सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ को राजधानी कर्णाली क्षेत्रमा नभए आन्दोलन


जुम्ला । जुम्लाका सबै दलका प्रतिनिधिले प्रदेश ६ को राजधानी कर्णाली क्षेत्रमै हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा आयोजित ‘६ नम्बर कर्णाली प्रदेश र राजधानी’ विषयक छलफलमा दलका स्थानीय प्रतिनिधिहरुले कर्णाली क्षेत्रमै राजधानी हुनुपर्ने निष्कर्ष निकालेका हुन् । कार्यक्रममा पूर्वसभासद् देवीलाल थापाले पहिचान र सामथ्र्यलाई आधार मानेर १ सय पूर्णाङ्कमा दुवै जिल्लाको मापन गर्दा जुम्लाले ७५ र सुर्खेतले २५ अंक ल्याउने दाबी गरे ।
‘सरकारले लादेर भए पनि सुर्खेतलाई राजधानी बनाउने हिसाबले अस्थायी राजधानी प्रस्ताव गरेको छ, यसमा कर्णाली संवेदनशील भएर जाग्नुपर्छ,’ उनले भने । नेकपा एमाले जुम्लाका प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले प्रदेशको राजधानी कर्णाली मनासिव हुँदाहुँदै सुर्खेतलाई अस्थायी राजधानी बनाइए कर्णालीबासीका लागि अन्याय हुने धारणा राखे । उनले प्रदेशको राजधानी कर्णालीमा नबनाए समग्र कर्णालीले नै आन्दोलन गर्ने बताए । नेपाली कांग्रेसका नेता देवेन्द्र शाहीले पनि राजधानी कर्णालीमै हुनुपर्ने बताए। उनले अब राजधानीका लागि एक भएर लाग्नुको विकल्प नरहेको बताएका थिए ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष नन्दराम रोकाया, नेपाली कांग्रेसका प्रतिनिधि लक्ष्मण शाही, माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष भवानीप्रसाद अधिकारी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य बलिराज शाही, नेमकिपाका प्रतिनिधि अमरसिंह बुढथापा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) का प्रतिनिधिद्वय सुकवीर नेपाली र वृषबहादुर कठायतले सामथ्र्य र पहिचानको अधिकतम मापदण्डभित्र पर्ने कर्णालीमा राजधानी तोक्न राज्यले कञ्जुस्याइँ गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । रासस

प्रकाशित मिति : ८ पुष २०७४, शनिबार ०८:४८