सूचनाको शक्ति - The Power Of Information

        

कालिकोट घटना छानबिन गर्न मन्त्री शाहीको माग, प्रहरी भन्छ, ‘म्यादीलाई माला लगाएको हो, गोली हानेको छैन’


कालिकोट । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले १ को मृत्यु र आधा दर्जन म्यादी प्रहरी घाइते हुनेगरी कालिकोट सदुरमुकाममा शुक्रबार भएको घटनाको छानबिन गर्न माग गरेका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै मन्त्री शाहीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन् ।
‘यही पुस ७ गतेका दिन कालिकोट जिल्ला सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शाहीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना घट्नै नपर्ने घटना हो । यसको कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गर्दछु ।’ मन्त्री शाहीले दुःखद् घटना भइसकेकाले अब संयमित भएर अघि बढ्नसमेत सबैलाई आग्रह गरेका छन् ।
आफ्नो तलब कटाइएको भन्दै कालिकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि शुक्रबार त्यहाँ तनाव भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवाका १९ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका छन् । यद्यपि, प्रहरीले गोली नचलाएको दाबी गरेको छ ।

‘म्यादीलाई माला लगाएको हो, गोली हानेको छैन’
कालीकोटमा शुक्रबार गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भयो । म्यादी प्रहरीले चुनाव सफल पार्न अहोरात्र योगदान गरेका थिए, तर अहिले उनीहरुले सेवा सुविधामा चित्त नबुझेर आन्दोलन गर्दा गोली खानुपरेको छ । कालीकोटमा यस्तो दुःखद घटना कसरी भयो ? यसबारे सरकारले छानविन गरिने बताएको छ ।
यसैवीच, नेपाल प्रहरीका उच्च अधिकारीले भने उक्त घटनामा प्रहरीको हात नरहेको प्रारम्भीक प्रतिक्रिया दिएका छन् । प्रहरीले म्यादीहरुलाई फूलमाला लगाएर विदाइ गरेको तर गोली नहानेको दाबी उच्च प्रहरी अधिकारीको छ । नेपाल प्रहरीका एआईजी रणबहादुर चन्दले प्रहरीले गोली नहानेको दाबी गरेका हुन् । एआइजी चन्दका अनुसार म्यादी र प्रहरीवीच तलव सुविधाबारे कुनै विवाद थिएन । चन्दका अनुसार शुक्रबार दिउँसो साढे ११ बजे अबिर लगाएर म्यादीलाई विदाई गर्ने कार्यक्रम थियो ।
म्यादीको तलव भत्ता सिधै उनीहरुको बैंक खातामा जाने भएकाले कुनै विवाद नभएको एआइजी चन्दको भनाइ छ । तर, शान्नीत्रिवेणी गाउँपालिका वडा नं ४, हाल रास्कोट नगरपालिका वडा नं २ वस्दै आएका बिवेक ऐडीको गोली लागेर मृत्यु भएको छ । यस घटनाबारे दलका स्थानीय नेताहरुसँग छलफल भएको र छानविनपछि यथार्थ रिपोर्ट बाहिर आउने एआइजी चन्दले बताए ।

स्थानीयको बेग्लै दाबी
स्थानीयले भने म्यादी प्रहरीले गरेको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले एक्कासी गोली चलाउँदा ऐडीको मृत्यु भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार डीएसपी सुवासचन्द्र वोहोराले सरकारको १५ लाख गएर केही फरक पर्दैन, गोली ठोक भन्दै प्रहरीलाई आदेश दिएको स्थानीयको आरोप छ । त्यसपछि प्रहरीले टाउकोमै ताकेर गोली हानेको प्रत्यक्षदर्शीको दाबी छ । गोली लागेपछि भूइँमा ढलेका ऐडीलाई अन्य म्यादी प्रहरीले उठाउन जाँदा अश्रु ग्यास हानेर तितरबितर पारेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ८ पुष २०७४, शनिबार ०७:२९