रोहेज खतिवडा । महेन्द्रनगर । वेदकोट नगरपालिकाका वार्ड नम्बर १ र २ कञ्चनपुरकै पहिलो छाउगोठ मुक्त वडा बनेका छन् । यी दुई वडा गैरसरकारी संस्थाको भरमा मात्र होइन, यहाँका निर्वा्चित जनप्रतिनिधिको मिहिनेतका कारण छाउगोठ मुक्त भएका हुन् । वडा नम्बर १ का अध्यक्ष हरि गिरी र २ का नरेशबहादुर सिंह आफू निर्वा्चित भएपछि नै यो अभियानमा लागेका थिए ।
वडा समितिमा निर्णय नै गरेपछि दुई महिना उनीहरु निरन्तर यो अभियानमा खटे । फलस्वरुप गत सोमबार भव्य सांस्कृतिक कार्यक्रमसहित यी दुई वडा छाउगोठ मुक्त घोषणा भए । ‘अहिलेको समयमा कञ्चनपुरजस्तो जिल्लामा छाउगोठ हुनु निकै लाजमर्दो अवस्था हो,’ कार्यक्रम हुनुअघि वडा नम्बर २ का वडाध्यक्ष नरेशबहादुर सिंहले भने । उनी जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । महेन्द्रनगरमै एमबिएम पढ्दै गरेका २६ वर्षीय सिंहले एमालेबाट वडाध्यक्ष जितेका हुन् ।
घोषणा कार्यक्रममा वडाध्यक्ष सिंह
उनी अहिले एमालेनिकट अनेरास्ववियुको जिल्ला उपाध्यक्ष छन् । स्थानीय चुनावमा जिल्लाभरमा ७ जना विद्यार्थी नेता उठेका थिए । बाँकी ६ जनाले जित हात पार्न सकेनन् । स्थानीय चुनाव जित्ने उनी एक्ला विद्यार्थी नेता पनि हुन् । चुनाव जितेपछि गत कात्तिकमा बसेको वडा समितिको बैठकमा उनले छाउगोठ हटाउने अभियान चलाउने निर्णय गरेका थिए । त्यसयता उनी निरन्तर यो अभियानमा लागिरहेका छन् । करिब एक वर्षदेखि काठमाडौंको साथी संस्था र स्थानीय द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले यहाँ छाउपडी प्रथा विरुद्ध काम गरिरहेका थिए ।
‘सरकारले कानुन नै बनाएर छाउपडी प्रथालाई अपराधका रुपमा लिएपछि यसविरुद्ध काम गर्नु जनप्रतिनिधिको जिम्मेवारी पनि भयो,’ उनले भने, ’कात्तिकमा निर्णय गरेपछि म निरन्तर रुपमा काम गरिरहेको छु ।’ दैलेखकी तुल्सी शाहीको मृत्यु पश्चात छाउपडी प्रथालाई गम्भीर रुपमा लिँदै सरकारले यसविरुद्ध कानुन बनाएको छ । छाउगोठमा राख्नेलाई ३ महिना कैद वा ३ हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । यही समाजमा हुर्किएका सिंह आफ्नो गाउँको यस्तो पछौटे अवस्थासँग लज्जित थिए ।
यतिमात्रै होइन, छाउगोठका कारण धेरै विद्यार्थीको पढाइ छुटिरहेको, बिरामी परेको पनि उनलाई थाहा थियो । अरु ठाउँमा छाउगोठभित्र महिला बलात्कृत भएको, सर्पले डसेको, जंगली जनावरले आक्रमण गरेको खबर पनि सुनिरहेकै थिए । अछाममा छाउगोठभित्रै सर्पले डसेर तुल्सी शाहीको मृत्यु भएको खबर पुरानो भएकै छैन । त्यसैले, उनमा आफ्नो गाउँबाट छाउगोठ हटाइहाल्ने चाहना थियो । उनको घरमा न त छाउगोठ थियो, न त छाउ (महिनावारी) हुँदा गोठमा बस्ने चलन नै । सानै उमेरदेखि उनले छरछिमेकका छाउगोठ देख्थे । मान्छे मुस्किलले पस्न सक्ने यी गोठ किन बनाएको होला भन्ने उनलाई लागिरहन्थ्यो ।
