नेपालगन्ज अलि गन्हाएको छ, फोहर छ, दुर्घन्धीत छ, अस्तव्यस्त छ । यो पुरानो सहर हो, यसपछि विकसित भएका सहरहरु महानगर भइसके, यो बल्ल उपमहानगर बनेको छ । साँघुरा गल्ली छन्, अस्तव्यवस्त पार्किङ अनि फुटपाथ लगाइएको छ । मध्य र सुदूरपश्चिमको प्रमूख व्यापारिक केन्द्र पनि हो नेपालगन्ज । धार्मिक, साँस्कृतिक, सामाजिक, ऐतिहासिक विविधता पनि छ, नेपालगन्जसँग । मुस्लिम समुदायको वाहुल्यता छ, यहाँ बाहुन, नेवार, मगर, शाह, ठकुरी, थारु, राई, तामाङ, यादव, कोरी, बर्मा, पासी, धोवी, लगायत सबै जातजातिको समिश्रण देख्न पाइन्छ । यहाँ हिन्दू धर्मावलम्बीहरुको ठूलो धार्मिकस्थल बागेश्वरी मन्दिर, मुस्लिमको मस्जित लगायत गुरुद्वारा, चर्च जस्ता थुप्रै धार्मिक स्थलहरु छन् । पर्यटन प्रवद्र्धनका लागि भएका पर्यटकीय क्षेत्रहरु ओझेलमा छन् । रानी तलाउ जीर्ण बनेको छ, मर्मत सम्भार छैन, दुर्गन्धीत छ, त्यसैले त पर्यटक शुन्य छ । महेन्द्रपार्क डेटिङ पार्कका रुपमा परिणत भएको छ, नव अविवाहित जोडीहरुको डेट गर्ने स्थलका रुपमा परिणत भएको महेन्द्र पार्क अहिले मिनी जु भनेर सञ्चालन गरिएको छ, तर अवस्था दयनिय छ । नव अविवाहित जोडीहरुले जेनतेन कमाईखाने भाँडो बनाइदिएका छन् । नेपालगन्जको धम्बोझी–विपीचौक सडक खण्डमा बाह्रै महिना विभिन्न रंगहरुमा फुलिरहने गुलमोहर आजभोली हराएको छ । फोरलेन सडकका क्रममा गुलमोहर हराएको हो । अहिले गुलमोहर त्यहाँ फुलिरहेको छैन । गुलमोहरसँगै सयौँ रुखहरु अहिले सुर्खेतरोडको प्रदुषण आफूले लिएर मानवलाई अक्सिजन दिन तयार छैनन् । किनकी अजभोली ती सयौँ हरिया रुखहरु हामी मावनले नै त्यहाँबाट हटाइदिएका छौँ । आजभोलि सुर्खेतरोडको प्रदुषण हामी आफैले सोसिरहेका छौँ । त्यही भएर होला, फोनलेन सडक बनेपछि अहिले हामी हरियो नेपालगन्जको अभियानमा लागिरहेका छौँ । हाम्रो चेत खुल्दैछ, हामीले बल्ल बुझ्दैछौँ, हाम्रा आँखा खुल्दैछन्, हामी बल्ल सपना बुन्दैछौँ, हरियो नेपालगन्जको । आजसम्म हाम्रा सोचहरु दीर्घकालिन भएनन्, हामीले नजिकको विषय मात्रै सोचिरह्यौ । पुरानो नेपालगन्ज उहिल्यै नयाँ बन्थ्यो, ऐतिहासिक नेपालगन्ज अहिले आधुनिक भइसक्थ्यो, साँघुरा गल्लीहरु अहिले फराकिला भइसक्थे, हाम्रो सोचहरु अझ अघि बढिसक्थे, तर हामीले भविष्य सोचेनौँ । र, त अहिले उखेलेर फ्याँक्नुपर्ने गुलमोहरहरु बीच सडकमै पर्ने गरी रोप्यौँ, अरु सयौँ रुखहरुलाई त्यसरी नि हुर्कायौँ, अनि त अहिले उखेलेर फ्याँक्नुपर्ने नियती हामीसँग आइपुग्यो ।
हामीमाझ यस्तो नियति आउँछ भन्ने कुरामा कुनै शंका नै थिएन । किनकी उही २० वर्षअघिको सडकको मापदण्ड र अहिलेको मापदण्ड एउटै हो । विगतमा नगरपालिकाले टेवलमूनिबाट मापदण्ड नहेरिकनै नक्सा पास गरेकै हो । नगरपालिकाले निर्माण गरेका सटरहरु पनि मापदण्ड विपरित नै छन्, सुर्खेतरोडका कतिपय घरहरु अहिले पनि मापदण्ड विपरित नै छन् । हाम्रा नगरपिता वा माता जे भन्नुस्, मापदण्डमा हेल्चेक्राई भएकै