सूचनाको शक्ति - The Power Of Information

        

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कर बढाउन सुझाब


काठमाडौं । सुर्तीजन्य पदार्थको प्रयोगलाई कम गर्न यसमा लगाइने करमा वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्र, दी युनियन एसिया प्यासिफिक, एक्सन नेपाल र अमेरिकी क्यान्सर सोसाइटीको संयुक्त आयोजनामा भएको ’एड्भान्सिक टोबाको कन्ट्रोल इन नेपाल’ विषयक गोष्ठीको उद्घाटनमा बोल्ने वक्ताले सुर्तीजन्य पदार्थमा लगाइने कर वैज्ञानिक नभएको धारणा राखे ।
नेपालले सुर्तीजन्य पदार्थमा लगाएको कर विश्वमा निकै कम भएको उनीहरुको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सुर्तीजन्य पदार्थ प्रयोगमा निकै चासो दिएको बताए । नसर्ने रोग बढाउन सुर्तीजन्य पदार्थले बढावा दिएको बताउँदै ३२ अर्ब रूपैयाँ यसको व्यवस्थापनमा खर्च हुने उनले बताए । ‘कानुन बनाएर काम गरी नियन्त्रण गर्न कोसिस गरिरहेका छौं,’ उनले भने, ‘पहिलेभन्दा निकै कम प्रयोग हुन थाले पनि अझै काम गर्न बाँकी छ ।’
टोबाकोमा कर बढाउन आवश्यक भएको भन्दै स्वास्थ्य मन्त्रालयका नीति योजना तथा समन्वय महाशाखा प्रमुख डा श्रीकृष्ण गिरीले बच्चाहरू समेत सुर्तीजन्य पदार्थ प्रयोगमा फसेकोमा चिन्ता व्यक्त गरे । पुनर्जागरण महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले कतिपय कानुन बने पनि नियमन भने त्यही रूपमा हुन नसकेको औंल्याए । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा खुर्शिद आलम हैदरले युवालाई लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘टोबाकोमा कर नबढाई हुन्न, मस्तिष्क, श्वासप्रश्वास र क्यान्सर जस्ता रोग रोक्न टोबाको नियन्त्रण नै विकल्प हो ।’ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्दका प्रमुख बद्रीबहादुर खड्काले कर बढाउन सके मात्र यसको प्रयोगकर्ता घट्ने मान्यता अनुसार कर बढाउन सबैको सहयोगी भूमिकाको अपेक्षा गरे । दी युनियन एसिया प्यासिफिक क्षेत्रीय निर्देशक सिंगापुरका तारासिंह बमले सुर्तीजन्य पदार्थ प्रयोगदर घटाउन कर बढाउनुपर्नेमा जोड दिए ।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि उत्कृष्ट कानुन बनाए पनि कार्यनयनको चरणमा रहेको जानकारी गराए । विश्वमा २१ प्रतिशत टोबाको प्रयोगकर्ता रहेका छन् । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ५ पुष २०७४, बुधबार ०७:३३