सूचनाको शक्ति - The Power Of Information

        

तीन दिनदेखि अशान्त कालीकोट, कर्फ्यु उस्तै


कालिकोट । तीन दिनदेखि कालीकोट सदरमुकाम मान्म अशान्त बनेको छ । म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप भएसँगै अशान्त बनेको मान्म आइतबार पनि तनावपूर्ण छ । शुक्रवार प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएपछि कालीकोट तनावग्रस्त बनेको हो ।
आइतबार साँझ ४ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ देखि १० बजेसम्म २ घन्टाका लागि हटाइएको भए पनि स्थानीय प्रशासनले अहिले पुनः कर्फ्यु आदेश जारी गरेको छ ।अवस्था थप उग्र हुने नदिन पुनः कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जनाए । उनले स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने बताएका छन् ।
कर्फ्यु लागेसँग मान्म बजार सुनसान बनेको त्यहाँबाट पत्रकार हस्त चौलागाईंले जनाएका छन् । उनका अनुसार मान्न बजार पूर्णरुपमा ठप्प छ भने आन्दोलनरत पक्ष सडकमा उत्रिएको छैन । स्थानीय प्रशासन तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र मृतकका आफन्तबीच छलफल भए पनि सहमति हुन भने सकेको छैन ।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, गोली हान्ने प्रहरी, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखेका छन् । म्यादी प्रहरीको बिदाइ कार्यक्रममा पारिश्रमिको विषयमा विवाद हुँदा शुक्रबार कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा म्यादी प्रहरी ऐडीको मृत्यु भएपछि कालीकोट तनावग्रस्त बनेको हो ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०७:१५