सूचनाको शक्ति - The Power Of Information

        

फरक फरक व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष : महरा


दाङ । माओवादी नेता कृष्णबहादुर महराले माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने बताएका छन् । दाङ क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरकफरक व्यक्ति हुने पनि स्पष्ट पारे ।
एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति दिएको बेला महराले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक हुने बताएका हुन् । उनले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने पनि बताए । महराले भने, ‘अहिलेसम्म मैले राजनीतिमा हार व्यहोर्नु परेको छैन । यसपटक पनि दाङलाई राजधानी बनाउने कुरामा विजयी हुनेछु ।’
भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको महराको भनाइ छ । बुटवललाई पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०४:४७