बाँके । नेपालगन्ज बसपार्क र आसपासमा सवारी साधनहरुको चाप बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यसको व्यवस्थापनका लागि काम सुरु गरेको छ । ट्राफिक प्रहरी पोष्ट बसपार्कले दिएको जानकारी अनुसार सवारी साधनहरुलाई बसपार्क भित्रबाटै सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न थालेको हो ।
ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रकाश पुनले भने, ‘बसपार्क निर्मार्णाधिन अवस्थामा रहे पनि ७५ प्रतिशत कार्य सम्पन्न भइसकेकोले सवारी साधनहरु बाटोमा छरपस्ट पार्किङ्ग गर्ने गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाई भएकाले यसको व्वस्थापनमा जुटेका छौँ ।’ इन्चार्ज पुनले ट्राफिक व्यवस्थापनसँगै अन्य कुराहरुलाई पनि कडाई गरिएको जानकारी दिए ।
प्रहरीले रात्रीकालिन सेवामा सञ्चालन हुने सवारी साधनहरुको हाई तथा डिमलाईटको अनिवार्य व्यवस्था गर्न भनेको छ । ‘लामो रुटमा सञ्चालन हुने सवारी साधनमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्न सबै यातायात व्यवसायीहरुलाई भनिएको छ,’ इन्चार्ज पुनले भने, ‘हामीले अशक्त, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा र महिलाहरुलाई आरक्षण सिटको अनिवार्य व्यवस्था गर्ने भनेका छौँ ।’
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सक्रियतासँगै ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको छ । त्यसका लागि स्रोत र जनशक्तिले भ्याएसम्म ट्राफिक प्रहरीले निरीक्षण बढाएको छ भने मापदण्ड उल्लंघन गर्ने सवारी चालकमाथि गिरानी बढाएको छ । ‘आम नागरिकलाई महसुस हुने गरी नेपालगन्ज बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापनको सुधारको काम भइरहेको छ,’ इन्चार्ज पुनले भने ।
ट्राफिक व्यवस्थापनलाई कडाई गरिरहेको इन्चार्ज पुनको दावी छ । ‘ट्राफिक नियममा कडाई गरिरहेका छौँ,’ इन्चार्ज पुनले भने, ‘यसले गर्दा देशका धेरैजसो ठाउँमा जाने यात्रुहरुले अहिले गाडीमा चढ्दादेखि नै पहिलेको जस्तो सास्ती भोग्नुपर्दैन ।’ हरेक यात्रुले आफ्नो जीवनप्रति संवेदनशील बनेर यात्रा सुरक्षित बनाउनेतिर गम्भीर हुने हो भने आधा दुर्घटना त्यसै कम हुने उनले बताए ।
गन्तव्यमा चाँडो पुग्ने नाममा जहाँ पायो त्यहीबाट गाडीमा चढ्ने, क्षमताभन्दा बढी यात्रु चढाउने लगायतका कुराहरुलाई पनि नियमन गरिरहेको उनले बताए । इन्चार्ज पुनले ट्राफिक प्रहरीले मात्रै ट्राफिक व्यवस्थापन गर्न नसक्ने भन्दै यातायात व्यवसायी, यात्रुहरु र आम सरोकारवालाहरुलाई लाग्न आग्रह गरे । उनले भने, ‘ट्राफिक प्रहरीले सेचतना कक्षा लगायतका कामलाई निरन्तरता दिइरहेको छ । ट्राफिक व्यवस्थापनको सबै क्षेत्रमा सबैको उत्तिकै भूमिका हुनुपर्छ । यसले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई पनि सहयोग पुग्छ ।’
।