सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभाले पूर्णता पाउन अझै दुई साता लाग्ने


काठमाडौं । आउँदो दुई साताभित्र प्रदेशसभाले पूर्णता पाउने भएको छ । निर्वाचन आयोगले एक साताको समय दिदैँ दलहरुलाई प्रदेशसभातर्फको समानुपातिक सूची बुझाउन पत्राचार गरेसँगै दुई सातामा प्रदेशसभाका पूर्णता पाउने देखिएको हो । प्रदेश सभाको बैठक भने अझै अनिश्चित छ । प्रदेशसभा निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्नेछ ।
सरकारले अहिलेसम्म प्रदेश प्रमुख नियुक्त गरेको छैन । आयोगले प्रदेशसभातर्फ समानुपातिकको मतपरिणाम सार्वजनिक गर्दै दलहरुलाई पत्राचार गरिसकेको छ । आयोगको पत्रमा एक साताभित्र परिणाम बुझाउन समय दिइएको छ । प्रदेशसभा निर्वाचन सम्बन्धि निर्देशिकामा दलहरुलाई समानुपातिकको बन्दसूचीबाट नाम छनौटका लागि एक साताको समय दिने उल्लेख रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।


दलहरुले नाम पठाएपछि आयोगले दलित, जनजाती, महिला, खसआर्य लगायतका क्लष्टर मिले नमिलेको जाँच गर्नेछ । साथै सच्याउन थप तीन दिनको समय दिनेछ । प्रदेशसभा गठनको समान्य प्रक्रियामै १० दिनको समय लाग्ने देखिएको हो । निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले दलहरुले छिटो नाम टुङ्गो लगाएर पठाए आयोगलाई पनि मतपरिणाम सार्वजनिक गर्न छिटो हुने बताए ।
‘राजनितिक दलहरुले छिटोभन्दा छिटो मतपरिणाम घोषणा गर्नुभयो भने हामीलाइ नतिजा प्रकाशन गर्न छिटो हुन्छ’, पौडेलले भने, ‘बन्दसूचीको क्रम र समावेशी सिद्धान्त अनुसार प्राथमिकताक्रमका साथै आदिवासी जनजाती, महिला, दलित जे जति क्लष्टर छन् छिटोभन्दा छिटो पेश गर्नुहुनेछ भन्ने आशा आयोगको छ ।’
निर्वाचन आयोगका अनुसार नेकपा एमालेले प्रदेशसभातर्फ ७५, कांग्रेसले ७२, नेकपा माओवादी केन्द्रले ३५, संघीय फोरमले १३, राजपाले १२, राप्रपाले ३, विवेकशिल साझाले ३, राष्ट्रिय जनमोर्चाले २ सिट जितेका छन् । त्यस्तै अन्य साना पाँच दलले एक एक सिट जितेका छन् । राष्ट्रियसभा गठनको गाँठो नखुल्दा प्रतिनिधिसभातर्फको मतपरिणाम भने आयोगले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०८:०९