सूचनाको शक्ति - The Power Of Information

        

जेसीज महाधिवेशनको तयारी पुरा, भैरहवाका होटलहरु खचाखच


भैरहवा । नेपाल जेसीजको ४४ औं महाधिवेसन यहि पुस ८, ९ र १० गते भैरहवामा हुनेगरी तयारी पुरा भएको छ । जेसीआई सिद्धार्थ नेपालको आथित्यमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । भैरहवास्थित महेन्द्रसभा गृहमा हुने उक्त महाधिवेसनको पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।
महाधिवेसनमा स्वाथ्य मन्त्री दिपक बोहरा, एमाले उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम भुसाल र नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, जेसीजका अन्तर्राष्ट्रिय प्रशिक्षक मिलन गुरुङ्ग, अन्तर्राष्ट्रिय मोटिभेटर रमन नेपाली लगायत देशविदेशका ख्यातीप्राप्त व्यक्तिहरुको समेत सहभागीता रहनेछ । महाधिबेशनमा १ करोड ३५ लाख खर्च हुने बताइएको छ ।
महाधिवेसनमा देशैभरबाट भाग लिन आउने प्रतिनिधिहरुको बासको व्यवस्थापनका लागि बेलहियादेखि भैरहवाको बंमेलीटोलसम्मका २ हजार ५०० भन्दा बढी होटलहरु बुक भइसकेको महाधिवेसनको आयोजक संस्था जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिएका छन् । ८ गते भैरहवाको महेन्द्रसभा गृहमा पूर्व प्रधानमन्त्री प्रचण्डले महाधिवेसनको उद्घाटन गर्ने गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुराइएको महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
निर्देशक श्रेष्ठले भने, ‘महाधिवेसनको उद्घाटन ८ गते भब्य तरिकाले हुन्छ । ९ गते भैरहवामा शान्ति र्याली हुन्छ । १० गते नयाँ नेतृत्वको लागि निर्वाचन हुन्छ । यो बीचमा विभिन्न तालिम तथा गोष्ठी पनि हुनेछन् ।’ सन् १९९१ मा भैरहवामा सम्पन्न महाधिवेसन पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईले उद्घाटन गरेका थिए । सो महाधिवेसनबाट उत्तर चापागाई राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला जेसीआइ सिद्धार्थको अध्यक्ष स्वर्गीय विजयराज शर्मा थिए भने अहिलेका महाधिवेशन निर्देशक महेन्द्र श्रेष्ठ त्यतिबेलाका कोषाध्यक्ष हुन् ।
त्यतिबेला १ हजार २०० प्रतिनिधि र पर्यवेक्षकलाई स्वागत गरेको भैरहवाले यतिबेला ठीक त्यसको देब्बर बढी २ हजार ५०० लाई स्वागत गर्दैछ । भैरहवामा आउने प्रतिनिधि र पर्यवेक्षकका लागि सबैभन्दा राम्रो आतिथ्यता गर्ने गरी तयारी पुरा भएको आयोजकले जनाएका छन् । नेपाल जेसीजको नयां नेतृत्वका लागि रामग्राम जेसीजका पूर्वअध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पूर्वअध्यक्ष महेश पौडेलको चर्चा छ । बस्याल हालको बोर्डका कार्यकारी उपाध्यक्ष हुन् भने पौडेल सन् २०१६ का कार्यकारी उपाध्यक्ष हुन् । नेपाल जेसीजको हालको नेतृत्वमा प्रकाश अधिकारी छन् । नेपाल जेसीजको बोर्डमा १९ जना रहने प्रावधान रहेको छ र सो पदमा पुग्न १८ वर्षदेखी ४० वर्षभित्रको हुनुपर्ने छ ।

प्रकाशित मिति : ६ पुष २०७४, बिहीबार ०३:३९