सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’


सागर बुढाथोकी । काठमाडौं । फिक्सन डिजाइनर कुमार नगरकोटीले उनको पुस्तक ‘दोचामा’ लेखेका छन्, ‘डोल्पाजस्तो विकट ठाउँमा गएर त्यहाँका बच्चाहरुलाई पढाउनु अत्यन्तै चूनौती हो । विनोद शाही एक दशकदेखि त्यहाँ आफै खर्च जुटाएर पढाइरहेका छन् । उनले काम धेरै गरे तर गुमनाम छन् ।’ को हुन त यिनी र किन छन् गुमनाम ? चर्चाका लागि भन्दा आत्मसन्तुष्टिका लागि काम गर्ने बताउने उनी आफ्नो स्वाभाव नै ‘गुमनाम’ खाले भएको बताउँछन् । दोचामा लेखिएका विनोद एक महिनादेखि काठमाडौँमा छन् ।
काठमाडौं बखुण्डोलस्थित एउटा साँघुरो गल्ली छिरेपछि विनोदको घर पुगिन्छ । भूकम्पले चर्किएको पुरानो शैलीको घर । भित्र छिरेर साँघुरो काठको भर्याङ चढेर दोस्रो तल्लामा प्रवेश गरेपछि आउँछ उनी बस्ने रुम । रुममा कुनै टेवल कुर्सी छैनन् । न त सुत्ने पलङ नै । बस्न चकटी बिच्याइएको छ । भित्ताभरी विनोद आफैले बनाएका पेन्टिङहरु टाँगिएका छन् । विनोदले त्यही रुमलाई बेडरुम र अफिस बनाएका छन् । किनकि, उनको घरमा पर्याप्त कोठा छैनन् ।
ढाका टोपीमा सजिएका विनोदलाई नगरकोटीले उनको बारेमा लेखेको थाहा रहेनछ । सुनाएपछि उनले भने, ‘दाइसँग भेट भएको थियो । दोचाको बारेमा कुरा भएको थियो । मैलै डोल्पाबाट फर्किदाँ दोचा ल्याइदिएको थिएँ ।’ विनोद शाहीलाई चिन्नेहरु ‘हिमालयन हिरो’ भन्छन् । उनको कामले पाएको उपनाम हो त्यो । तर, उनी आफूले आफैलाई हिरो मान्दैनन् । काठमाडौंको जन्म र डोल्पाको कर्म विनोदको परिचय । डोल्पाको संघर्ष र विकास नै विनोदले पाएको उपलब्धी हो । ‘अमेरिका जान तयार भएको केटो डोल्पा कसरी पुग्यो ? काठमाडौंजस्तो सुविधा सम्पन्न ठाउँमा जन्मिएको केटो कसरी डोल्पाको विकट ठाउँमा टिक्यो ?’ विनोदको कथा रोचक मात्रै हैन प्रेरणादायी पनि छ । विनोद आफ्नो कथा सुनाँदा आफैँ ‘नोस्टाल्जिक’ हुन्छन् । आफ्नो संघर्ष सुनाउँदै गर्दा भावुक पनि । आँखा रसिलो । ललितकला क्याम्पसमा पढेका विनोद राम्रा चित्र बनाउँथे । अमेरिका अष्ट्रेलियाबाट धेरै अवसरहरु आएका थिए उनीसामु । तर, विदेशमोहले छोएन ।
एसएलसी पास गरेपछि विनोद ललितकला क्याम्पसमा फाइन आर्टमा भर्ना भए । फाइन आर्टसँगै कमर्शमा पनि नाम लेखाए । आर्ट सौखको विषय थियो भने कर्मश साथीहरुसँगको लहलहै । विनोदको संगत राम्रै थियो । तर, काम गर्ने अवसर भने मिलेको थिएन । चित्रकला, म्युजिक र ड्रामामा रुची भएकाले साथी सर्कल ठूलो थियो । रमाइलोमै दिनचर्या बितिरहेको थियो । उनी त्यसमा खुसी र सन्तुष्ट थिएनन् । उनले सन्तुष्ट हुने तरिका खोजिरहेका थिए । ‘के गर्ने, कसरी खुसी हुने?’ उनको मनमा यस्तै कुराहरुले डेरा जमाइरहेको थियो ।
