काठमाडौँ । काङ्ग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशव्यापी पराजय भोगिरहेको समयमा बर्दिया–१ मा अप्रत्यासित नजिता निस्कियो । नेकपा एमालेका ‘हेभिवेट’ नेता तथा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई काङ्ग्रेसका जिल्ला सभापति सञ्जयकुमार गौतमले हराइदिए । सुरुवाती अग्रता लिएका एमाले नेता गौतमलाई सिंचाइ मन्त्री रहेका अर्का गौतमले अन्तिम समयमा पछि पारे ।
वामदेवलाई हराएपछि सिंचाइ मन्त्रीको चर्चा चुलियो । काङ्ग्रेसका अधिकांश मन्त्रीले हार व्यहोर्दा वामगठबन्धनका सूत्रधार मानिने वामदेव भने सिंचाइ मन्त्रीसँग पराजित भए । एमाले उपाध्यक्ष, वामगठबन्धनका सूत्राधार तथा २०७० मा बर्दिया–१ का विजयी सांसद वामदेवलाई हराएपछि मिडियाका लागि सिंचाइ मन्त्री गौतम ‘हटकेक’ भएका छन् । यद्यपि वामदेवको हारमा अन्तर्घात भएको भन्दै एमालले छानविन समिति पनि बनाएको छ । वामदेवलाई हराएरका सञ्जयका कुरा सञ्जयकै शब्दमा :
–वामदेवको पराजय अरूलाई आश्चर्यजनक लाग्यो तर मलाई स्वाभाविक लागेको छ । यस पटकको निर्वाचनको सन्दर्भमा मैले बारम्बार दलका शीर्ष नेताहरूलाई भन्ने गरेको थिएँ, मेरो धेरै पुरानो इच्छा पूरा हुने भयो । मैले एक ठूलो व्यक्तिसँग चुनाव लड्ने अवसर पाएँ । राजनीतिक जीवनको २५/२६ वर्ष मैले बर्दियाको माटोमा विताएको छु ।
–स्थानीय चुनावको ३१ हजार ८०० को मतान्तर देखाएर मलाई धेरैले हतोत्साहित गर्ने कोसिस पनि गरे । बर्दियामा मैले लामो राजनीतिक यात्रा गरेको छु । पार्टीको तल्लो निकायदेखि काम गर्दै आएको हुँ । त्यसकारण मलाई भित्रभित्रै जित्छु भन्ने आत्मविश्वास थियो । चुनावी परिणाम मेरो पक्षमा आउँछ भन्नेमा आत्मविश्वास पनि ममा थियो । निर्वाचन इमानदारपूर्वक लडेँ । परिणामले पनि त्यही देखायो । देश दुनियाँ सबैलाई आश्चर्यजनक लाग्यो ।
–वामदेवको विषयमा मैले टीका टिप्पणी गर्नु अशोभनीय हुन्छ । तर उहाँ नामको हेभिवेट हो । म कामले हेभिवेट हो । त्यहाँ आम जनताको मनमा म थिएँ । त्यहाँको माटो तथा जनताले मसँग आशा गरेका थिए । २०७० मा निर्वा्चित भएपछि त्यहाँको आवश्यकताको पहिचान गरेँ । वामदेवले मलाई शोषक, जमिनदार भन्नुभयो । तर राजनीतिक यात्रामा बर्दियामा जमिनदारी उहाँले चलाउनुभएको हो । म त किसान हुँ । बर्दियामा सामाजिक प्रवृत्तिका विरुद्धमा मेरो लडाइँ जारी थियो ।
–बर्दियाको माटोमा भिजेको हुनाले त्यहाँका जनताले मेरो प्रतिनिधित्वले उनीहरूको समस्या सम्बोधन हुने बुझेका थिए । बर्दियालाई वामदेवको जिल्ला र लालकिल्लाको फिलिङ्स त थियो तर आमजनतामा घोर निराशा थियो । निराशालाई चिर्दै आशा जागृत गराउन म सफल भएँ ।
–२०७० मा नेपाली काङ्ग्रेसका लागि तीन नम्बर क्षेत्र सुरक्षित भन्दै मलाई तत्कालीन पार्टी सभापति सुशील कोइरालाले क्षेत्र नम्बर ३ बाट उठ्न सल्लाह दिनुभएको थियो । मैले २ बाट नै उठेँ, निर्वाचन जितँे । बर्दिया १ वामदेवले २०७० मा जितेको स्थान पनि हो । स्थानीय निकायको मत देखाएर मलाई तर्साउने काम पनि भए । मैले त्यसलाई चुनौतीका रूपमा लिएँ । मिहिनेत गरेँ । धेरै समय खटेँ । जित निकालेँ । वामदेवलाई हराइसकेपछि दल, मिडियाले हेर्ने दृष्टिकोण फरक भएको महसुस गरेको छु । सञ्जयले गर्यो नि, गर्न सक्ने व्यक्ति रहेछ भन्ने परेको छ । हिजो मलाई नपत्याउने, मेरो कुरा नसुन्नेहरूले मेरो कुरा सुन्न खोजेको महसुस गरेको छु ।