हो । यदी त्यसो नभएको भए, अहिले आधुनिक नेपालगन्ज बनाउने नाममा यहाँ निर्मित पूर्वाधारहरु भत्काउनु पर्ने थिएन । अर्को फोहर व्यवस्थापनमा सबैभन्दा कमजोर पाटो नेपालगन्जबासीहरुकै छ । नगरपालिका भनेर औला ठड्याउने अनि आफूचाही फोहरको विछ्यौना बनाएर सुत्ने प्रवृति हाम्रो छ, हामी आफ्नो घरको फोहर फाल्न अल्छी गरिरहेका छौँ, अनि दोष चाँही नगरको । हाम्रा सोचहरु स्वच्छ नभएसम्म एउटा नगरले नेपालगन्जलाई सफा र स्वच्छ बनाउन सक्दैन । अहिले नेपालगन्जलाई समृद्ध, स्वच्छ र हरियो नेपालगन्ज बनाउने अभियानलाई सार्थक बनाउने कसम खाएर २० बर्षअघि नेपालगन्ज बनाउने जिम्मा पाएकाहरु २० वर्षपछि पुनः जिम्मेवारीमा आएका छन् । हामीले धेरै कुरा बुझाउनुपर्नेछ, सुझाउनुपर्नेछ, चेत खुलाउनुपर्नेछ, मैनबत्ती बालेर दिनुपर्नेछ, ताकी उनीहरुले बुझुन्, चेत खुलोस्, उज्यालो बनाउने सपना देखुन् र त्यसतर्फ अघि बढुन् भन्ने हो ।
विगतको भन्दा नेपालगन्जको तापक्रम हरेक बर्ष वृद्धि भइरहेको छ । विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रम वृद्धिले अहिले संसारलाई चकित पारेको छ । वर्षेनी ०.०८ प्रतिशतका दरले तापक्रम वृद्धि भएको तत्थाड्ढहरु सार्वजनिक भइरहँदा कतिपय अवस्थामा तीन प्रतिशतका दरले तापक्रम बढेको कुरा नेपालगन्जकै अवस्थामा पनि देखिएको छ । विज्ञहरुका अनुसार ४ प्रतिशत तापक्रम बढ्दा झण्डै ५० प्रतिशत जीवजन्तुहरु लोप हुने गर्छन् । यसका बारेमा जनप्रतिनिधिहरुलाई पढाउनु पर्नेछ, जगाउनु पर्नेछ, उठाउनु पर्नेछ र काममा लगाउनु पर्नेछ । नेपालगन्जलाई यतिबेला हरियो नेपालगन्ज बनाउने अभियानमा जलवायु संरक्षण अभियान नेपालले निकै राम्रो प्रयासको थालनी गरेको छ । पाहुना, जन्मदिन, तिहार, भेटघाट, कार्यक्रम, सभा, सम्मेलनमा विरुवा उपहार दिएर कुनै दातृ निकाय दाताको सहयोग बिनै आफ्नै लगानीमा हरियो नेपालगन्जको अभियानलाई अघि बढाइरहेको छ । यो हाम्रो जीवनको सवालसँग जोडिएको छ । हामी एक मिनेट भए पनि बढी बाँचेर नयाँ काम गर्न चाहिरहेका प्राणी हौ, नकि हामी बाँच्नका लागि मात्रै जन्मिएका हौ । त्यसैले हाम्रो प्राण रुखविरुवासँग जोडिएको छ । हामीलाई अक्सिजन चाहिएको छ, त्यसैले मलाइ चाहिने अक्सिजन प्राप्तीका लागी भए पनि रुख रोप्नैपर्नेछ । हाम्रो शहर सफा गर्नैपर्नेछ, हामी सफा बन्नैपर्नेछ ।
हामीले हरियो नेपालगन्ज यसकारण पनि बनाउनुपर्दछ । हामीलाई शुद्ध प्राणवायु (अक्सिजन) चाहिएको छ, तापक्रमलाई न्यूनिकरण गर्नुपर्नेछ, शहरलाई सुन्दर बनाउनुपर्नेछ, पर्यटकलाई आकर्षित गर्नुपर्नेछ, जमिनमुनिको पानी चार्ज गरी घढ्दै गएको पानीको सतहलाई यथावत राख्नुपर्नेछ र कार्बनडाइअक्साइड घटाउनुछ । यसका लागि हामीले फूलहरु रोप्नुछ, जुन फूलहरु औषधि बनुन् । एक व्यक्ति एक बिरुवा रोप्ने अभियान शुरु गर्नुछ । किनकि, दुर्गन्ध, फोहर सहरले हामीलाई छाला रोग, दम, स्वासप्रस्वास, पेट र प्रेसर लगायतका रोगहरु निम्त्यादिएको छ । त्यसका