नभन्दै उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । उनले डोल्पाका बालबालिका पढाउन ल्याएको संस्थामा ‘भोलेन्टियर’ गर्न थाले । अनि भए डोल्पाली बच्चा पढाउने टिचर । त्यहाँबाट उनी डोल्पाली बालबालिकाहरुसँग नजिकिए । डोल्पाली बच्चाहरु गाडी देख्दा पनि अचम्म मानेर हेर्थे । पसलको सामान उनीहरुलाई अनौठो लाग्थ्यो । हरेक चिज नौलो मानेको देख्दा विनोद चकित पर्थे । ‘नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । यहाँ आउने बच्चाहरु यस्ता छन्, उही डोल्पामै बसेकाको अवस्था कस्तो होला ?’ विनोदको सोचाई त्यतातिर जान्थ्यो ।
हिउँदमा डोल्पामा अत्यधिक हिउँ पर्ने । स्कुल ६ महिना मात्र पढाइ हुने । सोही कारण काठमाडौं पढ्न आएका बालबालिकहरुसँग विनोदको भेट जुर्यो । त्यही भेट नै विनोदलाई डोल्पा पुर्याउने माध्यम बन्यो । विनोदले ती विद्यार्थीहरुलाई नेपाली पढाए । चित्रकला सिकाए । ६ महिना त्यतिकै सकियो । डोल्पाली विद्यार्थीको प्रिय भइसकेका विनोदलाई विद्यार्थीहरुले सँगै जान कर गरे । विद्यार्थीहरुले धेरै नै आग्रह गरेपछि विनोदले नाइ भन्न सकेनन् । उनी डोल्पा जान तयार भए । तर यात्रा सोचेजस्तो सहज थिएन् ।
विनोदले अमेरिका जान छोडेर डोल्पा जाने निर्णय बुबालाई सुनाए । बुबाले नजा भन्न नसके पनि जा भन्न पनि सकिरहेका थिएनन् । उनको निर्णयमा सहमत हुन कोही तयार तयार थिएनन् । आफन्तहरु, ‘काठमाडौं छोडेर किन जान्छस् डोल्पा ? यहीँ पढ्, आफ्नो भविष्य बना’ भन्थे । विगत सम्झिँदै विनोद भन्छन्, ‘म डोल्पा जान खोजेको हैन, डोल्पाले मलाई खोजेको हो भनेर म डोल्पा गएँ ।’ उनको ढिपीका अगाडि कसैको केही लागेन । उनी डोल्पा हानिए । काठमाडौंबाट कहिल्लै ननिस्केका विनोदलाई यात्रा गर्न सहज थिएन् । डोल्पाका अग्ला हिमाली बाटो पार गरेर हिड्नु सहज थिएन । त्यसमाथि हिउँले ढाकेको बाटो । अत्यधिक जाडो ।
‘जतिमाथि बड्दै गयो, त्यति नै रिगंटा लाग्ने । जताततै हिउँ नै हिउँ । माइनसमा तापक्रम । शरीरको सबै अंग चिसोले चलाउन नसक्ने,’ विनोदले डोल्पाको पहिलो यात्रा सम्झिए, ‘सास फेर्न गाह्रो । अत्यन्तै गाह्हो । स–साना भए पनि खोला तर्दा चिसोले खुट्टा खाइसकेको ।’ हिउँको बाटो हिँड्दै गर्दा विनोद धेरैपटक हिउँमा भाँसिए । आफू पनि भासिने डरले साथीहरु नजिक परेनन् । हातमा बोकेको क्यासेटले ज्यान बचाएको विनोद सम्झिन्छन् । डोल्पा पुग्नुअघि धेरै ठाउँमा बास बस्नु पर्थ्यो । कहिले जंगलमा, कहिले ओडारमा र कहिले गुफामा बास बस्दै यात्रा अघि बढिरहेको थियो । एकदिन उनीहरु हिउँ नै हिउँ भएको ठाउँमा सुत्नु पर्यो ।
