सूचनाको शक्ति - The Power Of Information

        

नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआर प्रभावित


जाजरकोट । भौगोलिक विकटताले अध्ययन गर्न आवश्यक उपकरण ढुवानीमा कठिनाइ हुँदा नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआरको काम प्रभावित भएको छ । जाजरकोटको दुर्गम ठाउँ लैखाममा निर्माण हुन थालेको यो जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्ने कामका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिनाई भएपछि काम प्रभावित हुने भएको हो । यद्यपी आयोजनाको प्रवर्द्धक नलसिंहगाड हाइड्रोपावर कम्पनीले भने निर्धा्रित समयमा विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न गरिने दाबी गरेको छ ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीका अनुसार संघ र प्रदेशको चुनावअघि नै नेपाली सेनाको हेलिकोप्टरबाट बाँध र पावरहाउस निर्माणस्थलको अध्ययनका लागि प्रयोग गरिने उपकरण ढुवानी गर्ने योजना बनाइएको थियो तर सेनाको हेलिकोप्टर निर्वाचन आयोगको काममा प्रयोग गरिने भएकाले ढुवानी गर्न ढिलाइ भएको हो । आयोजनाको पावर हाउस निर्माण हुने लैखाम र बाँधस्थल वारेकोटसम्म अहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । आयोजनाले जाजरकोटको कालीमाटीबाट लैखमसम्मको ११ किलोमिटर सडक मार्ग निर्माण गरिरहेको छ । सन् २०१२ मा नेपाल विद्युत प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनमा ४१० मेगावाट उत्पादन गर्नसकिने देखाएको छ ।


यसको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्न नलसिंहगाड जलविद्युत आयोजना विकास समिति खडा गरिएको थियो । गएको वर्ष जेठ महिनामा यो आयोजनासहित बूढीगण्डकी जलविद्युत आयोजना विकास समिति खारेज गरी यो आयोजनालाई कम्पनी मोडलमा निर्माण अगाडि बढाउने सरकारले निर्णय गरेको थियो । जाजरकोटको लैखाममा पावर हाउस र बारेकोटमा बाँध निर्माण गरिने भएको यो आयोजनाको पावर हाउस, बाँधस्थल, प्रसारण लाइन निर्माणका लागि ती स्थानको माटो, चट्टान, पानीको बहाव, भूक्षयको अबस्थालगायतको भौगर्भिक अध्ययनका लागि चाहिने ड्रिल मेसिन, जेनेरेटर ढुवानी अहिलेसम्म हुन नसक्दा काम प्रभावित भएको बताइएको छ । विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्नका लागि स्मेक इन्टरनेसनल कम्पनी अष्ट्रेलिया, एमडब्लुएच अमेरिकासँग सन् २०१६ मे ५ मा ठेक्का सम्झौता भएको थियो ।
३० महिनाको समयावधि पाएको ती संयुक्त कम्पनीले निर्धारित समयमै काम सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै आएका छन् । सुख्खा मौसममा लगातार १० घण्टा बिजुली उत्पादन गर्नसकिने गरी निर्माण गर्न थालिएको आयोजनाको बाँध २०० मिटरभन्दा अग्लो हुने अनुमान गरिएको छ । सन् २०१२ को सम्भाव्यता अध्ययनले ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । नलसिंहगाडको किनारमा रहेका अधिकांश बस्ती उठाउनुपर्ने भएकाले यसको लागत मुआब्जाका कारणले वृद्धि हुने देखिएको छ । आयोजनाका अनुसार डुबान तथा प्रभावित क्षेत्रको ६५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । त्रिवेणी नलगाढ नगरपालिका र बाह्रकोट गाउँपालिकाका अधिकांश बस्ती डुबान तथा प्रभावित हुने भएका छन् । डुबान क्षेत्रको अधिकांश जग्गा निजी रहेका छन् । झण्डै २०० रोपनी जग्गाको मुआब्जा निर्धारण भइसकेकोले ती जग्गाका धनीलाई मुआब्जा वितरण गर्ने कार्य पनि भइरहेको छ । आयोजना निर्माणका लागि नलगाड हाइड्रो पावर कम्पनीलाई ऊर्जा मन्त्रालयले अध्ययन अनुमति पत्र दिएको छ ।

प्रकाशित मिति : ३ पुष २०७४, सोमबार ०७:४९