सूचनाको शक्ति - The Power Of Information

        

सांसद चौधरीले प्रमाणपत्र नपाउने, पक्रन सर्वोच्चको आदेश


काठमाडौं । रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको अदालत प्रशासनले चौधरीको यो बाटो बन्द गरिदिएको हो । टिकापुर घटनाका मुख्य अभियुक्त रहेका रेशम चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट चुनाव लड्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए ।
फरार अवस्थामा रहेका सांसद चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेस नामामार्फत पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गएका थिए । सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरिदिएको थियो । सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेको निर्णयलाई सदर गर्ने आदेश सुनाएपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन नपाउने भएका छन् ।
प्रतिनिधि सभामा निर्वाचित सांसद चौधरीको रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुन बमोजिम भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतले फरार अभियुक्त ठहर गर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मोक्तानको एकल इजासलले आइतवार रेशमलाई फरार अभियुक्त ठहर गर्दै पक्रन निर्देशनसमेत दिएको छ ।
अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाई लिनुपर्ने बताउँदै प्रशासनले फरार रहेका चौधरीले यस्तो गरेको नपाएको र अदालती प्रक्रियालाई अवज्ञा गरेको पनि उल्लेख गरेको छ । २०७२ साल असोजमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा दोषी रहेका रेशम लामो समयदेखि फरार छन् । यसअघि विभिन्न मानव अधिकारवादी संघसंस्थाले चौधरीलाई जितको प्रमाणपत्र दिन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार १०:४६