रातभरी हिउ पर्यो । विनोदसँग स्लिपिङ ब्याग गतिलो थिएन् । चिसो हावाले उनी शिथिल भए । सास फेर्न, हातहरु चलाउन र बोल्न सक्ने अवस्था थिएन् । तर, उनले सोचेजस्तो जीवनको त्यो अन्तिम रात भने भएन् । बिहानको मिर्मिरे घामको उज्यालोले बाच्ने आस बढायो । शरीर चल्न थाल्यो । उनी बाँच्न सफल भए । ‘अलिकति ढिलो घाम लागेको भए म चिसाले कठ्याङिग्रएर मर्ने थिएँ,’ विनोदले सम्झिए, ‘धन्न चाँडो घाम लाग्यो र बचेँ ।’ डोल्पा पुग्दा विनोद अचम्ममा परे । गाउँमा मान्छेहरु थिएनन् । रुख विरुवा केही नदेखिने । खेतीपाती नभएकाले गाउँ उजाड मरुभूमि जस्तै । घरबाट धुँवा निस्किरहेको । डोल्पा भर्खर युद्ध सकिएर शान्त हुन लागेको ठाउँजस्तै देखिन्थ्यो । गाउँमा मान्छेभन्दा भेडाच्याड्ग्रा बढी थिए ।
गाउँमा स्वागत त भयो । तर, उनी गएको नराम्रो मान्ने धेरै थिए । पढाउन आएको भन्ने भन्दा हाम्रा छोराछोरी किन पढाउनु ? भन्दै उल्टो प्रश्न गर्ने अभिभावक धेरै थिए । गाउँमा स्कुल थियो, राम्रोसँग पढाइ भएको थिएन् । धेरै गाउँहरुमा त स्कुल पनि थिएन । भाषा तिब्बतीयन मूलको । सरकारी स्कुलमा तलब खाने र घरमा बस्ने शिक्षकहरु धेरै थिए । विनोदको काम सुरु भयो । तर, सजिलो थिएन् । त्यहीँको नेताहरुले उनको काम देखिसकेनन् । गाउँलेलाई भड्काएको भनेर दिनहुँजसो गाली गर्थे उनलाई । ‘मेरो हरेक गतिवधि उनीहरुलाई मन पर्दैन थियो,’ विनोदले भने, ‘उनीहरुको सोचाइमा विकास र गाउँको उन्नति–प्रगति केही थिएन । उनीहरु शिक्षाका विरोधी थिए ।’
शेर्ले दुकर्डा स्कुलमा पढाउँथे उनी । त्यो गाउँबाहेक अन्य गाउँका बालबालिकाहरुले पढ्न पाएकै थिएनन् । आफू बसेको ठाउँमा शुक्रबारसम्म पढाउँथे । त्यसपछि, ५ घण्टा भन्दा बढी हिँडेर शुक्रबार र शनिबार अरुतिर पढाएर फर्कन्थे । सधै त्यसरी सम्भव थिएन् । २०३२ सालमा सुरु भएका स्कुलहरु सञ्चालन भएको थिएन । पछि ती गाउँमा आफैँले हिमालयन दरलाराङ स्कुल खोले । उनले विस्तारै सबै ठाउँका बालबालिकाहरुलाई पढ्ने वातावरण मिलाउँदै लगे । काठमाडौंबाट शिक्षक लगेर विभिन्न गाउँमा स्कुल खोल्दै पढाउन सुरु गरे । छोराछोरी किन पढाउने ? भन्ने अभिभावहरुले उनलाई पढाइदिन आग्रह गर्न थाले ।
त्यसरी एक्लै काम गर्न सम्भव थिएन् । सन् २०१४ मा उनी आफैले स्नो याक फाउन्डेसन खोले । नेपालीहरुकै सहयोगबाट बालबालिकाहरु पढाउन थाले । बालबालिकालाई कापी कलम आफै जुटाउनुपर्ने थियो उनले । शिक्षकको लागि तलब, लत्ताकपडा र कापी कलमको व्यवस्था नगरी हुँदैन थियो । सहयोग जुट्न मुस्किल । विदेशी सहयोगबिना काम गर्ने उनको चाहना । त्यसैले उनले काठमाडौंका स्कुले बालबालिकाबाट रकम उठाएर सहयोग गर्ने योजना बनाए । उनको योजना सफल हुँदै गयो । ‘नेपालीहरुले चाहने हो भने धेरै गर्न सक्छन्,’ उनी भन्छन्, ‘विदेशी डोनेसन होइन हामी आफैमा विश्वास गर्छौं । अहिलेसम्म धेरथोर बालबालिका तथा गृहणीहरुबाट सहयोग पाइरहेका छन् ।’