अलि ठूलो भएपछि उनले थाहा पाए, यी गोठहरु महिनावारी भएका बेला आमा दिदीहरुलाई बस्न बनाइएका हुन् । सुरुमा उनलाई यो कुनै अनौठो कुरा लागेन । समाजमा सदियौंदेखि चलेको चलन यही समाजमा हुर्किएको बालकलाई अनौठो लाग्ने कुरा पनि थिएन । जब उनी कक्षा ९ मा पढ्ने भए, तब भने उनलाई जिज्ञासा हुनथाल्यो । स्कुलमा पढाइहुने किताबमा ’महिनावारी हुनु महिलाको स्वभाविक प्रक्रिया हो, यो कुनै अपवित्र कुरा होइन’ लेखिएको हुन्थ्यो । तर, आफ्नै कक्षाका केटीहरु छाउ हुँदा स्कुल आउन पाउँदैन थिए । उनीहरु त्यही छाउगोठमा बस्नुपथ्र्यो । यसैबेला उनी बाल क्लबको अध्यक्ष बने ।
उनले जिल्लामा हुने विभिन्न सचेतनामूलक कार्यक्रमहरुमा भाग लिन पाए । बाल क्लबमै पनि यसबारे छलफल हुन थाल्यो । अनि मात्र उनले छाउप्रथाबारे राम्रोसँग बुझ्ने अवसर पाए । यही बेला उनी अनेरास्ववियुमा पनि आबद्ध भए । विद्यार्थी राजनीतिका क्रममा पनि उनले छाउप्रथाबारे बुझ्ने अवसर पाए । ‘यो हाम्रो समाजमा रहेको अत्यन्तै नराम्रो कुप्रथा हो भन्ने मैले त्यतिबेला मात्र बुझ्न सकें । बुझे पनि हामीले यसविरुद्ध केही गर्न सक्ने अवस्था थिएन । बाल क्लबमार्फत केही सचेतनामूलक काम गर्ने प्रयास गर्यौं । तर, केटाकेटीको कुरा भनेर कसैले चासो दिएनन्,’ उनले पुराना दिन सम्झिए, ’यी केटाकेटीले अहिले कुरा बुझेका छैनन् भन्थे सबैले ।’
प्लस टु पढ्न थालेपछि उनी आफ्नै गाउँको युवा क्लबमा आबद्ध भए । चाँडै उनी क्लबको अध्यक्ष पनि बने । तत्कालीन दैजी गाविस वडा नम्बर ६ मा दिव्यज्योति युवा क्लबका माध्यमबाट उनी छाउगोठ विरोधी अभियानमा लागे । ’दुईपटक त हामीले छाउगोठ भत्कायौं पनि,’ उनले भने, ’सुरुमा गोष्ठी, भेला गरेर चेतना जगाउने प्रयास गर्यौं र अन्तिममा भत्काउनै गएका थियौं ।’ क्लबको एक्लो प्रयासले समाजमा जकडिएको अन्धविश्वासलाई हल्लाउन सकेन । बरु छाउगोठ भत्काउन सजिलो थियो, हजारौं वर्षदेखि मानिसको मनमा गाडिएको अन्धविश्वास उखेलेर फाल्न सजिलो थिएन । यो कति गाह्रो काम रहेछ भन्ने उनले त्यसबेला महशुस गरे ।
छाउगोठ भत्काउने क्रममा कतिपटक त झगडा पनि भयो । आफ्नो संस्कृतिविरूद्ध उत्रिएको भन्दै उनले आलोचना पनि खेप्नुपर्योे । ‘क्लबकै साथीहरुलाई बुझाउन समय लाग्यो,’ उनले भने, ’कतिपय महिला साथी नै संस्कारविरुद्ध क्लब लाग्नु हुँदैन भन्थे ।’ उनीहरु अन्धविश्वास चिर्न सक्ने भएकै थिएनन् । अहिले वडाध्यक्षका रुपमा काम गर्दा भने त्यो अनुभव उनलाई काम लागेको छ । त्यसो त उनलाई वडाध्यक्ष बन्ने बाटो पनि यही क्लबले नै बनाइदिएको हो । क्लबमा हुँदा गरेका कामको बदलामा यहाँका मतदाताले वडाध्यक्षमा विजयी गराएको उनी स्वीकार गर्छन् । ‘छाउपडी कञ्चनपुरको मौलिक समस्या होइन, यो सरिआएको समस्या हो,’ उनले आफ्नो गाउँको वास्तविकता बताए ।
