बाँके । बाँके लगायत मध्य तथा सुदूरपश्चिमका तराईका जिल्लामा दुई दिनयता एक्कसी चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । हुस्सुसँगै चिसो हावा चल्न थालेको छ । चिसो ह्वात्तै बढेकाले सरकारी तथा गैरसरकारी निकायमा सेवाग्राहीको उपस्थितिसमेत पातलिन थालेको छ । तीनदिन अघिसम्म २६ डिग्री तापक्रम रहेको नेपालगन्जमा चिसो सुरु भएपछि अहिले अधिकतम तापक्रम १८ डिग्रीभन्दा कममा झरेको छ ।
पश्चिम नेपालका तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरोका कारण बढेको चिसोले जनजीवन कष्टकर हुँदै गएको छ । आकाश कुहिरोले ढाकेको छ भने चिसो पनि बढेको छ । तीव्ररुपमा चलेको चिसो हावाले सर्वसाधारणलाई घर बाहिर निस्कन र काममा जान समेत मुस्किल हुन थालेको छ । चिसोका कारण विद्यालय जाने बालबालिकाको संख्यामा पनि कमी आएको छ ।
चिसोकै कारण केही दिनअघिको तुलनामा तुलनामा स्वास्थ्य केन्द्रहरुमा आउने बालबालिकाको संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चिसोका कारण स्थानीय अस्पतालहरुमा निमोनियाका विरामीहरु आउन पनि आउन थालेको डाक्टरहरुले बताएका छन् । चिसोका कारण बालबालिकामा रुघाखोकीको समस्या पनि देखिन थालेको छ ।
चिसोबाट बालबालिकालाई बचाउन न्यानो कपडाका साथै टोपी, पन्जा लगाइदिने, चिसोमा धेरै खेल्न दिन नहुने, तातो र झोलिलो खाने कुरा खुवाउनुपर्ने भेरी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डा शकिल अहमद खाले बताए । चिसोबाट बच्न नेपालगन्जबासीले सहरका ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् । एक्कासी बढेको चिसोले बजारको चहलपहल पनि घटेको छ ।
सवारी साधनहरु पनि दिउँसो बत्ती बालेर गुड्नुपर्ने अवस्था आएको छ । बाक्को हुस्सका कारण नेपालगन्ज विमानस्थलबाट मध्यपश्चिमका पहाडि जिल्लामा हुने उडानहरु अवरुद्ध भएका छन् । हुस्सुका कारण घाम लाग्न नसकेको छैन भने हिमाली तथा पहाडी जिल्लामा निरन्तर हिमपात पनि सुरु भएको छ । खराब मौसमका कारण बाँकेको नेपालगन्ज बिमानस्थलबाट आज हुने हवाई उडान प्रभावित भएका भएका छन् ।
नागरिक उड्डययन प्राधिकरण नेपालगन्जका अनुसार बाक्लो हुस्सु लागेका नेपालगन्जबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । नेपालगन्जबाट काठमाडौंका लागि बिहानमा हुने उडानहरु पनि डिले हुन थालेका छन् । विमान उडानका लागि कम्तिमा १ हजार ६०० मिटरसम्म देखिने हुनुपर्ने नागरिक उड्न प्राधिकरणको कार्यालय नेपालगन्जले जनाएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण अहिले नेपालगन्जको आकाशमा १ हजार मिटरसम्मको दृश्य पनि देख्न मुस्किल भएको विमानस्थलले जनाएको छ ।
नेपालगन्ज विमानस्थलबाट ६ नम्बर प्रदेशका पहाडी जिल्ला तथा काठमाडौंमा गरेर दैनिक २० वटा उडान हुँदै आएका छन् । मौसम प्रतिकुलका कारण आज बिहानसम्म कुनै उडान हुन सकेको छैन । नेपालगन्जबाट यति, बुद्व, सीता, तारा, गोमा र मकालु एयरले पहाडी जिल्लामा उडान भर्दै आएका छन् । बाक्लो हुस्सुका कारण काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम, सुदूरपश्चिमका बझाङ्ग, बाजुरा लगायतका जिल्लामा हवाइ उडान हुने गरेका छन् ।
।