नेपाली काङ्ग्रेस स्खलित भएको छ
–नेपाली काङ्ग्रेसको सङ्केत राम्रो थिएन । हामीले जुन–जुन एजेण्डालाई सम्बोधन गर्नुपथ्र्याे । त्यसमा हाम्रो नेतृत्व चुक्यो । नेपाली काङ्ग्रेसको पराजय आफ्नै कारणले भएको हो । टिकट वितरण र पुरानो पुस्तोको रवैयाका कारण चुनावमा पराजय बेहोर्नुपरेको हो । दुवै उत्तिकै दोषी छन् । नेतृत्वले जिम्मेवारी लिनुपर्दछ । अप्रत्यासित रूपमा वामगठबन्धनका पक्षमा मत गएको हुनाले एउटा कारण त गठबन्धन पनि हो ।
–गठबन्धनले हामीलाई फाइदा पनि गरेको थियो । हामीमा एक किसिमको अभूतपूर्व एकता वागठबन्धनले यो निर्वाचनमा बनाइदिएको थियो । गत निर्वाचनमा जस्तै नेपाली काङ्ग्रेस एक ढिक्का इतिहासमै भएको थिएन । वामगठबन्धनले हामीमा ऊर्जा पनि दिएको थियो । दुई धु्रवमा राजनीतिक दलहरू विभाजित भएका छन् । तर, नेपाली काङ्ग्रेस स्खलित भएको छ । हाम्रो सोच, दृष्टिकोण ३० वर्षअघिको काङ्ग्रेस जस्तो छैन । पराजयमा कसैलाई दोष दिनुभन्दा आत्म समीक्षा गर्नुपर्छ । समानुपातिक मतले जनताको बीचमा हामी छौँ भन्ने पुुष्टि गरेको छ ।
–आम जनताको काङ्ग्रेसप्रति भन्दा पनि नेतृत्वप्रतिको वितृष्णा वा गुनासो हो । पराजयको नेतृत्वले जिम्मेवारी लिनुपर्छ । हामीले समग्र काङ्ग्रेस निमार्ण गर्न हामीले सकेनौँ । हाम्रो पार्टीको एकीकरण पनि अहिलेको वाम गठबन्धन जस्तै भएको छ । यस्तै गतिमा नेपाली नेपाली काङ्ग्रेस चलिरहे दुरदशा अझ भोग्नुपर्छ ।
–नेपाली काङ्ग्रेसलाई पुनर्ताजगी गर्नुपर्छ । शीर्ष नेतृत्वले आफ्नो अभिभारा निर्वाह गर्न नसकेको महसुस गर्नुपर्छ । दलभित्र आत्मसमीक्षा हुनुपर्दछ । केन्द्रीय समिति बैठक बोलाई महासमिति वा विशेष महाधिवेशन डाक्ने हो भने त्यो बैठकले निर्णय गर्नुपर्छ । केन्द्रीय सिमिति बैठक बोलाउन ढिलो भइरहेको छ । अविलम्ब केन्द्रीय समिति बैठक बोलाउनुपर्छ ।
नेपालमा कृषि र सिंचाइको सम्बन्ध नै छैन
–नेपालमा कृषि र सिंचाइको सम्बन्ध नै छैन । सिंचाइ र उद्योगको सम्बन्ध छैन । एकीकृत ढङ्गले जबसम्म विकासलाई सोच्न सकिन्न भने त्यसले आकार दिँदैन । मन्त्रालयहरू आफ्नै आफ्नै ढङ्गले चलेका छन् ।
–राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको आवश्यकता अनुसारले तिनीहरूको व्यवस्थापन आवश्यक छ । सोेंच, साधन र जनशक्तिको अभाव छैन । स्थायी सरकारको अभावमा हामी अल्मलिएका छौँ । लगानी बढेका बढ्यै छ । तर उत्पादन घटेको छ । कहीँ न कहीँ कमजोरी त छ नि । प्राप्त स्रोत र साधनलाई उच्चतम प्रयोग गर्न सकेनौँ ।
–बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चारवटा राष्ट्रिय गौरवका आयोजना छन् । बबई भेरी आयोजना, भेरी डाइभर्सन आयोजना, सिक्टा सिंचाइ आयोजनालगायतका गौरवका आयोजनालाई एकीकृत गर्न सकेको भए ती ठाउँबाट कृषिको क्रान्ति गर्नसक्ने थियौँ । नेतृत्व यस विषयमा गम्भीर हुनुपर्छ ।
–अब त मैले सोचेको गर्न सकिने अवस्थामा छैन । कर्मचारीको मानसिकता पनि त्यस्तै हुन्छ । मेरो कार्यअवधिमा सिंचाइका राष्ट्रिय आयोजनामा बढी ध्यान दिएको छु । राष्ट्रिय गौरवका आयोजनाहरू कार्यतालिका अनुसार अघि बढेको छ । चारवटै आयोजनाको मोनिटरिङ एकै स्थानबाट गरिने गरी निर्णय गराएको छु । राष्ट्रिय आयोजनालाई हेर्ने दृष्टिकोण, कार्यशैली पनि फरक हुनुपर्यो । राष्ट्रिय गौरवका आयोजनाको अध्ययनका लागि एक टोलीलाई विदेश पठाउने सोचमा छु ।
।