सूचनाको शक्ति - The Power Of Information

        

बबईको भाले गोही राप्तीको बगरमा !


बर्दिया । चितवनको राप्ती नदीमा रहेको एकमात्र भाले गोही गतवर्ष मरेपछि बर्दियावाट भाले गोही लगेर छाडिएको छ । शुक्रबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत बबई नदीबाट भाले गोही नियन्त्रणमा लिई शनिबार चितवन लगेर नदीमा छाडिएको हो ।
गतवर्ष जेठ महिनादेखि भाले गोहीविहीन भएको चितवनको राप्ती नदीको बगरमा भाले गोही छाडिएको राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । ४१६ सेन्टिमिटर लामो गोही झण्डै ३५ वर्षको भएको र आठ क्विन्टल बराबरको भएको उनले बताए ।
चितवन निकुञ्जसँग जोडिएको राप्ती र नारायणीको संगमस्थल गोलाघाटबाट एक किलोमिटर पूर्वतर्फ खोरिया मुहानमा राप्तीको बगरमा गोही छाडिएको कँडेलले बताए । प्रजननमा सहयोगी बन्दै आएको एकमात्रै भाले गोही गत जेठ १० गते नारायणी नदीको अमलटारी पश्चिम नन्दपुरमा जालमा परेर मरेको थियो ।
बबईबाट गोही ल्याउनुअघि चितवन निकुञ्जको टोलीले कर्णाली नदीमा पनि भाले गोहीको खोजी गरेको थियो । तर, कर्णालीमा भाले गोही फेला नपरेको कँडेलले बताए । निकुञ्ज परिसरमा रहेको गोही प्रजनन् केन्द्रमा हुर्काएर राप्तीमा ५६६ वटा र नारायणीमा ३९९ वटा गोही छाडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताए । सन् २०१६ को तथ्यांक अनुसार यी दुई नदीमा १६६ गोही रहेका छन् ।
चितवनका दुई नदी बाहेक अहिलेसम्म बबईमा ११० वटा र कर्णालीमा ४१ वटा गोही छाडिसकिएकोमा पछिल्लो समय गणनामा बबईमा ३१ वटा र कर्णालीमा एउटा मात्रै गोही फेला परेको थियो । चितवन निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा एउटा मात्रै भाले गोही रहेको छ । अर्काे एक भाले गोही गएको फागुनमा मरेपछि गोही प्रजनन्मा समस्या आएको खड्काले बताए ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०४:३६