सूचनाको शक्ति - The Power Of Information

        

न्युनतम पारिश्रमिक कार्यान्वयन आवश्यक रहेकोमा जोड


देवी भण्डारी । दाङ्ग । पत्रकार महिलाहरुको संख्या बृद्धिका लागी अब न्युनतम पारिश्रमिक लागु गर्न आवश्यक रहेको आइतबार घोराहीमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ दाङको २५ आँै स्थापना दिवसको अवसर पारेर क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे दाङले आयोजना गरेको पत्रकार महासंघमा महिला सहभागिता र नेतृत्वतहमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने विषयमा गरिएको अन्तरक्रियात्मक तथा छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका हुन् ।
डब्लुडब्लुजे माध्यपश्चिम सल्लाहकार लिला शाहले मिडिया क्षेत्रमा अवसरहरु प्रशस्तै रहेको भन्दै पत्रकार महिलाहरुलाई हतोत्साहित नहुन आग्रह गरिन् । उनले पत्रकार महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको बताइन् । त्यस्तै डब्लुडब्लुजे दाङका सल्लाहकार लक्ष्मी आचार्यले महिला पत्रकारहरुले क्षमता विकासमा जोड दिएर आफुलाई सक्षम छु भन्ने देखाउन आवश्यक रहेको बताइन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले तत्कालै दाङ जिल्लामा रहेका मिडियाका मालिकहरुसँग बसेर न्युनतम पारिश्रमिकका सवालमा कुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष प्रियासनले पत्रकार महिलाहरुलाई यहि क्षेत्रमा नै टिकाउन र नेतृत्व तहमा पुर्याउनका लागी महासंघले आगामी दिनमा उचित तालिमको ब्यवस्था गरिने बताए ।
पत्रकार महिला मञ्चका पूर्वअध्यक्ष सुशीला आचार्यले महिलाहरुलाई नेतृत्व तहसम्म पुग्ने अवसर दिन नसक्दा नै महिला पत्रकारहरु पछाडी परेकाले उनीहरुलाई नेतृत्व तहसम्म किन पुर्याउन आवश्यक रहेको बताइन् । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शुलोचना गौतमले पत्रकार महिलाहरुलाई क्षमता अभिवृद्धिका तालिमहरु दिन जरुरी रहेको बताइन् ।
कार्यक्रममा बोल्दै डब्लुडब्लुजे दाङका सल्लाहकार रन्जीता शर्मा, पत्रकारहरु देवी भण्डारी, अञ्जना चौधरी, यमकला भुषाल, सुशी वली, अमिता चौधरी, सरिता चौधरी लगायतले बोलेकी थिइन् । डब्लुडब्लुजे दाङका कोषाध्यक्ष रोशनी मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको क्रियासिल अध्यक्षता पत्रकार महिला डब्लुडब्लुजे दाङका अध्यक्ष सन्ध्या रेग्मीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण डब्लुडब्लुजे दाङका सचिव पार्वती बस्नेतले गरेकी थिइन् ।

प्रकाशित मिति : २ पुष २०७४, आइतवार ११:२२