छाउप्रथा कञ्चनपुरमा नै परापूर्वकालदेखि बसिआएका थारुलगायत अन्य समुदायमा छैन । जति छ, पहाडबाट बसाइँ सरेर आएका समुदायमा मात्रै छ । त्यसमा पनि वेदकोट नगरपालिकामा खासगरी अछामका मानिसहरुको आवादी बाक्लो छ । अछाम आज पनि सुदुरपश्चिममा छाउप्रथाको सबैभन्दा जटिल समस्या भएको जिल्ला हो । ‘अछामबाट बसाइँ आउने क्रममा उनीहरुले आफ्नो संस्कृति पनि सँगै लिएर आए,’ सिंहले भने, ‘उनीहरुले राम्रो संस्कृति पनि ल्याए, नराम्रो संस्कृति पनि ल्याए । यसले नै यहाँ छाउगोठको समस्या अलि धेरै भएको हो ।’ यो समस्याविरुद्ध जुध्न उनले वडामा निर्णय गरेपछि सबै राजनीतिक दलसँग छलफल गरे । पटकपटक छलफल गरेपछि यसमा अघि बढ्न उनलाई सहज भयो ।
यसपछि उनले स्थानीय धामीझाँक्रीसँग छलफल सुरु गरे । उनको वडामा करिब २५ जना धामी छन् । सुरुमा सबै उनको विरुद्धमा थिए । छाउ हुँदा गोठमा नबसे देउता रिसाउने र अनिष्ट हुने चेतावनी उनीहरुले दिइरहे । ‘सुरुमा त कोही पनि मानेका थिएनन्,’ वडाध्यक्ष सिंहले भने, ‘हामीले धेरै पटक भेला गरेर कुरा गर्यौं । मैले उनीहरुलाई एक्लैएक्लै भेटेर पनि कुरा गरेँ । कानुनको डर समेत देखाएँ ।’ अन्ततः उनीहरु सहमत भए । यसपछि उनलाई काम गर्न धेरै सहज भयो । अन्धविश्वास व्याप्त समाजमा धामीझाँक्रीका कुरा धेरैले मान्छन् भन्ने बुझेरै आफूले धामीझाँक्रीलाई हातमा लिएको उनले बताए । वडा नम्बर १ का अध्यक्ष हरिबहादुर गिरीको साथले पनि उनलाई धेरै सजिलो भयो । गिरी आफैं धामी हुन् । त्यसैले धामीझाँक्रीदेखि सर्वसाधारणलाई कुरा बुझाउन गिरीको भूमिकाले धेरै सहयोग र्पुयायो ।
धामीझाँक्रीसँगको छलफलपछि यिनै धामीझाँक्री अघि लगाएर सर्वसाधारणसँग छलफल सुरु गरे । धेरैलाई सहमत गराए । कतिपयले आफैं छाउगोठ भत्काए । बितेका १५ दिन भने छाउगोठ भत्काउने काममा नरेश आफैंअघि सरे । ‘अलि बुढापाकाले त गाली गरे,’ उनले आफ्नो अप्ठ्यारो सुनाए, ’राम्रो काम गर्छौ भनेर भोट दिएको त हाम्रै गोठ भत्काउन पो आयौ त भने ।’ उनलाई कतिपयले भोलि केही भैपरी आयो भने जिम्मा लिन्छौ भनेर समेत सोधे । उनी डराएनन् । कुनै संयोग पर्योक भने अप्ठ्यारो हुनसक्छ भन्ने जान्दाजान्दै उनले आँट गरे र ’मेरो जिम्मा भयो’ भनिदिए । कागजमा लेखेरै दिए । उनी हाँसे, ‘देउताको पनि जिम्मा लिएर काम गर्नुपरेको छ ।’ अभियानका दौरान दुई वटा वडामा करिब ५० जति छाउगोठ भत्काए । वडा नम्बर २ मा मात्रै २४ वटा छाउगोठ भत्काएको सिंहले बताए ।
वडा नम्बर १ र २ को घोषणापछि अब नगरपालिकालाई नै छाउगोठ मुक्त बनाउने उनीहरुको योजना छ । नरेश नगर कार्यसमिति सदस्य र न्यायिक समिति सदस्य पनि रहेकाले उनलाई नगरपालिकाभरि काम गर्न सजिलो छ । नगरपालिकामा अब ३ सय जति छाउगोठ रहेको उनले सुनाए । ‘हामीले नगरपालिकाको बैठकमा पनि यसबारे छलफल गरेका छौं,’ उनले भने, ’अब हामी बाँकी रहेका ७ वटा वडालाई पनि छाउगोठ मुक्त बनाउँछौं ।’ छाउगोठ भत्काउनु नै छाउपडी प्रथा अन्त्य हुनु होइन, यसलाई दीगो बनाउन र यससँग सम्बन्धित अरु अन्धविश्वास तोड्न उत्तिकै चुनौतिपूर्ण ठान्छन् सिंह । उनी भन्छन्, ’अझै पनि छाउ भएका महिलाले किताब पढे विद्याकी देवी सरस्वती रिसाउँछिन्, दहीदूध छोए भैंसी रुख चढ्छन् भन्नेजस्ता अन्धविश्वास समाजमा बाँकी नै छन् ।’ –नेपाल लाइभबाट
।