सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा फेरिएको दैनिकी : धुलाम्य सडकले कोर्दैछ समृद्धिको नक्सा


दिनेश गौतम । दैलेख । दैलेख पहिले जस्तो थियो, त्योभन्दा धेरै बदलिएको छ । किन बदलियो ? त्यसका लागि स्थानीयसँग केही आधार र तर्क छन् । अहिले दैलेखको गाँउगाँउमा सडक पुगेको छ । सबै क्षेत्रमा विद्यालय छन् । सञ्चारमा पहुँच विस्तार भएको छ । मध्यपहाडी लोकमार्गले दैलेखको मध्यभागबाट अछाम र जाजरकोटलाई जोड्छ । यसै सडक खण्डमा पर्ने कर्णाली नदीको किनारमा रहेको राकम कर्णालीलाई सरकारले नमुना सहर बनाउनका लागि प्रक्रिया अगाडि बढाएको छ । लोहोरे खोला र छामघाट खोला हुँदै कर्णालीले घेरेको दैलेखलाई गाउँगाउँमा पुगेको सडकले सहजता थपेकै थियो । लोकमार्गले समृद्धि ल्याउने छ भन्ने आशा छ यहाँका बासिन्दालाई ।
त्यसैले पनि समृद्ध दैलेखको बहस सुरु भएको छ । यहाँका स्थानीय कला संस्कृति तथा परम्परा संरक्षणको लागि पहल भइरहेको छ । छाउपडी र दाइजो लगायतका सामाजिक कुप्रथा न्युनीकरण हुँदै गएका छन् । दैलेखमा रहेको तेलखानी त राष्ट्रिय चासोको विषय बनेको छ । लाग्छ, समग्रमा दैलेख नै प्रगतिको बाटोमा लम्किएको छ । त्यसैले दैलेखवासीले महसुस गरिरहेका छन्, अवस्था पहिलेको जस्तो छैन । देशले राजनीतिक रुपमा जति छिटोछिटो परिवर्तन र्गयो, उतिकै छिटोछिटो राजनीतिक चेतना पनि वृद्धि भइरहेको छ । विगतको द्वन्द्व बेहोरेको दैलेखमा त्यसको असर नपर्ने कुरै भएन । यहाँ पनि राजनीतिक चेतना बढेको छ ।
तर स्थानीयलाई थाहा छ, पछिल्लो विकास र परिवर्तनका माझमा पनि केही समस्याहरु ज्याद्रो भएर बसिरहेका छन् । चारैतिर सडक खोलिए पनि त्यसको स्तरोन्नति हुनसकेका छैनन् । विद्युतमा अझै सबैको पहुँचमा पुगेको छैन । जनप्रतिनिधिहरु आफ्ना एजेन्डामा प्रस्ट देखिँदैनन् । दैलेखका विविध समस्या उनीहरुलाई थाहा छ । त्यसैलाई समाधान गर्न भन्दै धेरैले चुनाव जितेका पनि छन् । तर बोलेका कुरा पूरा हुँदैनन् । त्यसो त जनप्रतिनिधिलाई नागरिक स्तरबाट निरन्तर खबरदारी हुन सकेको छैन । त्यसैले केही सम्भावनाहरुलाई ओझेलमा पारिदिएका छन् । राष्ट्रिय रुपमै चर्चामा रहेर पनि सम्भाव्यता अध्ययन बाहेक तेलखानीको विषयमा थप प्रगति हुन सकेको छैन । जिल्लाको अग्लो पहाड महावु लेकसम्म पर्यटक पुर्याउने योजना त्यतिकै थन्किएको छ ।
त्यति मात्रै होइन, जिल्लामा उत्पादित अन्न तथा तरकारीले उचित बजार पाएका छैनन् । उद्योगधन्दाको कुरै उठ्दैनन् । विभिन्न खोलाबाट सीमित क्षमताको जलविद्युत निकाले पनि अन्य स्रोतहरुको पहिचान भएका छैनन् । धार्मिक स्थल तथा देवलको संरक्षणमा खासै ध्यान गएको छैन । युवाशक्तिको भारत तथा अन्य मुलुकुमा पलायन रोकिएको छैन । समृद्धिको नारालाई सार्थकता दिन गर्नुपर्ने काम धेरै छन् । पर्यटकीय, धार्मिक तथा पुरातात्विक महत्त्व बोकेको यो जिल्लामा सम्भावना अझै धेरै छन् । यसैले यहाँ रोजगारी र अर्थोपार्जनको सुनिश्चितता गर्छ । तर त्यस्ता सम्भावित क्षेत्रको खोजी र प्रवद्र्धन गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउनु आवश्यक छ । यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षण गरी यी क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लिएर प्रवेश अनुमति दिने प्रणालीको विकास गर्ने हो भने यसबाट स्थानीयले रोजगारी त पाँउछन् नै साथसाथै ती क्षेत्रको संरक्षणका लागि आर्थिक संकलन पनि हुने गर्छ ।
खेर गइरहेको पानीका स्रोतहरुलाई एकीकृत गरी सिँचाइ सुविधा पुर्याउने र आधुनिक कृषि प्रणालीको विकास गर्न सकिन्छ । लोहोरे खोला, छामघाट खोला, पादुका खोला र कर्णाली नदीको किनारमा रहेका समथर भूभागमा व्यवस्थित सहर बसाउन सकिन्छ । यससँगै पछिल्लो समय चर्चामा रहेको भैरवी गाँउपालिकाको माथिल्लो भूभाग मान्मा, पानी पोखराजस्ता क्षेत्रमा अलैंची खेती गरेर यहाँका स्थानीयको अर्थोपार्जनमा टेवा दिन सकिन्छ । दैलेखलाई थप सुन्दर बनाउन सकिने सम्भावनाबारे नयाँ जनप्रतिनिधिहरु जानकार छन् । स्थानीय तहमै आफ्ना शक्तिशाली जनप्रतिनिधि पाइसकेका दैलेखबासीले त्यो सम्भावनालाई परिचालन गर्नुपर्ने दैलेख १ ख बाट प्रदेशसभामा निर्वाचित सांसद अम्मरबहादुर थापा बताउँछन् । ‘सबैभन्दा महत्त्वपूर्ण र क्षमतावान स्थानीय सरकार छ’, थापा भन्छन्, ‘जिल्लाको विकासको लागि यहाँका स्थानीय सरकार नै अग्रसर हुनुपर्छ ।’