६ महिना डोल्पामा पढाएपछि विनोद ६ महिना काठमाडौं बस्छन् । काठमाडौंमा डोल्पाली बालबालिकाको लागि कापीकलम जम्मा गर्छन । विभिन्न स्कूल बालबालिका तथा गृहणीहरुसँग सहयोग माग्छन् । ६ महिनासम्ममा प्राप्त भएका सम्पूर्ण समानहरु लत्ताकपडादेखि अन्य कुरा जम्मा गरेर ६ महिनापछि फेरि जान्छन् । यसरी नै उनले डोल्पाको बालबालिकाका लागि १३ वर्ष बिताइसकेका छन् । डोल्पाको १० वटा गाउँको ८१३ जनाभन्दा बढी बालबालिकालाई कापी कलम सहयोग गर्छन । पढाउन राखेका १७ जना शिक्षकहरुलाई तलब दिन्छन् । डोल्पामा खाद्यान्न अपूग हुने भएकाले खानेकुरा काठमाडौंबाट लैजान्छन् ।
अहिले उनले १३ वटा स्कुलका बालबालिकालाई पढाइरहेका छन् । वर्षेनी यो क्रम बढ्दै छ । उनको जस्तै अन्य ठाउँको युवाहरुले पढेर आफैले स्कुल पढाउने पनि छन् । यसले उनलाई खुशी मिलेको छ । भन्छन्, ‘सानो कामले पनि खुशी मिल्छ ।’ विनोदलाई सहयोग गर्न धेरै डोल्पाली युवाहरु लागिपरेका छन् । छोराछोरीको भविष्य बनाउन आफ्नो जिम्मा लगाउने अभिभावहरु देख्दा काम गर्न धेरै प्रेरणा मिल्ने उनको कथन छ । गएका १३ वर्षमा जीवनभरि नसिकेका कुराहरु डोल्पा गएर सिकेको उनको अनुभव छ । प्रकृतिसँग दिनरात संघर्ष गरेर पनि डोल्पालीहरुलाई उनले खुशी देखेका छन् । भारी बोक्नुपरे पनि बच्चाहरु रमाएकै छन् । खानको लागि धेरै संर्घष गरे पनि काठमाडौंका मानिसभन्दा त्यहाँका खुशी छन् ।
विनोद पनि काठमाडौंले भन्दा डोल्पाले खुशी दिएको सुनाउँछन् । आफू को हुँ? डोल्पा पुगेर नै चिन्न सकेको उनको तर्क छ । ‘काठमाडौंको मान्छेको जीवन जटिल र बुझ्न नसकिने छ । कोही कहिल्लै पनि सन्तुष्ट र खुशी देखिँदैन,’ उनले भने, ‘डोल्पालीहरु साधारण तर संसारकै खुशी छन् । जीवनदेखि सन्तुष्ट पनि ।’ आफ्नो परिवार र करिअर छोडेर डोल्पा बसेकोमा पछुतो छैन् उनलाई । धेरै अवसर गुमाएर घरपरिवार हेर्न नसक्दा कहीलेकाहीँ दुस्ख लाग्ने गरेको अनुभव गरेका छन् । ‘म बुबाआमालाई वुद्धपछिको पापी मान्छे हुँ भन्छु । मेरो कारणले उहाँहरुलाई धेरै दुःख भयो,’ उनले भने, ‘भूकम्पले घर भत्कियो, ऋण गरेर बनाउनुपर्यो । म एक्लो छोरा भएर साधारण खर्चसमेत दिन सकिन ।’