निम्ति हामीले निम, पारिजात, वेल, अमला आदिको प्रयोग गर्नुपर्छ, घरमा निम भयो भने कैयन किटाणुहरु नष्ट हुन्छन्, दा“त माझ्न हुन्छ, अन्नपातमा निमको डा“ठ वा पात राख्दा किराहरु पर्दैनन् । पारिजातले दम र साइटिका, वेलले पेट र गर्मीलाई ठिक गर्छ । कम्तिमा ६ महिनालाई चाहिने तरकारी घरमै हुन्छ । आर्थिक वचत हुन्छ । रासायनिक मल वा विषादीको प्रयोग नभएको तरकारीका कारण तपाईको स्वास्थ्य स्वस्थ हुन्छ । जसको तुलना आर्थिक रुपमा गर्न सकिन्न । सबैतिर हरियाली, स्वच्छ र सुन्दर तस्वीरहरु देखिन थाल्छन्, तपाईसँग भएको तनाव कम हुन्छ, मन प्रसन्न हुन्छ । अहिलेको शहरीया नया“ पुस्ता बोटविरुवा, फलफूल वा तरकारीको उत्पादन प्रक्रियाप्रति जानकार हुन्छन् । तपाई विरुवामा सिचाई गर्नुस् र गोडमेल गर्नुस् । यसबाट तपाईको शरीरलाई चाहिने हल्का कसरत पूरा हुन्छ । श्रीमान् श्रीमती वा छोराछोरीसँग मिली यस्ता काम गर्दा परिवारीक सामिप्यता बढ्छ । जहाँ तुलसी बढी हुन्छ त्यहा“ मलेरिया हुन्न, लामखुट्टे कम हुन्छ । सुत्ने हरेक कोठामा कालो तुलसीको गमला राख्नुस् प्राणवायु प्राप्त हुन्छ । तपाईको घरमा विरुवा रोप्नुस्, त्यस वरपरको तापक्रम अन्यत्रको तुलनामा कम हुन्छ, पानीका मुहानहरु बढ्छन् । तपाईको घर आयुर्वेदालय बन्न सक्छ, सामान्य विरामी हुदा अस्पताल धाउनुपर्दैैन । हामीले चीनको अभ्यासलाई बुझ्यौ भने, हरेक व्यक्ति मर्दा एउटा विरुवा अनिवार्य लगाउनुपर्छ । प्रत्येक वर्ष वार्षिकीमा एक एक विरुवा रोप्नुपर्छ ।
तापक्रम जुन ढंगले बढिरहेको छ, यसलाई एकैपटक घटाउन सक्ने कुनै सम्भावना छैन । नागरिकहरु स्वयं सचेत हुने हो भने हरियालीलाई वृद्धि गर्न अवस्य सकिन्छ । हरियाली बढाउने र वृक्षारोपण गर्नका लागि नेपालगन्जमा ठूलो परियोजना पनि चाहिएको होइन, यहाँ त प्रतिवद्धता, इमान्दारिता र सक्रियता मात्रै चाहिएको छ । अखबारमा आएका समाचारलाई आधार मान्ने हो भने नेपालको जम्मा क्षेत्रफल भन्दा बढी क्षेत्रमा वृक्षारोपण भइसकेको छ । त्यही आधार नेपालगन्जसँग पनि मेल खान्छ । जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय, विभिन्न क्लब र संघसंस्थाले एकपटक १० वर्षयताका आआफ्ना फाइल पल्टाएर हेर्ने हो भने लाजमर्दो अवस्था छ । तर पनि हामीले आफैलाई सच्चाएर पुनः यो अभियानलाई सञ्चालन गर्न सकिएन भने बढ्दै गएको तापक्रमलाई न्यूनिकरण गर्न सम्भव छैन । त्यसैले सम्पूर्ण नागरिकहरुलाई अरु कसैको मुख ताकेर हैन स्वयं आफैले वृक्षारोपण, सरसफाई, इमान्दारिता र सक्रियतापूर्वक हाम्रो हरियो अभियानलाई सार्थक बनाउन सक्छौँ । दीर्घकालिन सोचका साथ आफ्ना भौतिक पूर्वाधारका कामहरुलाई सञ्चालन गर्न सक्नुपर्छ । समय त तपाईको इमान्दारितामा लागिरहेको छ, सक्रियतामा लागिरहेको छ, आफ्नै सोच सफा गर्न समय लागिरहेको छ, हामीले दृढ संकल्प गरे हरियो नेपालगन्ज बन्न अब धेरै समय लाग्दैन । (लेखक जलवायु संरक्षण अभियान नेपालका महासचिव हुन् ।)
।