कांग्रेस दैलेखका नेता जगतजंग थापा अहिलेसम्म दैलेखको विकासको गति सुस्त भएको र त्यसलाई तीव्र बनाउनुपर्नेमा जोड दिइरहेका छन् । ‘दैलेख सदरमुकामबाट जुम्ला, कालिकोट र जाजरकोट जाने सडक निर्माण गर्नुपर्छ’, थापा भन्छन्, ‘यहाँको पर्यटकीय पूर्वाधार निर्माणको लागि शक्तिशाली पर्यटन विकास समिति बनाएर अघि बढ्नुपर्छ ।’ स्थानीय बासिन्दाहरु पनि दैलेखको विकास र समृद्धि कुरिरहेका छन् । जनप्रतिनिधिहरुले दैलेखको भलाइ सोचेर काम गरिदिए त्यो दिन छिटै आउने उनीहरुको विश्वास छ । भैरवी गाँउपालिका कुसापानीका नगेन्द्र गौतमले भने, ‘नेताहरुले चुनाव जित्ने जाने र फेरि फर्केर आफ्नो ठाँउ नहेर्ने भए । त्यहि भएर केही हुन नसकेको हो ।’ जितेर गइसकेपछि नेतालाई भेट्नै कठिन हुने तितो अनुभव छ उनीसँग । २ लाख ४९ हजार ३५८ जनसंख्या रहेको दैलेखमा कुल ११ स्थानीय तह छन् । यहाँबाट प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ जनाले प्रतिनिधित्व गर्छन् ।
फेरि पनि सडककै कुरा, दैलेखको अधिकांश भूभागमा सडक पुगेको छ । साना सवारी साधनहरु सहजै गुड्न सक्छन् । तर गाँउगाउँ पुगेका अधिंकाश सडकहरु साँघुरा तथा कच्ची छन् । बर्खायाममा हिलो र अन्य समयमा धुलोले गर्दा सवारी साधन चलाउन निकै कठिन हुन्छ । ‘बाटो छ भनेर के गर्नु, गाडी चलाउन निकै मुस्किल छ’, गाडी चालक सद्दाम हुसेनले भने, ‘डरैडर मानेर चलाउनुपर्छ ।’ वीरेन्द्रनगर सुर्खेतका हुसेन केही वर्षदेखि दैलेख लगायतका जिल्लामा गाडी रिजर्भमा लैजाने गरिरहेका छन् । धुलोले गर्दा निकै गाडी चलाउन निकै अप्ठ्यारो हुने हुसेनको अनुभव छ । दैलेख प्रदेश नम्बर ६ कै सबैभन्दा बढी पहुँच भएको जिल्ला हो भन्दा फरक पर्दैन । पश्चिम दैलेखको धेरै भूभागमा कर्णाली राजमार्ग पुगेको छ । जिल्लाको मध्यभागमै मध्यपहाडी लोकमार्ग छ । यी दुई ठुला सडकका साथै स–साना धेरै सडक छन् । तर स्तरोन्नति हुन सकेको छैन । गाउँगाउँ पुगेका सडकलाई विस्तार गर्दै ठूला गाडीहरु पनि पुग्न सक्ने बनाउन जरुरी देखिन्छ । त्यो आवश्यक पनि छ । कठिन ठाँउमा रहेको सडकको विकल्प खोज्नुपर्दछ । समृद्ध दैलेख निर्माणका लागि सडकलाई सहज बनाउन आवश्यक छ । तर जति सडक छन्, तिनले दैलेखलाई गतिशील बनाइरहेका छन् । धुलाम्य नै किन नहोस्, हरेक गाँउगाँउमा खोलिएका सडकले दैलेखको समृद्धिको नक्सा भने कोरेका छन् ।

प्रकाशित मिति : ८ पुष २०७४, शनिबार ०९:०९