सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकको मतगणना सकियो, ४५ हजार मतान्तरसहित एमाले पहिलो


काठमाडौं । समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । यसअनुसार एमालेले पाएको मत कांग्रेसभन्दा ४५ हजार १०५ मत बढी हो ।
तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार २५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो ।
यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् । राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले दुई लाख १२ हजार ३६३ र राप्रपाले एक लाख ९६ हजार ७८२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । राप्रपा प्रजातान्त्रिकले भने ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३४ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।

प्रकाशित मिति : २ पुष २०७४, आइतवार ०७:३३