सूचनाको शक्ति - The Power Of Information

        

पाँच नम्बर प्रदेशको राजधानी दाङमै हुने महराको दावी


दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सुरक्षा संवेदनशीलताका कारण प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउनु पर्ने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी नेपालले शुक्रबार दाङको घोराहीमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महराले यस्तो बताएका हुन् ।
‘राजधानीजस्तो संवेदनशील विषय जहाँ पायो त्यहिँ राख्न हुँदैन, भोलि प्रदेशको राजधानीमा कुनैपनि बाह्य हस्तक्षेपको स्थिती नहोस् भनेर दाङ एकदम उपयुक्त ठाउँ हो भन्ने कुरा राखिएको हो’, उनले भने । महराले दाङलाई प्रदेश राजधानी बनाउनका लागि आफूले सबै दलका शिर्ष नेताहरुलाई भेटेर कुराकानी गरिसकेको जानकारी दिँदै दाङ प्रदेश राजधानीका लागि सबै हिसाबले उपयुक्त रहेको जिकिर गरे ।
‘मैले आफ्नो निर्वाचन अभियानका क्रममा प्रतिबद्धतापनि व्यक्त गरेको छु, शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड लगायत सरोकारवाला नेताहरुसंग भेटेर कुराकानी पनि गरेको छु’, उनले भने,‘पाँच नम्बर भनेको पश्चिममा बर्दिया, पूर्वमा आधा नवलपरासी, उत्तरमा पूर्वी रुकुमलाई हेर्दा सबै हिसाबले दाङ प्रादेशिक राजधानीका लागि उपयुक्त ठाउँ हो ।’
प्रतिनिधिसभा सदस्यमा दाङ–२ बाट निर्वाचित महराले अन्य ठाउँभन्दा दाङको विकास गर्न आवश्यक रहेको बताए । ‘विकासका दृष्टिकोणले पनि दाङलाई केन्द्रविन्दु बनाएर विकास गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘नेपालगन्जदेखि कोहलपुरसम्म औद्योगिक हिसाबले विकास भइ नै रहेको छ, भैरहवादेखि बुटवल पनि औद्योगिक र व्यवसायिक सहरका रुपमा विकास भइरहेको छ, अब विकास गर्नुपर्ने दाङमा नै छ ।’ महराले सातवटा मध्ये चार नम्बर प्रदेशमा मात्र राजधानीको विवाद नरहेको बाँकी सबै प्रदेशमा विवाद रहेको बताए ।
फरक प्रसंगमा कुरा गर्दै महराले पार्टी एकताको कुरा चाँडे टुंगिने बताए । ‘माओवादी केन्द्रको बैठक बसिसकेको छ, एमालेको पनि बैठक बस्दैछ, दुवै पार्टीको बैठक बसिसकेपछि यो प्रकृया अगाडि बढ्नेछ’, उनले भने, ‘केहि विषयहरुमा छलफल भइसकेको छ, केहि ठूला विषयहरुलाई महाधिवेशनमा लगेर टुंग्याउने गरी छलफल गरेर यो प्रकृया चाँडै टुंगिने सम्भावना छ ।’

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ११:३९