विनोदलाई हिमालयन हिरो भनेर चिन्नेहरु धेरै छन् । ‘अरुले भनेजस्तै म हिरो होइन । साधारण मान्छे हुँ,’ उनी भन्छन्, ‘सबै डोल्पालीहरु हिरो हुन् । हामीलाई सहयोग गर्ने सहयोग दाताहरु हिरो हुन् । उहाँहरुको सहयोगबिना म केही हैन ।’ विनोदलाई संस्था चलाउन कष्ट थियो । काम गर्ने शिक्षकको लागि आमाको सुन बेचेर तलब दिएका थिए । भोको पेट र खाली खल्ती दिनभर काम गर्थे । रातभर नसुतिकन त्यसको प्रतिवेदन तयार पार्थे । तर, उनी आफ्नो लक्ष्यमा सफल हुन सकेका थिएनन् । आमा बिरामी थिइन् । उपचार गर्न पैसा थिएन् । उनलाई तनावले डिप्रेसन गराइसकेको थियो । किनकि, उनले सर्वस्व डोल्पामा लगाएका थिए । तर, न सफल हुन सकेका थिए न कतैबाट हौसला नै । डोल्पाको त्यो बस्तीमा उनको कुरा सुन्ने कोही थिएनन् । जंगलमा गएर रुनुबाहेक अरु विकल्प थिएन ।
‘म पूरै फ्रस्टेसनमा पुगिसकेको थिएँ,’ उनले भावुक हुँदै विगत कोट्याए, ‘म आत्महत्याको नजिक पुगिसकेको थिएँ । तर, राम्रो काम गर्नेले विनोद जस्तै आत्महत्या गर्न पुग्छन् भन्ने सन्देश नजाओस् भन्ने विचार आयो ।’ विनोद निराश थिए । जीवनबाट मृत्यु टाढा भागेको थियो भने सोचेको काम बनेको थिएन । गलत प्रचारको सिकार भएका थिए उनी । त्यति नै बेला विवेकशील नेपाली दलका कार्यपालिका प्रमुख पुकार बमको फोन आयो । ‘चिन्ता नगर विनोद विस्तारै तिम्ले सुरु गरेका काम पूरा हुन्छ । म हाम्रो कलेजमा सोसल वर्क पढ्ने स्टुडेन्टलाई तिम्रो फाउन्डेसनमा इन्टर्नसीपमा पठाउँछु ।’ पुकारको यो शब्दले उनको घाउमा मलम लगायो ।
‘त्यसपछि मेरो काममा स्वयसेवक बढ्दै गए । सहयोग उठ्यो । शिक्षकहरु थपिए । कामले राम्रो गति लियो,’ विनोद विगतमा फर्किए, ‘मलाई त्यतीबेला हौसला प्रदान गर्ने र सहयोग गर्नै सबैको कारणले गर्दा म आत्महत्याबाट बच्न सफल भएँ ।’ विनोदको सस्थामा अहिले धेरै विद्यार्थीहरु स्वयंसेवक भएर काम गर्दैछन् । उनीजस्तै अमेरिका त्यागेर काम गर्ने युवाहरु पनि छन् । डोल्पाको विकास र समृद्धिको लागि विनोदसँग योजनाहरु धेरै छ । योजना पूरा गर्न धेरै युवाहरुले साथ दिएका पनि छन् । विनोदको अबको मिसन डोल्पालीलाई शिक्षा दिने मात्र हैन् स्थानीय स्रोत साधनबाट समृद्ध बनाउने छ । त्यही अनुरुप काम सुरु भइसकेको विनोद बताउँछन् ।
शिक्षा फाउन्डेसन, आस्क फाउन्डेसन, गोमा एयर र विदेशमा बस्ने नेपालीको सहयोगले डोल्पाली बच्चाहरुले शिक्षा पाउन महत्वपूर्ण भूमिका खेलेको विनोदको कथन छ । भन्छन्, ‘डोल्पाली बालबालिकाले उहाँहरु सबैलाई कहिल्लै बिर्सदैनन् ।’ यो आलेख तयार गरिरहँदा विनोद बेलायतको ग्लोबल टिचर फाउन्डेसनले आयोजना गर्ने वर्ल्ड बेस्ट टिचर अवार्डको टप ५० मा परेका छन् । उक्त अवार्ड जित्नेले १० लाख अमेरिकी डलर पुरस्कार पाउँछ । यो अवार्ड पाएमा के गर्लान् त ? तपाईँले ठीक सोच्नुभयो, भन्छन्, ‘मेहनतको कारण विश्वभरका टिचरहरुबाट टप फिफ्टी (५० औं) टिचरमा छानिएको छु । जिते भने डोल्पाली बच्चाहरुको लागि धेरै गर्छु ।’ –पहिलोपोष्टबाट

प्रकाशित मिति : १ पुष २०७४, शनिबार ०६:२०