबहादुर चन्दले कुटपिट गरेको आरोप लगाएका छन् ।
आइतबार बिहान सवा ११ बजेतिर विद्यालयको चौरमा विद्यार्थीहरुलाई वरिपरी राखेर घाम ताप्दै पढाई रहेको बेला एक्कासी चन्दले आफूलाई आक्रमण गरेको नेपालीले बताए । ‘नमराज सरले पढाइरहनुभएको थियो, विद्यालय हातामा आएर लालबहादुरले बोलाएर लात्तीलात्तीले कुटेको हामीले देख्यौं’ बालविकास सहजकर्ता पार्वती सुबेदी र प्रधानाध्यापक मानबहादुर रावल बताए ।
‘कुर्चीले हानेपछि हामी छुट्टयाउन गयौँ, त्यसपछि नम सर भागेर जंगलतिर जानुभएछ’ प्रधानाध्यापक रावलले भने, ‘नजिकै अरु कक्षाहरु पनि पढाई भइरहेकै थियो, म कक्षा ३ को नेपाली विषय विद्यालयको चौरमै पढाइरहेको बेला उसले बोलाएपछि किन पो हो भनेर नजिक गएँ । ताकेरै गुप्ताङ्गमा लात्ती सोझ्याएको चाल पाएर मोडिएँ अनि तिघ्रामा लाग्यो ।’
लात्तीले ३–४ पल्ट हानेपछि पनि काठको कुर्ची तोकेको देखेर भाग्दै गर्दा ढाडमा चोट लागेको पीडित शिक्षक नमराज नेपालीको भनाइ छ । टेलिफोन गरेर घटनाबारे सोध्दा नेपाल तरुण दलका जिल्ला सभापति चन्दले सामान्य विवाद भएको हो, ठूलो विषय नबनाई दिनुहोला भनेर आग्रह गरे । चन्दले अघिल्लो वर्ष २०७३ कात्तिक १३ गते कोठामा मस्त सुतेका शिक्षक नमराजको मुखमा वियरको बोतल कोच्याएको फोटो खिची फेसबुकमा ‘यस्ता त शिक्षक के शिक्षा दिन्छन् ?’ भन्दै पोस्ट गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा बेइज्जती र अपमान गरेको भन्ने नमराजको निवेदनमा जिल्ला प्रहरी कार्यालय दैलेखले कात्तिक १८ गते अभद्र व्यवहार नगर्ने सर्तमा मिलापत्र गराएको थियो । चन्दविरुद्ध यस्तो दुव्र्यवहार गरेका ३ वटा उजुरी प्रहरीमा पुगेका छन् । उनलाई खोज्न घरमा गएको प्रहरीले नभेटाएर फर्किन नपाउँदै यो घटनाको सूचना प्रहरीलाई पुगेको थियो ।
कक्षामा पढाइरहेको शिक्षकमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै दैलेखका शिक्षकहरुका पेशागत संगठनहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् । नेपाल शिक्षक संगठनका अध्यक्ष नरबहादुर थापा तथा सचिव खगेन्द्र श्रेष्ठ र एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष बिसाखर तथा सचिव गणेश कार्कीले जारी गरेकोे प्रेस विज्ञप्तिमा प्रहरीले अबिलम्व पक्राउ गरी कारवाही नथाले आन्दोलन गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०४:३३